Logo

१८ वर्षपछि पक्राउ परे युवती बेच्ने विजय



Spread the love

bijaya-lama

व्यापारको बहानामा युवतीलाई भारतमा पुर्याएर बिक्री गर्ने व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन् । अदालतले समेत दोषी ठहर गरेका नुवाकोट समुद्रदेवी–८ घर भएका ४४ वर्षीय विजय लामा भन्ने विजयकुमार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो । उनलाई अदालतले १० वर्ष जेल सजाए सुनाएको खबर आजको नयाँ पत्रिकामा  छापिएको छ ।

जिउ मास्ने–बेच्ने मुद्दामा काठमाडौँ जिल्ला अदालतले ९ पुस ०५८ मा उनलाई कैदको फैसला गरेको थियो । फरार रहेका तामाङलाई सिआइबीले मङ्गलवार सामाखुसीबाट पक्राउ गरेको हो ।

०५५ को कात्तिकमा तामाङलगायतका व्यक्तिले एक महिलालाई भारतको दिल्लीबाट कपडा ल्याई काठमाडौँको बालाजुमा बिक्री गर्ने भन्ने बहाना बनाई मुम्बई पुर्याएका थिए । युवतीलाई मुम्बईको वेश्यालयमा पुर्याई २० हजार मूल्यमा बिक्री गरेका थिए । पीडित युवती वेश्यालयबाट भागी नेपाल आएर प्रहरीमा उजुरी दिएकी थिइन् । तामाङ त्यसवेलादेखि नै फरार रहँदै आएका थिए । सिआइबीको अप्रेसन हन्टअन्तर्गत उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्