Logo

दोश्रो मालिका रनिङ शिल्ड सम्पन्न



Spread the love

४ जेठ, गुल्मी – गुल्मीको मालिका गाउँपालिकाको आयोजना तथा छापहिले माध्यमिक विद्यालयको सहआयोजनामा दोश्रो मालिका रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जेठ १ गते देखि ३ गते सम्म चलेको उक्त प्रतियोगितामा मालिका गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयका ४ सय भन्दा बढि खेलाडीले आफ्नो खेल प्रदर्शन गरेका थिए ।

दोश्रो मालिका रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल ,५०० मिटर दौड ,हाई जम्प ,लङ जम्प, रसाकसी , तथा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रम संयोजक विकास पौडेलले सल्लेरी खबरलाई बताए । उक्त प्रतियोगितामा देविस्थान मावि हाङ्दि प्रथम ,नेटा दर्निङ मावी नेटा द्वितिय तथा देविस्थान मावि घमिर तृतीय भएका छन ।

प्रथम ,द्वितिय र तृतीय हुनेले क्रमशः ४०,३०  र २० हजार प्राप्त गरेको संयोजक पौडेलले जानकारी दिएका छन । सबै भन्दा बढि चासो तथा मनोरञ्जनको रूपमा हेरिएको छात्रछात्रा भलिबल प्रतियोगिताको उपाधि हाङ्दीको देविस्थान माविले हात पारेको छ भने उसले मालिका रनिङ शिल्डको उपाधि समेत हात पारेको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा मन्तव्य राख्दै नेकपाका युवा नेता तथा समाजसेवी ओम कार्कीले खेलाडीहरु राष्ट्रका गहना भएको बताए भने वडा अध्यक्ष श्याम लाल गिरि र विद्यालयका प्रधानाध्यापक धनु गिरिले विकट ठाउँमा रेहेको विद्यालयलाई खेल आयोजना गर्न दिएकोमा गाउँपालिकाप्रति  कृतज्ञता ज्ञापपन गरेका थिए ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रित बहादुर थापाले खेल स्वास्थ र राष्ट्रको सवाल रहेको र खेलको लागि गाउँपालिकाको तर्फबाट गर्ने सहयोगमा कुनै कमि नराख्ने बताए । मालिका गाउँपालिकाले खेल र खेलाडी को विकासका लागि गत वर्षदेखि मालिका रनिङ शिल्डको आयोजनाको सुरुवात गरेको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्