Logo

धुर्मुस-सुन्तलीले बनाएको नमुना मुसहर बस्ती तयार



Spread the love

namuna-musahar-basti3

धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

तीन महिना लगाएर बनाइएको नमुना बस्ती महजोडीले नै मुसहरलाई हस्तान्तरण गर्दै छन् । त्यसै गरी, बस्तीमा निर्मित भ्युटावर सामाजिक अभियन्ता रामआशिष यादव र बस्तीमा निर्मित बालउद्यान तथा मुसहरका कुलदेवताको मन्दिर धुर्मुस-सुन्तलीका आमाबुबाले समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम तालिका धुर्मुस-सुन्तली फाउन्डेसनले बनाएको छ ।

बाह्रै महिना दुःखमा जीवन जिउन बाध्य मुसहर समुदाय बस्ती निर्माणले दङ्ग छन् । ‘खरले छाएको घर बर्खामा चुहिन्थ्यो । सानो खरको झुपडीमा खाना पकाउँदा चैत-वैशाखमा आगलागी हुने डर हुन्थ्यो । जाडोमा राम्रो ओड्ने ओच्छ्याउने नहुँदा घरभित्रै शीतलहर पस्थ्यो,’ बस्तीका ४५ वर्षीय सोनेलाल मुसहरले भन्नुभयो, ‘अब त हाम्रो सुन्दर पक्की घर बनेको छ । हाम्रो गाउँमा धुर्मुस-सुन्तली भगवान् भनेर आउनुभयो । पीडैपीडामा जीवन बिताएका हाम्रो जीवनमा खुसीका दिन आएको महसुस भयो ।’

रोग, भोक, अशिक्षाले थलापरेका मुसहर समुदायमा पराले झुपडी तीन महिनामै आकर्षक पक्की घर बनेपछि मुसहर समुदायमा खुसीयाली छाएको छ । पुस्तौंदेखि गरिबी र सामाजिक दुव्र्यवहारले मुसहर अस्तित्वहीन जीवन बाँच्दै आएका थिए । ‘हाम्रो पनि घर बन्छ । आँगनमा धारा बन्छ । छोराछोरी स्कुल जान्छन् भनेर सपनामा पनि सोचेका थिएनौं,’ एकीकृत नमुना मुसहर बस्तीका उपभोक्ता समिति अध्यक्ष बिल्टु सदाले भन्नुभयो, ‘आज हाम्रो घरघरमा बिजुली बत्ती पुग्यो । खानेपानी पुग्यो, पराले ओच्छ्यान खाटमा परिणत भयो । घर त झनै राम्रो भयो । अब हामी सुखमय जीवन बिताउँछौं ।’

मुसहर एक भएर श्रम गरी बस्ती बनाएका हुन् । बस्तीभित्र ५० आवासीय घर, बस्तीबाहिर तीनवटा अन्य जाति समुदायका घरसहित ५३ वटा घर, सामुदायिक भवन, बालउद्यान, मन्दिर, भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक र नालालगायत संरचना निर्माण गरिएको छ ।बस्तीको बिच भागमा निर्माण गरिएको ३५ फिट अग्लो भ्युटावर छ । जहाँबाट बस्तीसहितका बर्दिबास चोकवरिपरिका गाउँको मनोरम दृश्य नियाल्न सकिन्छ । भ्युटावरबाट वरिपरिका गाउँ हेर्दा आफूहरूको सुखका दिन सुरु भएको महसुस भइरहेको २७ वर्षीय सञ्जीव सदाले सुनाउनुभयो ।

‘हामीसँग हार्नलाई केही छैन तर जित्न पुरै संसार छ जस्तो लाग्छ’, भ्युटावरबाट बस्ती नियाल्दै गरेका बस्तीका एक्ला एसएलसी उत्तीर्ण मञ्जय सदाले भन्नुभयो, ‘हाम्रो गाउँ त फोटोमा देखेको अमेरिकाजस्तै भयो । राति बस्तीमा बलेको एकै प्रकारका बत्तीले बस्ती मात्रै उज्यालो देखिँदैन, त्यहाँ बस्ने बालबालिका र स्थानीयको भविष्य उज्यालिएको छ । हामी मुसहरको नवयुग सुरु भएको छ ।’रातो इँटा रङ्गको भित्तामा सेतो पेटी काटेर, नीलो रंगीन जस्ता लगाई सबै घर एकै आकार र एकै डिजाइनमा बनाइएको छ ।

अनुमानित लागत चार करोड ७८ लाख तय गरिए पनि बस्तीमा भ्युटावर, पक्की ढलान सडक र बस्तीबाहिर तीन घरको योजना थपिँदा अनुमानित रकमभन्दा बढी खर्च भएको धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताउनुभयो ।’बस्ती बनाउन कति खर्च लाग्यो भन्ने कुराको अन्तिम हिसाब गर्न हामी जुटेका छौँ । बस्ती हस्तान्तरण समारोहमा सार्वजनिक गर्छौँ’, फाउन्डेसन अध्यक्ष कट्टेलले भन्नुभयो।

निर्माण गरिएको बस्ती अवलोकन गर्न टाढा-टाढाबाट दिनहुँ हजारौँ मानिस आउने गरेका छन् । साँझपख त बस्ती अवलोकन गर्न आउनेको भीडले मेला लागेको अनुभूति गराउँछ । सुन्दर पर्यटकीय गन्तव्य बनेको छ एकीकृत नमुना मुसहर बस्ती । रंगरोगन, भ्युटावर र फिनिसिङको केही काम मात्र बाँकी छ । फाउन्डेसनले हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ ।

बस्ती निर्माण कार्यको पुस २५ गते हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) र जनकपुरको गंगासागर सरसफाइ तथा गङ्गा आरतीका अभियन्ता एवं पत्रकार रामआशिष यादवले शिलान्यास गर्नुभएको थियो । शिलान्यासकै दिन वैशाख १ मा बस्ती हस्तान्तरण गर्ने घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्