Logo

खेलकूद पुरस्कार राशिमा वृद्धि



Spread the love

५ जेठ, काठमाडाैँ – ‘समृद्धिका लागि खेलकूद’ नाराका साथ पोखरामा आयोजना हुने ‘टिभिएस अपाची चौथो पोखरा स्पोर्टस् अवार्ड’ का चार विधाको पुरस्कार राशिमा वृद्धि गरिएको छ । स्पोर्टस् अवार्ड आयोजक खेलकूद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा हिजो बसेको बैठकले पुरस्कार राशि वृद्धि गर्ने निर्णय गरेको हो ।

पोखरा स्पोर्टस् अवार्डअन्तर्गत वर्षको उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी र खेलकूद सङ्घसंस्था अवार्डको पुरस्कारको राशि वृद्धि गरिएको अध्यक्ष गिरीले जानकारी दिए । उनीहरुलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । अघिल्लो संस्करणमा उक्त पुरस्कारको राशि रु १५ हजार रहेको थियो । यसपटक एक/एक थान मोबाइलसमेत प्रदान गरिनेछ ।

त्यस्तै वर्ष उत्कृष्ट खेलकूद पत्रकारिता अवार्डको राशिमा रु पाँच हजार वृद्धि गरी रु २० हजार पुर्‍याइएको छ । स्पोर्टस् अवार्ड यही जेठ २४ गते पोखरा सभागृहमा प्रदान गरिनेछ । यसपटक लोकप्रिय खेलाडी अवार्ड विधासमेत थप गरिएको छ । सो विधाका लागि खेलाडी छनोट एसएमएसमार्फत गरिने मञ्चका महासचिव विजय नेपालले बताए । सबैभन्दा बढी भोट ल्याउने खेलाडीलाई रु २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्