Logo

इंग्ल्यान्ड ओडीआई सिरिज क्लिन स्विप गर्न सफल



Spread the love

६ जेठ, काठमाडौं । आईतबार राति भएको पाँचौ खेलमा ५४ रनले पाकिस्तानलाई पराजित गर्दै पाँच खेलको ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले ४-० ले जित दर्ता गर्दै सिरिज क्लिन स्विप गर्न सफल भएको छ ।

३ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा अल आउट हुँदै २ सय ९७ रनमा समेटियो । पाकिस्तानका लागि कप्तान सरफराज अहमिदले ९७ रनको योगदान गरे पनि टोली हारबाट बच्न सकेन। मिडिल अडरका बाबर आजमले ८३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ८० रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

इंग्ल्यान्डका लागि क्रिस वोक्सले १० ओभरमा २ मेडन सहित ५४ रन खर्चेर ५ विकेट लिए । आदिल राशिदले २ र डेविड विल्लीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा ३ सय ५१ रन बनाएको थियो। इंग्ल्यान्डका लागि कप्तान ओइन मोर्गनले ६४ बलको सामना गर्दै ७६ रनको उत्कृष्ट योगदान दिए । त्यस्तै, जो रुटले ७३ बलमा ८४ रन बनाए । इंग्ल्यान्डका लागि अन्य जेम्स भिन्स ३३, जोनी बेयरस्टो ३२, जस बटलर ३४, बेन स्टोक्स २१, क्रिस वोक्स १३ र डेविड विल्ली १४ रनमा आउट भए । टम कुरन १५ बलमा २९ रनमा अविजित रहे ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभरमा ८२ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै ईमाद वासिमले ३ विकेट तथा मोहम्मद हुसैन र हसन अलीले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्