Logo

चीनबाट आउँदैछन् यी निर्वाचन सामग्री



Spread the love

china help

चीन सरकारले स्थानीय निर्वाचनका लागि सहयोगस्वरूप दिन लागेका सामग्री बुधवार आउँदै छन् । पहिलो लटका बुधवार र दोस्रो लटका निर्वाचन सामग्री बिहीबार आउन लागेका हुन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिएको जानकारीअनुसार चीनबाट जेलपेन, स्केल, सिजर, क्यालकुटेलरलगायत ११ प्रकारका निर्वाचन सामग्री आउन लागेका हुन् । ‘चीनबाट ३० चैतमा पहिलो लट र ३१ चैतमा दोस्रो लटमा आउने जानकारी आएको छ,’ शर्माले भने ।

‘भारतबाट जानकारी आएन’
निर्वाचन आयोगले स्थानीय निर्वाचनको प्रयोजनार्थ केही सवारीसाधनसहित सामग्री उपलब्ध गराउन भारतलाई आग्रह गरेको थियो । आयोगले चीन र भारतसँग त्यस्तो आग्रह गरेको थियो । चीनले चैत मसान्तसम्म माग भएका सामग्री उपलब्ध गराउने जानकारी गराइसके पनि भारतले भने दिने वा नदिने केही जानकारी दिएको छैन ।

भारतसँग आयोगले डबल क्याब पिकअप गाडी ४५ वटा, स्कार्पियो सात, सेडन कार चार, मोटरसाइकल ३०, स्कुटर सात र मिनीबस एउटा उपलब्ध गराइदिन भनेको थियो । साथै, निर्वाचनका लागि नङमा लगाउने नसुक्ने मसी, मतदान केन्द्रमा प्रयोग गरिने छेकबार पनि उपलब्ध गराइदिन आग्रह गरेको थियो । दुवै देशले निर्वाचन सामग्री निःशुल्क दिने भने होइनन् । नेपाल सरकारलाई सम्बन्धित देशको सरकारले गर्ने सहयोग रकमबाटै कटौती हुने गरी ती सामग्री दिने बताइएको छ ।

७५ जिल्लामा मतदान केन्द्र तय
सप्तरी, सिरहा र महोत्तरी जिल्लाले मङ्गलवार मतदानस्थल र मतदान केन्द्र प्रतिवेदन निर्वाचन आयोगमा पठाएका छन् । तीन जिल्लाबाट प्रतिवेदन प्राप्त गरेसँगै ७५ जिल्लाकै जिल्ला निर्वाचन कार्यालयबाट मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन सिफारिस भएको हो । तर, आयोगले मतदानस्थल र मतदान केन्द्रको अन्तिम टुंगो भने लगाएको छैन । आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरू निर्वाचन अधिकृतलाई तालिम दिन काठमाडौँबाहिर भएकाले आयोगको बैठक बसेको छैन । ७५ जिल्लामा १० हजार तीन मतदानस्थल र २१ हजार मतदान केन्द्र हुने अनुमान गरिएको छ ।

५६ जिल्लाका मतपत्र छापिए
आयोगले अहिलेसम्म ५६ वटा जिल्लाका मतपत्र छापिसकेको छ । आयोगले दिएको जानकारीअनुसार धेरै दल दर्ता भएका र जनसङ्ख्या धेरै भएका जिल्लाको मतपत्र छाप्न बाँकी छ । साथै, ढुवानीका लागि टाढा भएका जिल्लालाई पहिलो प्राथमिकतामा राखेर छपाइ कार्य भइरहेको आयोग प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्