Logo

प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन



Spread the love

varu

अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको छ । प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही हुन सकेको छैन । नेपाल र भारतबीच प्रतिव्यक्ति सटही सुविधा दिने अधिकतम सीमाबारे कुरा नमिल्दा नेपालीस“ग भएको तोकिएका दरका सबै भारु सटही हुने वा नहुने अन्योल भएको छ ।

अर्थ मन्त्रालयले भारतले दिएको सीमाअनुसार नै नेपालीसँग रहेको पुराना भारु नोट सटहीको व्यवस्था गर्न राष्ट्र बैङ्कलाई मङ्गलवार पत्राचार गरेको छ । पहिलो चरणमा भारतको प्रस्तावअनुसार नै सटही सुविधा दिने र पछि थप भारु नोट सटहीका लागि सरकार र राष्ट्र बैङ्कबाट पहल गर्ने निर्णय भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

राष्ट्र बैङ्कले प्रतिव्यक्ति २५ हजार भारुसम्म ठुला नोट बोकेर आउजाउ गर्नसक्ने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएकाले सोही परिमाणमा नोट सटही सुविधा दिन माग गरेको थियो । तर, भारतले प्रतिव्यक्ति चार हजार पाँच सय भारुसम्म सटही सुविधा दिन तयार रहेको र १८ चैत (३१ मार्च) सम्मको समय दिएको थियो । सटही रकमको अधिकतम् सीमामा कुरा नमिलेपछि नेपाली पक्षले कुनै जवाफ दिएको छैन ।

साटिने सम्भावना न्यून
सरकारले सटही सुविधा स्वीकार गर्न निर्देशन दिए पनि अब नेपालीस“ग भएको नोट साटिने सम्भावना भने ज्यादै न्यून रहेको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् । ‘भारतीयको नियत नै नेपालीसँग भएको पैसा सटही गर्नुहुन्न भन्नेमा देखिन्छ,’ राष्ट्र बैङ्कका एक उच्च अघिकारीले भने, ‘अब उनीहरूले नोट साटिदिन्छन् भन्ने हामीलाई लाग्दैन ।’

लिखित प्रतिबद्धता दिन पहिले नै अस्वीकार
भारतीय पक्षले ४५ सय भारुसम्म सटही सुविधा दिनेबारेमा पनि लिखित प्रतिबद्धता दिन अस्वीकार गरेको राष्ट्र बैङ्क स्रोतले बताएको छ । ‘दुई साताअघि नेपाल आएको भारतीय टोलीले मौखिक आग्रहमा ४५ सयसम्म भारु साटही सुविधा दिन तयार भएको बताएको थियो,’ राष्ट्र बैङ्कका एक उच्च अधिकारीले भने, ‘तर, लिखित प्रतिबद्धता वा सम्झौता गर्न उनीहरूले त्यस बेला पनि अस्वीकार गरेका थिए ।’

२५ हजार भारुसम्म सटही गर्नुपर्ने कानुनी जटिलताको अघि ४५ सय रुपैयाँको प्रस्ताव गरेको भारतीय पक्षले लिखित सम्झौता नगर्ने स्पष्ट पारेको ती अधिकारीले बताए । उनले भने, ‘हामी लेखेर दिन सक्दैनौँ, तपाईँ ४५ सयसम्म साट्न राजी हो भने खबर गर्नुस् भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्