Logo

जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी रकम असुल



Spread the love

 

७ जेठ, काठमाडौं ।

ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ललितपुर महानगरपालिका–२२ फर्सिडोल–बुंगमती भई गुड्ने सवारीसाधनमा स्थानीय उमेश महर्जन र वीरेन्द्र महर्जनले वडा अध्यक्षकै संरक्षणमा एकलौटी ढंगले रकम असुल गरिरहेको ट्रिपर चालकहरुले बताएका छन् ।

सडक सुधार गर्ने बहानामा बुंगमती–फर्सिडोल सडक सरोकार समिति बनाई ठूलो ट्रिपर, सानो ट्रिपर र मिनी टाटा लाई आठ÷आठ सय रुपियाँ रकम उठाइरहेको छ । समिति बनाएर सडक सुधारका लागि बुंगमतीमा रकम उठाइएको विषयमा आफू जानकार रहेको वडा अध्यक्ष शाक्यले बताउनुभयो । ‘नगरको बजेट कम छ । ठूला सवारी गुडेपछि सडक छिनछिनमा मर्मत गरिरहनुपर्छ । त्यसका लागि व्यवसायी आफैँले पनि पहल गरी समिति बनाएर बाटो मर्मतकै लागि यस्तो गरिएको हो’, –उहाँले भन्नुभयो ।

‘अफिस नै राखेर रकम उठाएको छैन । यो गर्न मैले दिइएको छैन । हो, समिति छ तर बाटोमा बसेर पैसा उठाउँदैन’, उहाँले भन्नुभयो– ‘सडक सुधारका लागि व्यवसायी आफैँ महिना बितेपछि समितिलाई पैसा जम्मा गर्न आउँछन् ।’ वडा अध्यक्ष शाक्यले दिनुभएको अभिव्यक्तिले वडा अध्यक्षकै संलग्नता रहेको प्रस्ट हुन्छ । उहाँले भन्नुभयो–‘बुंगमतीको सडकमा पहिला ट्रिपर गुडेकै कारण सडक बिग्रेपछि ठूलै झगडा भयो । व्यवसायीकै अनुरोधमा समिति बनाएर रकम जम्मा हुने वातावरण बनेको हो ।’

प्रतिक्रिया दिनुहोस्