Logo

गाई बाँड्दै रेडक्रस



Spread the love

७ जेठ, चितवन। नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि वितरण गरिएको छ ।

शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार माडी नगरपालिकामा ६०, भरतपुर महानगरपालिकाको जगतपुरमा १५, मङ्गलपुरमा १५ र राप्तिको पिप्लेमा १० गाई वितरण गरिएको हो । वन्यजन्तुको आक्रमण र बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई गाई र मल बीउ पनि वितरण गरिएको हो ।

माडीका सबै क्षेत्रसँगै भरतपुरको जगतपुरमा रेडक्रस ग्राम र मङ्गलपुरको नारायणी तटीय क्षेत्रमा गाई वितरण गरिएको उहाँले बताउनुभयो । पिप्लेमा पनि बाढीबाट प्रभावित भएकालाई प्राथमिकता दिएर गाई वितरण गरिएको थियो । सभापति न्यौपानेका अनुसार एउटा गाई खरीदका लागि कृषकलाई रु ५५ हजार उपलब्ध गराइएको थियो ।

एक छाकमा कम्तिमा पाँच लिटर दूध दिने र दुई बेतभन्दा बढी नब्याएका गाई स्वयं कृषकलाई नै खरीद गर्न लगाइएको र उनीहरूले रू ५५ हजारदेखि रू एक लाख दुई हजारसम्मका गाई खरीद गरेका उहाँले बताउनुभयो । नपुग रकम कृषक आफँैले थप गरेर गाई किनेका हुन् ।

रेडक्रसको सम्बन्धित उपशाखा प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा कृषक छनोट गरिएको हो । छनोट गर्दा गरीब र काममा जाँगरिला कृषक छनोट गरिएको सोसाइटीले जनाएको छ । ती गाईको बीमासमेत गरिएको छ । यसैगरी पिप्ले बाहेकका गाई वितरण गरिएका तीन क्षेत्रका ६०० परिवारलाई सोसाइटीले मकैको बीउ र मल वितरण गरेको थियो ।

एक परिवारलाई पाँच किलोग्राम रामपुर कम्पोजिट मकैको बीउ र पाँच÷पाँच किलोग्राम डिएपी र युरिया मल वितरण गरिएको थियोे । कृषकलाई गाई, बीउ र मल दिनुअघि र पछि तालीमसमेत दिइएको थियो ।
––– रासस

प्रतिक्रिया दिनुहोस्