Logo

प्रदेशलाई दुर्व्यसनमुक्त बनाइने



Spread the love

८ जेठ, काठमाडाैँ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई दुर्व्यसनमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो जिल्ला प्रहरी कार्यालय र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी दुर्व्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले दुर्व्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले प्रदेश सरकारले दुव्र्यसनविरुद्धको अभियानका लागि सगरमाथा टिम क्लब गठन गरेर ‘हामी अगाडि बढौँ’ भन्ने नाराका साथ प्रदेशभरिका युवाको सक्रिय सहभागितामा दुर्व्यसनलाई न्यूनीकरण गर्नका लागि काम भइरहेको जानकारी गराए । स्थानीय, सरकार, युवा, विद्यार्थी, महिला, समाजसेवी र सञ्चारकर्मी सबै मिलेर दुव्र्यनसविरुद्धको अभियान न्यूनीकरण गर्नुपर्नेमा उनको जोड थियो ।

उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुसियतले सुनसरी आपराधिक गतिविधि र दुव्र्यसनमा देशभर दोस्रो जिल्लाका रुपमा रहेकाले यस्ता गतिविधिलाई निस्तेज पार्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । प्रदेशका प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रहरीले सञ्चालन गरेको दुर्व्यसनविरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालयले जिल्लामा दुर्व्यसनलाई न्यूनीकरण गर्न १६ वटा विद्यालयमा फ्रेन्स क्लब गठन गरेर अभियान सञ्चालन गरेको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्का, नगरपालिकाका प्रमुख राजन मेहता, प्रदेश १ का वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल, सशस्त्र प्रहरीका महानिरीक्षक मन्दिप श्रेष्ठ, जिल्ला समन्यव समितिका उपप्रमुख कृष्णकुमारी विक, पत्रकार महासङ्घका अध्यक्ष अमर खड्कालगायतकाले दुर्व्यसनका विरुद्धमा ऐक्यबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्