Logo

शिक्षाका १५६ कर्मचारी छड्केमा



Spread the love

१० जेठ, काठमाडाैँ – राष्ट्रिय सतर्कता केन्द्रले शिक्षाका चार कार्यालयमा हिजो अनुगमन गर्दा १५६ कर्मचारी छड्केमा परेका छन् ।

केन्द्रको अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र राष्ट्रिय परीक्षा बोर्डको अनुगमन गर्दा ती कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । कार्यालयको समय पालना नगर्ने तथा पोशाक नलगाउने कर्मचारी कारवाहीमा परेका हुन् । कारवाहीका लागि सिफारिस गरिएकामध्ये ९८ ले समयको पालना नगरेको तथा ५८ ले पोशाक नलगाएको पाइएको छ ।

छड्केमा परेका कर्मचारीलाई प्रचलित नियमअनुसार सम्बन्धित कार्यालयलाई कारवाहीका लागि सिफारिस गरिएको लामिछानेले बताए । पाठ्यक्रम विकास केन्द्रमा समयको पालना नगर्ने सात जना, पोशाक नलगाउने एक जना, मानवस्रोत केन्द्रका समय पालना नगर्ने ११ र पोशाक नलगाउने चार जना, परिषद्का समय पालना नगर्ने ४० र पोशाक नलगाउने ३७ जना तथा परीक्षा बोर्डका समय पालना नगर्ने ४० र पोशाक नलगाउने १६ जनालाई कारवाहीका लागि सिफारिस गरिएको छ ।

यसैगरी सतर्कता केन्द्रले अहिलेसम्म ४४ जिल्लाका ८३१ सरकारी कार्यालयमा अनुगमन गर्दा दुई हजार २५९ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्