Logo

बसाइँसराइका कारण रित्तिँदै गाउँ, विद्यालयमा विद्यार्थीको अभाव



Spread the love

१० जेठ, बागलुङ। बागलुङ, १० जेठ : केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा १२ सम्म पठनपाठन हुने समयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको हो ।

विद्यार्थी घट्ने समस्या काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको कर्लिम आधारभूत विद्यालयमा पनि छ । कर्लिम आधारभूत विद्यालयमा पाँच वर्षअघिसम्म झण्डै २५० विद्यार्थी थिए । यहाँ अहिले १०० विद्यार्थी पुर्याउन कठिन छ ।

उल्लेखित विद्यालय जिल्ला सदरमुकाममा रहेका विद्यालयबाहेक गाउँका सबै विद्यालयमा रहेको समस्याका प्रतिनिधि मात्रै हुन् । बसाइँसराइका कारण बागलुङका गाउँ रित्तिँदै गएकाले विद्यालयमा विद्यार्थी अभाव देखिन थालेको हो ।

यहाँका सामुदायिक विद्यालय मात्रै होइन, गाउँमा सञ्चालित निजी आवासीय विद्यालयमा समेत बसाइँसराइको प्रभाव देखिएको छ । जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरामा रहेको हिमालयन आवासीय माविका १० विद्यार्थीले यो वर्ष विद्यालय छाडे । कारण बसाइँसराइको नै हो ।

“यहाँबाट बाहिर जाने विद्यार्थी बसाइँ सरेका कारणले गएका छन्”, हिमालय आवासीय माविका प्रिन्सिपल रवि पौडेलले बताए “उनीहरुसँगै गएका अभिभावकलाई गन्ने हो भने यहीँ आसपासबाट १० परिवार बसाइँ सरेका छन् ।” बसाइँसराइका कारण राज्यले ठूलो लगानी गरेका सामुदायिक विद्यालय विद्यार्थीको अभावले समस्यामा परेका छन् ।

“‘विद्यालयबाट अरु कुनै विद्यालयमा विद्यार्थी गएकाले सङ्ख्या घटेको होइन”, कर्लिम आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक लीलाधर कँडेलले भने , “बसाइँ सर्ने अभिभावकसँगै बालबालिका हिँडे, विद्यालय रित्तियो ।” केही वर्ष पहिलेसम्म विद्यार्थीको चापले नयाँ विद्यालय खोल्ने दरबन्दी कायम गर्ने गरेका गाउँमा अहिले विद्यालय गाभ्ने चर्चा चल्न थालेको छ ।

बागलुङ नगरपालिकाले नयाँ शैक्षिकसत्र शुरु हुनुपूर्व गरेको विद्यालय स्थगन र घटुवाको निर्णय । विद्यार्थीको अभावका कारण बागलुङ नगरपालिकाभित्रका छ विद्यालय तत्कालका लागि स्थगन गरेर नजिकको विद्यालयमा गाभिएको छ भने आठ विद्यालयको स्तर घटाइएको छ ।

“बसाइँसराइ हाम्रो प्रमुख चुनौती बनेको छ”, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने , “गाउँ खाली भएका छन्, विद्यालय सुनसान हुँदै गए ।” राज्यले सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षालगायतका सेवा क्षेत्रमा लगानी गरेर गाउँगाउँमा सुविधा पु¥याएको भए पनि बसाइँ सर्नेको सङ्ख्या नघटेको पौडेलले बताए । बसाइँसराइ रोक्नु प्रमुख चुनौती भएको उनले सुनाए ।

हिउँदको समयमा बागलुङबाट दैनिक दर्जनौँ परिवार बसाइँ सरेर तराईका जिल्लामा जाने गरेका छन् । “हिउँद लागेपछि एउटै गाउँका दश परिवारको बसाइँसराइको सामान बोकेर चितवन पुगेको छु”, स्थानीयवासी सवारी चालक शिव पौडेलले भने , “घरघरमा पुगेका सडकले त बसाइँ सर्नेलाई सामान बोक्न सहज पो बनायो ।” बागलुङबाट बसाइँ सर्ने काठमाडौँ, पोखरालगायतका ठूला शहर र चितवन, नवलपरासी, रुपन्देही, बारालगायतका जिल्लामा जाने गरेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्