Logo

 गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार   



Spread the love

१० जेठ, काठमाडौं । धौलागिरि क्षेत्रकै ठूलो पुरस्कार राशिको डम्बर संस्कृति राष्ट्रिय पुरस्कार कास्कीका संस्कृतिविद् डा जगमान गुरुङलाई दिइने भएको छ । बागलुङस्थित राधाकृष्ण मन्दिर सेवा समितिका संस्थापक अध्यक्ष डम्बरबहादुर श्रेष्ठको स्मृतिमा स्थापित कोषबाट गुरुङलाई पुरस्कृत गर्न लागिएको हो ।

कोषमा श्रेष्ठका परिवारले रु सात लाख जम्मा गरेको छ । उक्त कोषमा वर्तमान र यस अघिका कार्यसमितिले जम्मा गरेको रु पाँच लाख गरी रु १२ लाखको कोष बनेको मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले बताउनुभयो । उक्त पुरस्कार समर्पणका लागि राजभण्डारीकै अध्यक्षतामा रहेको एक छनोट समितिले गुरुङको नाम सिफारिस गरेको हो । समितिमा हरिप्रसाद उपाध्याय, देवबहादुर श्रेष्ठ र प्रेम छोटा रहनुभएको छ ।

गुरुङले नेपाली कला र संस्कृतिको क्षेत्रमा विशेष योगदान दिनुभएको छ । कास्कीको याङ्जाकोटमा विसं २००३ मा जन्मनुभएका उहाँले भारतको कोलकताबाट ज्योतिष अध्ययन गरिसकेपछि गण्डकी प्रदेशको गुरुङमा प्रचलित चिनियाँ, तिब्बती ज्योतिष शास्त्र विषयमा विद्यावारिधि गर्नुभएको थियो ।

उहाँले २०२४ सालमा मुखिया पदमा जागिर खानुभएको थियो । सहप्राध्यापक र संस्कृति विज्ञको उपाधि पाउनुभएको छ । विभिन्न सङ्घ संस्थाबाट सयौं पुरस्कार पाउनुभएको छ । धेरै लेख रचना पनि लेख्नुभएका गुरुङलाई रु ७५ हजार राशिको उक्त पुरस्कार दिइने भएको हो । हरेक दुई दुई वर्षमा वितरण गर्ने गरी यो पुरस्कारको कार्यविधि बनाउने क्रममा रहेको राजभण्डारीले बताउनुभयो ।

–––     रासस

प्रतिक्रिया दिनुहोस्