Logo

त्रास सामान्यीकरण गर्दै प्रहरी टोली



Spread the love

–रवीन्द्र काफ्ले


१२ जेठ, फिदिम – नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा स्थानीयमा कायम त्रास हटाउन प्रहरी टोली क्रियाशील छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पाँचथर तथा मातहतका एकाइबाट खटिएको टोलीले स्थानीयलाई त्रासमुक्त हुन, पूर्ववत् काममा फर्कन सहयोग पुर्याइरहेको छ ।

मिक्लाजुङ–३ का वडाध्यक्ष हस्तराज फियाक प्रहरी टोलीले घटनास्थल आसपासमा बसोबास गर्ने तथा दैनिक स्थानीयसँग परामर्श गर्ने हुँदा स्थानीयको त्रास कम गर्न सघाउ पुगेको बताउँछन् । “नौ जनाको हत्याले सबै त्रसित भयौँ”, वडाध्यक्ष फियाकले भने, “भय कम गर्न प्रहरी टोलीले सघाइरहेको छ ।”

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार सामूहिक हत्या भएको स्थानमा अझै केही दिन प्रहरी टोली रहनेछ । “स्थानीयलाई सुरक्षित रहेको महसुस गराउन प्रहरी टोली घटनास्थल आसपासमा केही समय रहन्छ”, पौडेलले भने, “सम्भव भएसम्म घटनाबारे सोधपुछ, प्रमाण सङ्कलनको कार्यसमेत हुनेछ ।” गत सोमबार मिक्लाजुङ–३ आरुबोटेमा नौ जनाको सामूहिक हत्या भएपछि यहाँका स्थानीय त्रासमा छन् । स्थानीयमा रहेको त्रासलाई मनोवैज्ञानिकरुपमा सामान्यीकरण गर्न प्रहरी टोली खटिएको हो ।

मङ्गलबारदेखि हिजोसम्म यहाँ पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरसहितको टोली निरन्तर अनुसन्धान, स्थानीयसँग भेटघाट तथा सोधपुछमा खटिएको थियो । प्रहरी निरीक्षक पौडेलले कुँवरसहितको टोली फिदिम आउँदै गरेको बताए । घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीलेसमेत सूक्ष्म अनुसन्धान गरेको थियो । अनुसन्धानबाट यहाँका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको संलग्नता देखिएको छ । मानबहादुरको शव सामूहिक हत्या भएको भोलिपल्ट गत मङ्गलबार मिक्लाजुङ गाउँपालिका वडा नं ७ लुमाङ्दिनमा उनको घर नजिकै फेला परेको थियो ।

मानबहादुर मानसिकरुपमा असन्तुलित रहेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । उनले नियमितरुपमा मानसिक समस्याविरुद्धको औषधि सेवन गर्दै आएको उनको परिवारले प्रहरीलाई बयान दिएका छन् । श्रीमती मनकुमारीसँग सम्बन्ध राम्रो नरहेका माखिमले सम्बन्ध विच्छेद गर्न भने अस्वीकार गर्दै आएका थिए । विगत छ महीनादेखि उनीहरुको सम्बन्ध विच्छेदको मुद्दा प्रक्रिया पाँचथर जिल्ला अदालतमा अघि बढेको पाइएको प्रहरीको भनाइ छ । हालैमात्र मनकुमारीसँग सम्बन्ध विच्छेदका लागि तयार भएका माखिमले सम्बन्ध विच्छेदको बदलामा ससुराली र साढु दाइको परिवारको विभत्स हत्या गरेको प्रहरीको अनुमान छ । यससम्बन्धी विस्तृत अनुसन्धान प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्