Logo

मैना हत्या प्रकरण :आमा अझै असन्तुष्ट



Spread the love

बैशाख ६, काठमाडौं
मैना सुनुवार हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत काभ्रेले सोमबार नेपाली सेनाका तीनजना पूर्वअधिकृतलाई जन्मकैदको फैसला गर्यो । जिल्ला न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले महासेनानी बबी खत्री, सहसेनानी अमित पुन र सुनिल अधिकारीलाई जन्मकैदको फैसला सुनाएको थियो । सोही घटनामा संलग्न रहेका क्याप्टेन निरञ्जन बस्नेतलाई भने महलको १३(३) बमोजिम घटनामा आदेश पालना मात्रै गरेको भन्दै अदालतले सफाइ दियो । जिल्ला अदालतमा विचाराधीन मुद्दा आइतबार फैसला भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

१४ वर्षपछि छोरीको हत्यामा अदालतले दोषीलाई सजायको फैसला सुनाए पनि आमा देवी सुनुवार भने अझै असन्तुष्ट छिन् । जिल्ला अदालत परिसरमा मंगलबार उनी निन्याउरो मुद्रामा भेटिइन् । खरेलथोक गाविस–७ कटुञ्जेकी देवी सुनुवारमा न्यायको आशा अझै मरेको छैन । घटनामा प्रत्यक्ष संलग्न देखिएकाको सजाय कम हुँदा र एकजनाले सफाइ पाएपछि आफूलाई दुःख लागेको उनले बताइन् । उनले आफू पुनः उच्च अदालत जाने बताएकी छिन् ।

उच्च अदालत जान्छु
‘कानुनमा जन्मकैद २० वर्ष रहेको छ, तर मुलुकी ऐन अदालती बन्दोबस्तीको १८८ नम्बर लगाएर जम्मा पाँच वर्ष मात्र सजाय गरिएको रहेछ,’ देवी सुनुवारले भनिन्, ‘सैनिक अदालतले नै दोषी ठहराई कारबाही गरेको क्याप्टेन निरञ्जन बस्नेतलाई सफाइ दिएकोप्रति मेरो आपत्ति छ । यसका लागि उच्च अदालत जान्छु ।’ आफूले फैसलाको पूर्णपाठको माग गर्दै अदालतमा निवेदन दिएको जानकारी गराइन् । ‘प्राप्त हुनासाथ अरू प्रक्रियामा लाग्छु,’ उनले भनिन् । न्यायकै लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाबका कारण १४ वर्षपछि दोषीलाई जन्मकैदको फैसला भए पनि देवी सुनुवारको परिवारले अझै न्यायको अनुभूति गर्न सकिरहेको छैन ।

अझै न्यायको प्रत्याभूति पाएको छैन
मंगलबार अदालतमा फैसलाबारे बुझ्न आएकी देवी सुनुवारले घटनामा प्रत्यक्ष संलग्नलाई उन्मुक्ति दिएको भन्दै अझै आफ्नो परिवारले न्यायको प्रत्याभूति नपाएको भन्दै निराशा व्यक्त गरिन् । मैना सुनुवारको कंकाललाई काठमाडौंस्थित शिक्षण अस्पतालमा राखिएको छ । १४ वर्षपछि परिवारले केही दिनमै मैनाको धार्मिक परम्पराअनुसार दाससंस्कार गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्