Logo

  परम्परागत रुपमा बनाइएको घुमाउने घर लोप हुँदै   



Spread the love

१३ जेठ, बेझाड।  निस्दी गाउँपालिका–३ झिरुवासको खाँदर क्षेत्र कुनैबेला परम्परागत रुपमा बनाइएका ‘घुमाउने घर’ले भरिएको थियो ।      झन्डै एक दशकअघिसम्म गाउँभरि नै पुरानो घुमाउने आकारमा बनाइएका घर लहरै थिए । यसले गाउँ नै सुन्दर र रमाइलो देखिन्थ्यो । तर आधुनिकताको प्रवेशसंगै पछिल्लो समयमा घुमाउने घर क्रमशः लोप हुँदै गएको छ ।

पहिला अन्यत्र गएर गाउँमा कमाउने खासै हुँदैनथे, बाउ बाजेले बनाएका घुमाउने घरमै जीविका चलाउनुपर्ने बाध्यता थियो । गाउँका युवाहरु वैदेशिक रोजगारी र विभिन्न पेशा व्यवसायमा संलग्न हुन थालेपछि पुरानो घुमाउने घरको ठाउँमा सिमेन्ट र ढुङ्गाबाट नयाँ घर बनाउन थालिएको छ ।

स्थानीय बासिन्दाले घुमाउने घरको सट्टा सिमेन्ट जोडेर ढुङ्गाको गारो भएका घर धमाधम बनाइरहेका छन् । पुरानो घरमा जीविका चलाउन कठिन भएपछि उनीहरुले त्यसलाई हटाएर नयाँ घर निर्माण गर्न थालेका हुन् । पुरानो घरबाट जीविका चलाउन गाह्रो परेपछि ६६ वर्षीय चन्द्रबहादुर खन्गाहा पनि नयाँ घरमा बसोबास गर्दै आउनुभएको छ । उहाँले विगत पाँच वर्षयता घुमाउने घर भत्काएर नयाँ घरमा बसोबास गर्नुभएको छ ।

“घुमाउने घरभित्र एउटा मात्र कोठा, त्यही कोठामा खाना पकाउने, अन्नपात, लत्ताकपडा राख्ने, सुत्ने बस्ने गर्न समस्या प¥यो”, “मगर जातिको पहिचान बोकेको घर हटाउन मन नहुँदा नहुँदै पनि बाध्य भएर हटाउनुपरेको छ”, खन्गाहाले भन्नुभयो ।

“लामो समयसम्म घुमाउने घरमै जीवन बिताए, अहिले त्यही घर हटाएर नयाँ घरमा बसोबास गर्दा मनमा पुरानो घरले याद झल्काइरहेको छ”, उहाँले भन्नुभयो । ७६ वर्षीय वीरबहादुर ढेंगा भने अहिलेसम्म पुरानै घरमै बस्दै आएको छ । “घर बनाउन सक्नेले त नयाँ घर बनाए सुखसँग बसे, हामीलाई त घर बनाउन सक्ने अवस्था भएन, यही घरमा दुःखसुखसँग बसिरहेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँसहित छोराबुहारी नाति नातिना गरी पाँच जनाको परिवार छ । खाना पकाउनेदेखि लिएर सबै परिवार त्यही घरभित्र बस्न बाध्य छन् । धुवाँले घरका भित्ता रङ्गिएर पूरै कालो भएको छ, सहज वातावरणमा वस्न निकै गाह्रो छ तर अर्को नयाँ घर बनाउने उपाय नहुँदा यही घरको भरपर्नु परेको उहाँको गुनासो छ ।

 गाउँमा पुरानो घुमाउरो घर ६ वटा मात्र रहेका छन् । सबैले नयाँ घर बनाएपछि अहिले यी घर सबैको आकर्षण बनेको छ । योे घर भूकम्पका लागि अति सुरक्षित मानिन्छ । कोठा नहुँदा एउटै कोठामा खाना पकाउनदेखि लिएर बसोबास गर्न समस्या परेपछि अहिले नयाँ घर बनाउन थालिएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताउनुभयो ।

गर्मी समयमा चिसो, जाडो समयमा तातो हुने, अत्यन्त कम लागतमा घर निर्माण गर्न सकिने हुँदा यसको संरक्षणतर्फ लाग्ने उहाँले बताउनुभयो । हिजोआज पुराना घुमाउने घर लोपोन्मुख भएका कारण गाउँगाउँमा पुग्ने आन्तरिक पर्यटक, पत्रकारको क्यामेरा, मोबाइलमा कैद हुने गर्दछ भने विगतका केही वर्षयता पुस्तक, कापीका आवरण, विभिन्न सङ्घसंस्थाका क्यालेण्डरमा फोटो प्रकाशित हुन थालेका छन्।

पुरानो शैलीमा निर्मित घर क्रमिक रुपमा लोप हुँदै जाँदा जातीय र भौगोलिकताको पहिचान र मौलिकता गुमाउँदै गएको छ । मगर र कुमाल जातिको पहिचान झल्कने पुरानो कुडुले घर जिल्लाको पूर्वी क्षेत्रको खाँदर, मित्याल, मध्यक्षेत्रअन्तर्गत कसेनी, रुप्से, चिर्तुङधारा लगायतका क्षेत्रमा अहिले लोप हुँदै गएका छन् ।

जातीय, सांस्कृतिक पहिचान बोकेका परम्परागत शैलीमा निर्मित घरको संरक्षण गर्नसके गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि भई विकासको लहर अगाडि बढ्ने अनुमान गरिएको छ ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्