Logo

आमसञ्चार माध्यमलाई डिजिटल सेवामा लगिँदै



Spread the love

विराटनगर, ५ वैशाख

एउटै आमसञ्चार नीति हुनुपर्ने, स्थानीय तहमा सञ्चार क्षेत्रलाई विशेष सुविधा हुनुपर्ने, सञ्चार क्षेत्रलाई सेवामूलक सञ्चार क्षेत्रका रुपमा विकास गर्नुपर्ने, लगानीको संरक्षणका लागि विशेष व्यवस्था हुनुपर्ने, सञ्चार क्षेत्र मर्यादित, शिक्षामूलक हुनुपर्ने र राज्यलाई सहुलियत ढङ्गले विज्ञापनको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।
राष्ट्रिय आमसञ्चार नीति, २०७३ कार्यान्वयन गर्नमा हुुने कठिनाइ र सो नीतिलाई थप परिमार्जन गर्न सक्ने उद्देश्यका साथ सूचना तथा सञ्चार मन्त्रालयद्वारा ‘राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयनको सन्दर्भमा आमसञ्चारसम्बन्धी कानुनी अवधारणा र आधारभूत व्यवस्थाहरु’ विषयमा आज आयोजना गरिएको अन्तत्र्रिmयामा सो सुझाव दिइएको हो ।

उक्त नीतिमा प्रेस स्वतन्त्रता, आमसञ्चारको अधिकतम उपयोग, पत्रकारिताप्रतिको विश्वसनीयतामा वृद्धि, आमसञ्चार माध्यमलाई स्वनियम र स्वमूल्याङ्कनका लागि अभिप्रेरित गरी स्वच्छ, स्वस्थ र मर्यादित पत्रकारिताको विकास गर्ने एवम् पत्रकारिताका माध्यमबाट सामाजिक सद्भाव बढाउने, विज्ञापन नीतिलगायत विषय समेटिएको छ । साथै रेडियो, टेलिभिजन, छापा र अनलाइन माध्यमका साथै राष्ट्रहित प्रतिकूल सञ्चार सामग्रीको उत्पादन, बिक्रीवितरण र प्रवाहमा स्वदेशी वा विदेशी लगानी नियन्त्रण गर्न प्रभावकारी अनुगमन र कारबाहीकोे समेत सो नीतिमा व्यवस्था गरिएको छ ।

सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले राष्ट्रिय आमसञ्चार नीतिमा थुप्रै विषय समेटिएको र आमसञ्चार माध्यमलाई डिजिटल सेवामा लग्ने प्रक्रिया अगाडि बढिसकेको बताउँदै विज्ञापनका लागि छुट्टै ऐनको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले सञ्चारकर्मीलाई पत्रकारिता आचारसंहितालाई ध्यानमा राखेर समाचार सम्प्रेषण गर्न सल्लाह दिनुभयो । जिल्ला अदालत मोरङका न्यायाधीश विनोदकुमार पोखरेलले चौथो अङ्गका रुपमा रहेको सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आफ्नो ऐननियमलाई पालना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन सुझाव समितिका अध्यक्ष काशीराज दाहालले राष्ट्रिय आमसञ्चार नीतिमा सूचनाको हक, विचार र अभिव्यक्तिको पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितताका साथै पत्रकारिता क्षेत्रलाई उद्योगका रुपमा समेत मान्यता दिने अवधारणा राखिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइराला, प्रजिअ यज्ञराज कोइराला र क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले पत्रकारिता क्षेत्रको महत्व र भूमिकाको विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रममा मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाका ७० पत्रकारको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्