Logo

कप्तान पारस रहेको प्रदेश ३ को पहिलो जित



Spread the love

१३ जेठ, काठमाडौं । कप्तान पारस खड्का सम्मिलित प्रदेश ३ ले प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ ले पहिलो जित निकालेको हो ।

१ सय २३ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश ३ ले २१.५ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । उसका लागि ओपनर रित गौतमले सर्वाधिक ३७ रन र अर्का ओपनर रविन जोशीले ३५ रनको योगदान दिए । ओपनर रित र रविनले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । इशान पाण्डेले नटआउट २१ रन र अदिल खानले नटआउट १२ रन जोडे। कप्तान पारस १ रन र अभिषेक बस्नेतले २ रन मात्र जोड्न सके।

प्रदेश ५ का अनिल खरेल र सिद्धान्त शाहीले समान २ विकेट हात पारे । यसअघि प्रदेश ३ पहिलो खेलमा एपिएफसँग पराजित भएको थियो।

त्यस अघि मुलपानीमा टस हारेर पहिला ब्याटिङ गरेको प्रदेशले ४२ ओभरमा अलआउट हुँदा १२२ रन मात्र जोड्यो। उसका लागि सुभेन्दु पाण्डेले सबैभन्दा बढी २० रन जोडे।

बलिङमा प्रदेश ३ का कप्तान पारस खड्काले ४ विकेट लिए। उनले १० ओभरमा ३ मेडन रख्दा २४ रन दिए।

प्रतिक्रिया दिनुहोस्