Logo

गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने   



Spread the love

१३ जेठ, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य सम्पन्न हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै मन्त्री खतिवडाले राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आर्थिक वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्गको काम तीव्रगतिमा अगाडि बढेको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हँुदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताउनुभयो ।

उहाँले यस अवधिमा वस्तु व्यापार घाटा रु आठ खर्ब ८८ अर्ब रहेको जानकारी दिँदै मुलुकभर बैंक तथा वित्तीय संस्थाको कूल सङ्ख्या चार हजार ७०१ पुगेको बताउनुभयो । आव २०७५÷०७६ को फागुनसम्म कूल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई रु ६१ अर्ब पुगेको छ भने आयात २३ दशमलव आठ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ४९ अर्ब पुगेको मन्त्री खतिवडाको भनाइ थियो । उहाँले यस अवधिमा २१८ उद्योगमा रु ११ अर्व लगानी प्रतिबद्धता भई थप सात हजार ९५३ रोजगारी सिर्जना हुने अनुमानसमेत गर्नुभयो ।

उहाँले आर्थिक वर्ष ०७५÷०७६ फागुनसम्म कूल जनसङ्ख्याको ७७ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा विद्युत् सुविधा पुगेको र यसै अवधिमा एक हजार १४२ मेगावट विद्युत् उत्पादन भएको तथा १८ प्रतिशत जनसङ्ख्याले नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा उपभोग गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सन् २०१८ मा भारतीय पर्यटकबाहेक स्थलमार्गबाट ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन ।” मन्त्री खतिवडाले भूकम्पछि पुनःनिर्माणको काममा तीव्रता आएको बताउँदै यस अवधिमा छ लाख पाँच हजार निजी घरको निर्माण अघि बढेको जानकारी दिनुभयो । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आगामी १५ गते ४ः०० बजे बस्नेछ ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्