Logo

मोर्चा नआए पनि वैशाख ३१ मै चुनाव



Spread the love

बैशाख ७, काठमाडौ – संसद्का पाँच ठूला दलले वैशाख ३१ का लागि तय स्थानीय तहको चुनाव कुनै पनि बहानामा नसार्ने भन्दै मधेसी मोर्चा सहमतिमा नआए पनि चुनाव गर्ने सहमति गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, एमाले, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको बैठकले चुनावमा सहभागी गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग लचिलो भएर प्रस्तुत हुने तर सहमति नभए चुनाव नसार्ने निष्कर्ष निकालेका हुन् । ‘सकभर मोर्चासँग सहमतिका लागि पहल गर्ने तर सहमति हुन नसके वैशाख ३१ मा एकै चरणमा चुनाव गर्ने भन्ने चार दलको औपचारिक धारणा आएको छ’, बैठकमा सहभागी फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले अन्नपूर्णसँग भन्नुभयो, ‘तर फोरम लोकतान्त्रिकले भने राजनीतिक वातावरण नबनाई चुनाव गर्न नहुने आफ्नो धारणा राख्यो ।’

चुनावको मिति नजिकिँदै गर्दा मधेसी मोर्चाले चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरे पनि संसद्का चार ठूला दलले मोर्चा नआए पनि वैशाख ३१ मै चुनाव गर्ने प्रतिबद्धता गरेका हुन् । सरकार र निर्वाचन आयोगले पनि वैशाख ३१ का लागि घोषणा भएको चुनावको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । चुनावका विषयमा देखिएको अन्योलतालाई स्पष्ट पार्ने उद्देश्यले आयोजना गरिएको उक्त बैठकमा फारेम लोकतान्त्रिकबाहेक कांग्रेस, एमाले, माओवादी र राप्रपाले मोर्चाको अवरोधका बीच पनि वैशाख ३१ को चुनाव नरोक्ने औपचारिक धारणा राखेका हुन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा सहमतिमा आउँछ भने दुई चरणमा चुनाव गरौं नभएर वैशाख ३१ गते नै जसरी पनि चुनाव गरौं भन्ने धारणा राख्नुभएको थियो । प्रधानमन्त्री दाहालको उक्त धारणामा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि समर्थन गर्नुभएको थियो । देउवाले पनि बैठकमा वैशाख ३१ को चुनाव कुनै पनि हालतमा नरोकिने भन्दै मोर्चा सहमतिमा आउने हो भने दोस्रो चरणमा प्रदेश नम्बर २ र अरू कुनै प्रदेशमा चुनाव गराउन सकिने धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूले भने वैशाख ३१ मा एकै चरणमा चुनाव गर्नुपर्ने बताउनुभएको थियो । एमाले उपाध्यक्ष वामदेव गौतमले वैशाख ३१ गते नै सकभर एकै चरणमा चुनाव गर्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको थियो । यद्यपि, मोर्चा सहमतिमा आउने हो भने आफूहरू थप लचक हुन तयार रहेको पनि उहाँको भनाइ थियो ।

राप्रपाका उपाध्यक्ष दीपक बोहराले पनि वैशाख ३१ मै चुनाव हुनुपर्ने बताउनुभएको थियो । कांग्रेस, एमाले, माओवादी र राप्रपाको धारणमा फोरम लोकतान्त्रिकले भने केही असहमति राखेको थियो । फोरमले यसअघि संविधान घोषणा गर्दा जस्तै पेलेर चुनाव गराए फेरि देश द्वन्द्वमा जाने बताउँदै सकभर राजनीतिक वातावरण बनाएर मात्रै चुनावमा जानुपर्ने बताएको थियो ।

‘हामीले वर्तमान समस्या समाधान नगरी चुनावमा जाने हो भने झन् अर्को द्वन्द्वमा फस्न सक्ने भन्दै राजनीतिक वातावरण बनाउन चार दललाई आग्रह गरेको छौं’, फोरम महासचिवसमेत रहनुभएका चौधरीले भन्नुभयो, ‘हामीले संविधान जारी गर्दा जस्तै आधा नेपालमा दीपावली र आधा नेपालमा ब्ल्याक आउट हुने वातावरण नबनाउन भन्यौं ।’

प्रतिक्रिया दिनुहोस्