Logo

दसगजा मिचेर भारतलाई भन्सार बनाउन रोक



Spread the love

विराटनगर, वैशाख ७- नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर निर्माण गर्न थालिएको भारतीय भन्सार कार्यालयको भवन निर्माणमा रोक लगाइएको छ। सशस्त्र र नेपाल प्रहरीले भन्सार निर्माणको काम अघि बढ्न नदिएका हुन्। एकतले पक्की भवन निर्माण भए पनि कर्कट पाताको छानो लगाउनेलगायतका काममा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। यो खबर विराटनगरबाट किशोर बुढाथोकीले आजको अन्नपूर्णमा लेखेका छन्।
विराटनगर २१ स्थित विराटनगर भन्सार कार्यालयको पर्खालसँगै जोडेर दुई महिनादेखि भारतीय पक्षले जोगवनी भन्सार कार्यालयको भवन निर्माण थालेको थियो। भन्सार कार्यालयको काम कारबाही त्यही भवनबाट सञ्चालन गर्ने योजना अनुरूप नियमविपरीत भवन निर्माण भइरहेको थियो। दसगजा क्षेत्रभित्र भारतले एकपक्षीय रूपमा भन्सार कार्यालय बनाएपछि नेपाली पक्षले आपत्ति जनाउँदै आएको थियो।
भारतले तीन कोठे पक्की भवन निर्माण गरेर कर्कट पाता लगाउने तयारीसमेत गरेको थियो। सशस्त्र र नेपाल प्रहरीले दसगजा क्षेत्र मिचेर भवन निर्माण नगर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले अटेर गर्दै आएको थियो। ‘एक तले भवन निर्माण सम्पन्न गरेर कर्कटपाता लगाउने तयारी गरिए पनि त्यसपछिको काममा रोक लगाइएको हो’, एक प्रहरीले भने, ‘अहिले भवन निर्माणका सबै काम रोकिएको छ।’
नेपाली सुरक्षाकर्मीको अवरोध र विरोधका बाबजुद भवन निर्माण सकेर रातको समयमा कर्कटपाता लगाउने तयारी भारतीय भन्सारका अधिकारीले गरेका थिए। रातको समयमा कर्कटपाता लगाउने तयारी गरेको जानकारी पाएसँगै सशस्त्र प्रहरी बल बेस क्याम्प बुधनगरका प्रमुख प्रहरी निरीक्षक विदुर भट्टराई नेत्रृत्वको टोली पुगेर कर्कटपाता लगाउन दिएन। ‘कर्कटपाता लगाउने तयारी भइरहेको थियो’, एक सशस्त्र प्रहरीले भने, ‘तत्कालै टोली पुगेर काममा रोक लगाएको हो।’
काममा रोक लगाउन पुगेको सशस्त्र प्रहरीको टोली र भारतीय भन्सारका अधिकारीबीच कर्कटपाता लगाउने र लगाउन नदिने विषयलाई लिएर केहीबेर घम्साघम्सी र भनाभन समेत भएको थियो। दोहोरो झडप र तनावको स्थिति उत्पन्न भएपछि दसगजा क्षेत्रनजिक ठूलो संख्यामा नेपाली सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो। कर्कटपाता लगाउनेलगायतका काममा रोक लगाए पनि भारतीय पक्षले भवन भने भत्काएको छैन। भवनमा लगाउन भनेर ल्याइएको कर्कटपातासमेत त्यहाँबाट उठाइएको छैन।
सशस्त्र प्रहरीले कूटनीतिक मर्यादाविपरीत निर्माण गरिएको भवन तत्काल हटाउन भारतीय पक्षलाई चेतावनीसमेत दिएको थियो। प्रहरी निरीक्षक भट्टराईले भने, ‘भारतले कूटनीतिक मर्यादाविपरीत दसगजा क्षेत्र मिचेर भन्सार कार्यालयको भवन निर्माण गरिरहेको थियो। नियम मिचेर भवन बनाइएका कारण भारतीय अधिकारीसँगै समन्वय गरेर काममा रोक लगाइएको हो।’

प्रतिक्रिया दिनुहोस्