Logo

दलहरुलाई दलित उम्मेदवार पाउन सकस



Spread the love

वैशाख ७,धनगढी- हरेक वडामा एकजना दलित महिला सदस्य अनिवार्य चुन्नुपर्ने कानुनी प्रावधानले कैलालीका राजनीतिक दल दलित महिला उम्मेदवार नपाउँदा समस्यामा परेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत दलले अधिकांश वडामा दलित महिला उम्मेदवार पाउन सकेका छैनन् । दलित महिला उम्मेदावरको खोजीमा दलका नेता लागे पनि सबै वडामा ठूला दलले समेत उम्मेदवार पाउन नसकेको बताइएको छ ।

दललाई उम्मेदवार हुन चाहने दलित महिला पाउन मुस्किल भएको नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकास बमले बताउनुभयो । दलित महिला उम्मेदवारको अभावकै कारण एकजना दलित महिलालाई आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाउने तयारीस्वरुप तीन दलका नेता छुट्टाछुट्टै रुपमा ती महिलाको घरमा पुगेर आ–आफ्नो पक्षमा पार्ने प्रयाससमेत गर्ने गरेको देखिएको छ ।

एमाले नेत्री कलावती जोशीले वडामा दलित महिला उम्मेदवार पाउने समस्या ठूलो देखिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच ठूला दलका लागि मात्र जिल्लामा ६ सय ३० दलित महिला चाहिएको छ ।”

उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेलगायत योग्यता तोकिएकोमा २१ वर्ष उमेर पुगेर पनि कतिपय महिलाले अझै नागरिकता लिइनसकेको र अन्य कतिपयले मतदाता नामावलीमा नाम समावेश नगरिसकेका कारण पनि दलित महिला उम्मेदवार पाउन थप समस्या सिर्जना हुने देखिएको छ ।

छ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका गरी कैलालीमा रहेका १३ वटा स्थानीय तहमा जम्मा एकसय २६ वडा रहेका छन् । “पार्टी र चुनावका विषयमा नै जानकारी नभएका महिलालाई उम्मेदवार बनाउनुको अर्थ छैन”, काँग्रेसका बमले भन्नुभयो, “तर कानुनी व्यवस्थाले यस्ता महिलालाई नउठाई नहुने बाध्यता सिर्जना भएको छ ।”

नेकपा (माओवादी केन्द्र)का नेता हरि चौधरी (उत्सव) ले पनि दलित महिला उम्मेदवार पाउन निकै सकस भएको स्वीकार गर्नुभयो । अन्य पार्टीको तुलनामा माओवादी केन्द्रसँग उम्मेदवार हुने दलित महिला भएपनि धेरै वडामा उम्मेदवार नपाउने समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्