Logo

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिर



Spread the love

काठमाडौं, वैशाख ७- च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ । पराजयसँगै लिगमा बार्साको यात्रा पनि समाप्त भएको छ ।

क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको हो । पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा एक गोल पनि गर्न सकेन र यात्रा सकियो।

गोलरहित बराबरीपछि युभेन्टस समग्रमा ३–० को जितसहित अन्तिम चारमा पुगेको छ। अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग ४–० ले पराजित भएर पनि बार्सिलोनाले दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गरेको थियो ।

दोस्रो लेगमा ६–१ को जित निकालेर अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा पनि त्यस्तै पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको थियो । तर घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३५ पटक पोस्ट प्रहार गरे पनि गोल गर्न सकेन।

बार्साका हस्तीहरु लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले गोल गर्न सकेनन् । योसँगै बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ र यो वर्षको लागि च्याम्पिएन्स लिगबाट बाहिरिएको छ ।

गएराति नै भएको अर्को खेलमा फ्रेन्च लिग वान क्लब मोनाको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हराएर समग्रमा ६–३ को जितसहित मोनाकोले अन्तिम चारमा स्थान पक्का गरेको हो । मोनाको सन् २००४ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

प्रतिक्रिया दिनुहोस्