Logo

बार्सिलोनाबाट चेल्सी पुगेका पेड्रोको नाममा विश्व फुटबलको अद्भुत रेकर्ड



Spread the love

१६ जेठ, काठमाडाैँ – इंग्लिस क्लब चेल्सीका मिडफिल्डर पेड्रो रोड्रिग्वेज विश्व फुटबलमा नयाँ इतिहास रच्न सफल भएका छन् । हिजो राति युरोपा लिगको फाइनलमा आर्सनललाई पराजित गर्दै युरोपा लिगको उपाधि चुमेपछि विश्व फुटबलको अद्भुत इतिहासको पन्नामा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।

पेड्रोले हिजो भएको भएको खेलमा  युरोपा लिगको उपाधि चुम्दै फुटबलका प्रतिष्ठित ५ उपाधि जित्ने पहिलो र अहिले सम्मको एक्लो खेलाडीको रूपमा आफुलाई उभ्याएका छन् । स्पेनिस क्लब बार्सिलोनामा लामो समय बिताएर इंग्ल्याण्ड पुगेका पेड्रो फिफा विश्वकप, युरोकप , युरोपियन च्याम्पियन्स लिग, युरोपा लिग र प्रिमियर लिग जित्ने पहिलो खेलाडी बनेका हुन् ।

सन् २००९मा स्पेनिस क्लब बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि चुमेका पेड्रोले २०१० मा स्पेनको टोलीबाट फिफा विश्वकप जितेका थिए । २ वर्ष लगातार २ ठूला उपाधि चुमेका पेड्रोले २०१२ मा युरो कपको उपाधिको समेत स्वाद चाख्न पाए ।

२०१५ मा बार्सिलोना छोडेर चेल्सी पुगेका पेड्रोले २०१६ मा चेल्सीबाट विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित लिग प्रिमियर लिगको उपाधि उचाल्ने सौभाग्य पाए । र अहिले अर्थात २०१९ को सिजनमा युरोपा लिगको उपाधि चुम्दै पेड्रोले विश्व फुटबलमा अपत्यारिलो सफलताका साथै इतिहास कोर्न सफल भए ।

हिजो भएको आर्सनलसँगको फाइनल खेलमा पेड्रोले पनि १ गोलको योगदान गरेका थिए । पेड्रोले हालसम्म ३ पटक च्याम्पियन्स लिग, १ पटक युरोपा लिग , १ पटक प्रिमियर लिग, १ पटक फिफा विश्वकप र १ पटक युरोकप जितेका छन् । पेड्रोले ३ पटक च्याम्पियन्स लिग बार्सिलोनाबाट जितेका हुन् । उनले २००९, २०११ र २०१५ मा च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्