Logo

प्रदेश २ सरकारले आठै जिल्लामा दलित छात्रावास बनाउने



Spread the love

१८ जेठ, लहान ।
दलित समुदायका छोरीलाई उच्च शिक्षातर्फ आकर्षित गर्न प्रदेश–२ सरकारले प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा दलित छात्रावास निर्माण गर्न शुरु गरेको छ । ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ तथा छोरी जीवन बीमा कार्यक्रमजस्ता लोकप्रिय अभियान शुरु गरेको प्रदेश–२ सरकारले प्रदेशमा पर्ने सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दलित छात्रावास निर्माण गर्न शुरु गरेको हो ।

प्रदेश २ सरकारले सिरहास्थित सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पस, राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, सर्लाही क्याम्पस मलङ्गवा, बाराको कलैयाँस्थित राष्ट्रिय माध्यमिक विद्यालय सिस्वा मोहनपुर र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको जग्गामा दलित छात्रावास निर्माण गर्न लागेको प्रदेश–२ का सामाजिक विकास मन्त्रालयले भौतिक विकास कार्यालयको नाममा पठाएको पत्रमा जनाएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’सहितको राष्ट्रिय अवधारणालाई सफलीभूत पार्न र शिक्षा विकासलाई संवेदशील विषयका रुपमा लिँदै चालू आर्थिक वर्ष २०७५/७६ मा प्रदेश २ का आठवटै जिल्लामा दलित छात्रावास निर्माण शुरु गरिएको पत्रमा उल्लेख छ ।

यसैबीच प्रदेश–२ सरकारको लगानीमा सप्तरीको इटहरी विष्णुपुर गाउँपालिका–५ रञ्जितपुरमा निर्माण हुन लागेको दलित छात्रावासको आज सो वडाका वडाध्यक्ष बहादुर सदा र राष्ट्रिय विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले संयुक्तरुपमा शिलान्यास गरे ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसले उपलब्ध गराएको करीब दुई कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको दलित छात्रावास भवन एक वर्षभित्र सकिने निर्माण समितिका अध्यक्ष दिनेश शर्मा खत्वेले जानकारी दिए । प्रदेश–२ सरकारको रु ९९ लाख ५० हजारको लागतमा सो छात्राबास निर्माण भएपछि दलित छात्रा उच्च शिक्षातर्फ आकर्षित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्