Logo

सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै



Spread the love
pm-prachanda-and-sherbahadur-deuwa
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीच भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरूले बताएका छन् । सहमति कार्यान्वयन भएमा अहिलेको सत्तागठबन्धन पनि कायम रहने उनीहरूले बताएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

गत १९ साउनमा प्रचण्ड प्रधानमन्त्री चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय निर्वाचन प्रचण्डको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो । त्यतिखेर प्रचण्ड र देउवाले नौ–नौ महिना सरकारको नेतृत्व गर्ने समझदारी बनेको थियो ।

चैत मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्ने र वैशाख पहिलो साता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने समझदारी त्यतिवेला दुई दलबीच भएको थियो । तर, निर्वाचन ढिलो भएपछि प्रचण्ड नेतृत्वको सरकार एक महिना लम्बिएको छ । सरकारले ३१ वैशाख र ३१ जेठ गरी दुई चरणमा निर्वाचनको घोषणा गरेको छ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा लागि निर्वाचन हुँदैछ ।

दोस्रो चरणको निर्वाचनसम्म यही सरकार टिकाउने वा देउवालाई हस्तान्तरण गरेर चुनाव गराउने भन्ने दुवै पार्टीबीच ठोस समझदारी भने बनिसकेको छैन । प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन पनि गराउन कांग्रेस सहमत नभए जेठ पहिलो हप्ता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पनि प्रधानमन्त्री विगतको राजनीतिक सहमतिका आधारमै सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।

‘विगतमा भद्र सहमति तुहाउने र फोहोरी राजनीति हाबी गराउने काम हुँदै आएको थियो, माओवादी त्यस्तो पक्षमा छैन, भद्र सहमतिअनुसार नै सरकारको नेतृत्व हस्तान्तरण गर्न तयार छ,’ खनालले नयाँ पत्रिकासँग भने । कांग्रेससँगको सहमतिअनुसार जेठ पहिलो साता सरकारको नेतृत्व कांग्रेस सभापति देउवालाई हस्तान्तरण गर्ने उनले बताए ।

माओवादी निष्कर्ष : प्रधानमन्त्री बन्दाका दुई उद्देश्य पूरा
१९ साउनमा सरकारको नेतृत्व लिँदा माओवादी अध्यक्ष प्रचण्डले संविधानमा असहमति जनाउँदै आएका दललाई पनि सहमतिमा ल्याउने र स्थानीय तहको निर्वाचन गराउने दुई लक्ष्य रहेको बताएका थिए । यी दुवै उद्देश्य पूरा गराउन सरकार सफल भएको निष्कर्ष माओवादी केन्द्रको छ । संविधानप्रति असन्तुष्ट दलहरू पनि आफ्ना विमति राख्दै निर्वाचनमा जाने वातावरण बनेको, नयाँ संरचनाअनुसार स्थानीय तहको संख्या निर्धारण गरी चुनावमा जाने अवस्था आउनुसम्मले प्रधानमन्त्री प्रचण्ड आफ्ना उद्देश्यमा सफल बनेको माओवादी नेताहरुले बताएका छन् । त्यस्तै, लोडसेडिङ अन्त्य गर्ने, आर्थिक वृद्धिदर बढाउने र विकास निर्माणका कामलाई अगाडि बढाउनेलगायत विषयमा प्रधानमन्त्री सफल देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘आफ्नो योजनाअनुसार उहाँ सफल देखिनुभएको छ, अब विगतको सहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरण गर्न उहाँ आतुर हुनुहुन्छ,’ आचार्यले भने ।

सहमतिअनुसार सत्ता हस्तान्तरण हुन्छ: पुन
प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन गराउन समझदारी नबने जेठ पहिलो हप्ता कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘चैत मसान्तमा स्थानीय निर्वाचन गरेर वैशाख पहिलो साता सत्ता हस्तान्तरण गर्ने कांग्रेस–माओवादीबीचको सहमतिअनुसार अहिलेको सत्तागठबन्धन निर्माण भएको हो । प्राविधिक कारणले सहमतिको प्रयत्न गर्दागर्दै निर्वाचनको मिति लम्बिन पुग्यो,’ पुनले भने, ‘पछिल्लोपटक जेठ पहिलो हप्ता सत्ता हस्तान्तरण गर्ने कुरा भएको छ, दोस्रो चरणको निर्वाचन पनि अहिलेकै सरकारले गर्ने विषयमा कांग्रेससँग समझदारी बन्यो भने अलग कुरा हो, नत्र जेठ पहिलो साता नै समझदारीअनुसार सत्ता हस्तान्तरण हुन्छ ।’

जेठ पहिलो हप्ता देउवा प्रधानमन्त्री बन्नुहुन्छ : कार्की
यसअघि प्रचण्ड नेतृत्वमा सरकार बन्दा भएको भद्र सहमतिअनुसार नै अब ढिलोमा जेठको पहिलो सातासम्ममा माओवादीले सत्ता हस्तान्तरण गर्ने कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘यसअघि चैतमा स्थानीय तहको निर्वाचन गरेर सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । निर्वाचन समयमा नहुँदा यसमा ढिलाइ भएको हो,’ उनले भने, ‘अब प्रतिबद्धताअनुसार ३१ जेठको पहिलो चरणको नर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुहुन्छ र देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्