Logo

अनोखा बेल अर्थात् ‘ब्याटम्यान’



Spread the love

हलिउडमा निकै उत्कृष्ट कलाकारहरु छन् । ती उत्कृष्ट कलाकारहरुको बीचमा बसेर आफ्नो छुट्टै अस्तित्व बनाउनु निकै नै गाह्रो कुरा हो । दिनरातको सङ्घर्ष र फिल्मप्रतिको लगावको कारण छुट्टै अस्तित्व बनाउन सफल छन्- क्रिस्टियन बेल ।

क्रिस्टियन बेललाई विशेष गरी ‘ब्याटम्यान’ बाट चिनिने गरिन्छ । क्रिस्टोफर नोलानद्धारा निर्देशित ‘ब्याटम्यान बिगिन्स’, ‘द डार्क नाइट’ र ‘द डार्क नाइट राइजेज (ट्रिलोजी)’ मा उनी ब्याटम्यानको भूमिकामा छन् । उनको जन्म ३० जनवरी १९७४ मा बेलायतमा भएको हो । उनको बुवा कमर्सियल पाइलट थिए भने आमा सर्कसमा काम गर्थिन् । उनका हजुरबुवा स्ट्याण्डअप कमेडियन थिए । घरैबाट अभिनयको अवसर पाएका बेलले सन् १९८२ मा कमर्सियल प्रचारबाट एक्टिङ्गको सुरुवात गरे । तेह्र वर्षको उमेरदेखि नै फिल्म इण्डस्ट्रीमा लागेर हुने बिरुवाको चिल्लो पातको उदाहरण दिए । सन् १९८६ मा स्टिभिन स्पिलबर्गको वार मुभी ‘इम्पाएर अफ द सन’ मा खेलेर आफ्नो करियरको जोहो गरे । प्रस्तुत चलचित्रका लागि उनले चार हजार जनालाई उछिनेर फिल्मको लागि छानिएका थिए ।

सन् १९९७ मा ‘टाइटानिक’ चलचित्रमा ज्याकको भूमिकामा देखिन उनले अन्तर्वार्ता दिए तर उनी बेलायती भएको कारणले उक्त रोल गर्न दिइएन । फिल्म निर्देशक जेम्स क्यामरुनले फिल्मको लागि अमेरिकन नै चाहिएको भन्दै लियोनार्दो दि क्याप्रियोलाई कास्ट गरे ।

बेल, एक भर्सटाइल कलाकार हुन् । यो कुुरामा कुनै सन्देह नै छैन । सन् २००० मा मेरी हेरोनद्धारा निर्देशित चलचित्र ‘अमेरिकन साइको’ मा उनी दिनमा प्राफेसनल र रातमा किलरको रुपमा देखिएका छन् । प्रस्तुत चलचित्रमा उनको अभिनयको निकै प्रशंसा भयो । यसमा उनको अभिनय देखेर उनलाई धेरैले आफ्नो करियर धरापमा राखिस् भनेर गाली दिए । तर उनीहरूको गालीले बेललाई कुनै असर पार्न सकेन । बदलामा यसले उनको अभिनयलाई अझ सशक्त बनायो । ‘अमेरिकन साइको’मा उनको पागलपन देखेर उनले ‘जोकर’को रोल नि गर्न सक्छन् भन्ने अनुमान मज्जाले गर्न सकिन्छ । यसको लागि पछि निर्देशकले लियोनार्दोलाई लिन्छन् तर लियोनार्दो ‘द बिच’ फिल्मका लागि गएपछि पुनः बेलले नै उक्त फिल्म पाउँछन् ।

यसैगरी सन् २००४ मा साइकोलजिकल थ्रिलर फिल्म ‘द मेसिनिस्ट’ को लागि उनले ६३ पाउण्ड तौल घटाएका थिए । भनिन्छ, ‘द मेसिनिस्ट’का निर्देशक ब्राड एण्डरसन चलचित्र छायाङ्कनको पहिलो दिन बेललाई देखेर छक्क परेका थिए । एण्डरसनले उनलाई त्यति सारो घट्न पर्ने आवश्यक त थिएन भनेर भने । फिल्मको छायाङ्कनको दौरान उनलाई अनेक खालका समस्यासँग जुुध्न पर्यो । तौल घटाउन उनले दिनको एउटा स्याउ र टुनाको एउटा मात्र क्यान डाइटको रुपमा रुपमा खान्थे ।

सन् २००५ मा ‘ब्याटम्यान बिगिन्स’को लागि उनले मस्कुलर बडीको आवश्यक पर्ने हुँदा साठी पाउण्ड तौल बढाएका थिए । उनी खासमा ब्याटम्यानको भूमिकामा खासै खुसी थिएनन् । न त उनी सुपरहिरोको फ्यान नै थिए । फिल्मको सुटिङ्गको दौरान उनी स्पटमै निदाउँथे । उनलाई ब्याटम्यानको भूमिका निर्वाह गर्न निकै गाह्रो लागिरहेको हुन्छ । ब्याटम्यानको भूमिका गर्ने फिल्ममा उनी सातौं अभिनेता हुन् । ब्याटम्यानको बाक्लो कपडा लगाएर अभिनय गर्दा पसिनै-पसिना हुनुपर्दछ । किन्तु जो कोहीको बसको कुरा पक्कै थिएन- ब्याटम्यान ।

बेलले आफ्नो स्टन्ट आफैं गर्थे । उनले कहिल्यै स्टन्टम्यानको आवश्यक ठानेनन् । तर ‘ब्याटम्यान’ फिल्मको लागि भने उनलाई ब्याटम्यानको अटोमोबाइल चलाउन दिइएन । उनले कम उमेरमा ब्याटम्यानको भूमिका निर्वाह गर्ने भनेर पनि पहिचान बनाएका छन् । यति मात्र नभई उनी ब्याटम्यानको भूमिका निभाउने पहिलो नन-अमेरिकन पनि हुन् । ‘ब्याटम्यान’ले एक बिलियन कमाएको थियो । यसबाट उनले मात्रै ५० मिलियन डलर कमाए ।

सन् २००६ मा क्रिस्टियन बेलले फिल्म ‘प्रेस्टिज’मा जादुगरको रोल गरेका छन् भने सन् २०१० मा डेभिड ओ रुसेलको फिल्म ‘द फाइटर’ को लागि उनले तीस पाउण्ड तौल घटाएर एक ड्रग एडिक्ट बक्सिङ्ग प्रशिक्षकको रुपमा देखिएका छन् । सोही फिल्मबाट उनले बेस्ट सपोर्टिङ्ग एक्टरमा ओस्कार समेत जिते ।

तौल घटाउने-बढाउने उनको यात्रा अझै कहाँ सकियो र ! फेरी सन् २०१३ मा ‘अमेरिकन हसल’ फिल्मको लागि उनले ४३ पाउण्ड तौल बढाए । सोही फिल्मबाट ओस्कारमा बेस्ट एक्टरको रुपमा नोमिनेट पनि भए ।

फिल्म अनुसार आफ्नो शरीर ढाल्नमा बेल निकै माहिर मानिन्छन् । ४५ वर्षको उमेरमा ४३ वटा फिल्म खेलिसकेका उनले एउटा ओस्कार र दुईवटा गोल्डेन ग्लोब लगाएत अन्य थुप्रै अवार्ड जितिसकेका छन् ।

उनले फिल्ममात्र खेल्दैनन्, उनी एक कुशल घोडासवारी पनि हुन् । उनलाई उनका फ्यानहरुले ‘बेलहेड्स’ भनेर पनि चिन्छन् । त्यतिमात्र नभएर उनी एक ‘एभिड रिडर’ पनि हुन् । उनलाई सामुअल ज्याक्सनले ‘मोफो’ को उपमा समेत दिएका छन् । उनी अरुजस्तो अन्तर्वार्ता या कार्यक्रममा गईरहदैँनन् । अक्सर धेरैजसो समय घरमै बस्छन् । रोबर्ट डि निरो, मोर्गन फ्रिम्यानजस्ता कलाकार उनको अभिनयप्रति सधैं नतमस्तक छन् । भनिन्छ, उनी जस्तो खालको चरित्रलाई पनि न्याय गर्न सक्छन् ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्