Logo

डियर हजुर !



म मोटाएछु !
हिजोसम्म रुसको वैकाल तालभन्दा बढी गहिरा देखिने मेरा आँखा आज पाउरोटी जस्तै भुक्क फुलिसकेछन् । आज आँखाको  सिंङ्गो आकाश फेरिएको छ । फेरिएको छ -आँखाको कालो भाग वरपरको वातावरणको रङ्ग । होला केही हदसम्म  फेरिएको – हजुर बसेको मेरो मुटु पनि ! तर ऐनाले अनुहारको परिचय देखाउँछ; हृदय देखाउँदैन । कहिलेकाहीं म सोंच्छु- ” ऐना भइसकेपछि त सबै कुरा छर्लङ्ग देखाउनु नि ! ”  कमसेकम कसैको मनमा बाँस माग्नुपूर्व त्यहाँ ठाउँ खाली भए/ नभएको एकीन गर्न त सकिन्थ्यो ! फेरि सोंच्छु- आ ssss होस् ! मन-मुटु  सबै ऐनामै हेर्न मिल्ने भए त देखिँदा हुन् – तिम्रो यादमा ठड्याइएका मेरो मनभित्रका ताजमहलहरू; देखिँदा हुन् हाम्रो पिरतीका केही थान अपूर्ण डोबहरू जसरी देखिन्छन् वालुवामा पैतालाका छापहरू पर….पर सम्म ।

आज थाह पाएँ- मोटाउने अचुक औषधि त रुनु रहेछ । बौलाउनु रहेछ । रातभरी नसुत्नु रहेछ । आफूले आफैलाई कोपर्नु रहेछ । हजुरलाई सम्झिएर एक गुजिल्टो कपाल निकाल्नु रहेछ । अझ त्यो भन्दा ठूलो त  कसैलाई प्रेम गर्नु रहेछ । अप्राप्य प्रेम !

तर
ऐना
सिर्फ वदन देखाउँछ, मन देखाउँदैन ।

म बेलाबेला ऐनामा हेरेर मुस्कुराइहरेछु । हेर्छु – मुस्कुराउँछु । मुस्कुराउँछु- हेर्छु । म मोटाएको छु । आँखा मोटाएका छन् । आज थाह पाएँ- मोटाउने अचुक औषधि त रुनु रहेछ । बौलाउनु रहेछ । रातभरी नसुत्नु रहेछ । आफूले आफैलाई कोपर्नु रहेछ । हजुरलाई सम्झिएर एक गुजिल्टो कपाल निकाल्नु रहेछ । अझ त्यो भन्दा ठूलो त  कसैलाई प्रेम गर्नु रहेछ । अप्राप्य प्रेम !

हो म मोटाएछु ।
अब साथीहरूले -” हुरीले उडाउला, ख्याल गरेस् ” भन्नू पर्ने छैन,
गाडीमा- दुई जनाको सिटमा कोच्चिएर तीनजना बस्नुपर्ने छैन,
अँ, अनि हजुरले पनि मलाई -“ओइ ! सियो ” भनेर बोल्न पाउनुहुने छैन  ।
हुन त हजुरको स्वरबाट त्यो शब्द सुन्ने अधिकार मैले गुमाइसकेँ । न त हजुरले मलाई सोही नाम पुकारेर बोलाउने अधिकार आफूसँगै राख्न सक्नुभयो !

सियो चुपचाप बस्छ, बित्थामा घोच्छ- लुगालाई । र, दुखाइदिन्छ लुगाको कोमल मुटु ! हो म त्यही सियो हूँ । हजुर धागो बनेर आउनुभएथ्यो – सियोको जिन्दगीमा । च्यापेर आफूसँगै  हजुरलाई गरेको थिएँ प्रयत्न- प्रेमको विशाल तकिया सिलाउने । राखेर हृदयको आँगनमा – उठाएर आफ्नै शिरमा हजुरलाई, हिंडियो केही थान सुनौला डोबहरूमा- पिरतीको तकिया बुन्ने क्रममा ।

मलाई हेक्का थिएन – सियो र धागोको सम्बन्ध लुगा सिलाएर नसकिउन्जेल सम्मलाई मात्रै हो भनेर । पिरतीको तकिया बुनेर लगभग सकिन आँटेको के थियो- सकियो हाम्रो सम्बन्ध पनि । धागो सँगसँगै  ।

म सम्झन्छु- मनमोहन मेमोरियल कलेजमा भएको हाम्रो पहिलो देखादेख । उतिबेला हामी- हाम्रा उडिरहेका सपनालाई कैद गर्ने प्रयत्न गर्दै वायु सेवा निगमको जाँच दिन त्यहाँ पुगेका थियौं । संयोग- हजुरको नाम पनि मेरै नामको आधासँग मिल्दो रहेछ । एउटै क्लास रूम । एउटै बेन्च । सँगै  बसेर परीक्षा दिने भइयो । मन वायु सेवा निगमको हवाइजहाज भन्दा माथी अझ दोब्बर वेगले उड्न भ्याइसकेको हुँदो हो- त्यो बखतमा । ठ्याक्कै सम्झना छैन । तर धुमिल सम्झनाले त्यसै भन्छ ।

सियो चुपचाप बस्छ, बित्थामा घोच्छ- लुगालाई । र, दुखाइदिन्छ लुगाको कोमल मुटु ! हो म त्यही सियो हूँ । हजुर धागो बनेर आउनुभएथ्यो – सियोको जिन्दगीमा । च्यापेर आफूसँगै  हजुरलाई गरेको थिएँ प्रयत्न- प्रेमको विशाल तकिया सिलाउने । राखेर हृदयको आँगनमा – उठाएर आफ्नै शिरमा हजुरलाई, हिंडियो केही थान सुनौला डोबहरूमा- पिरतीको तकिया बुन्ने क्रममा ।

म उतिबेला झनै लिखुरे र लुरे हुँदो हूँ । हजुर खाइलाग्दो ज्यान भएकी ! पछि आएर मैले हजुरलाई ” डल्ली” भन्ने गर्थें  । त्यो बेला बोल्दा चैं हजुरकै नाम लिएको हुँदो हूँ । बगर छेउका ढुङ्गा त चुपचाप बस्दैनन् । हामी त अझ मान्छे । त्यो पनि परीक्षाहल भित्रका मान्छे । चिनजान गरे जाँचको बेला केही क्लू मिल्न सक्छ भन्ने आशा सगरमाथा भन्दा अग्लो हुनु स्वभाविक हो ।

सामान्य परिचय भनेथेँ मैले । मैले आफ्नो ठेगाना भनें हूँला । हजुरले आफ्नो । भौगोलिक हिसाबले मेची र महाकाली जस्तै हुनुपर्छ ठेगाना हाम्रो ।  केही समय अघि र पछि दुरी पनि उस्तै । तर मन ? मनलाई दुरीले प्रभाव नपार्दो रहेछ । टाढा भएर पनि नजिक हुन सक्ने । नजिक भएर पनि टाढा बन्न सक्ने ।

हुँदाहुँदै पनि अथाह रहर पाउँदैन
फूल सधैं फूल भइरहने अवसर पाउँदैन ।
चौतारीमा भारी बिसाई सकेर हिँडेको भरिया, चपाएर फ्याँकिएको चुइगम, धागोबाट विछोडिएको चङ्गा पुन: त्यही ठाउँलाई फर्केर पनि नहेर्दा रहेछन् । बरु बगेको पानी पुगेर आकाशसम्म झर्न सक्ला त्यही ठाउँमा पुन: तर नफर्किँदो रहेछ – बन्दुकबाट निस्केको गोली, आँखाबाट झरेको आँसु र जिन्दगीको पर्खाल भत्काएर जाने आँधी जस्तै अर्को एक जिन्दगी ! उल्टै आउँदा रहेछन् यादका छाल, सुनामी र भुइँचालाहरू !

नहल्लाएर पिइएको रक्सी, विना मुटु कँपाएर गरिएको प्रेम प्रस्ताव र एकपल्ट बेजोडसँगै नहल्लिएको जिन्दगी एकै भएनन् र ?

सामान्य चिनजान प्रेममा बद्लियो । गाढा प्रेममा । लिखित परीक्षाको नतिजापश्चात पुन: अन्तरवार्तामा हामी भेटियौं । यो भेट विगतभन्दा केही फरक, केही अलौकिक लागेथ्यो । मानिलिऊँ- वर्षौंदेखि एक्लै पर्खिएको बगरले खहरेको छाल भेटेजस्तै, रेगिस्तानमा प्रशान्त महासागार भेटेजस्तै मेरो मनले हजुरलाई भेटेथ्यो ।

हुँदाहुँदै पनि अथाह रहर पाउँदैन
फूल सधैं फूल भइरहने अवसर पाउँदैन ।

ओइलिनुपर्छ । झर्नुपर्छ । प्रेम भन्नू पनि फूल जस्तै त रहेछ आखिर । फुल्ने, फक्रने, आखिरिमा ओइलिएर झर्ने । फूलको आयु छोटो हुन्छ । काँडाको धेरै । मैले गुलाबको काँडा ओइलिएर झरेको देखेको छैन  । प्रेम फूल हो , याद काँडा हुनुपर्छ र हुनुपर्छ यो जिन्दगी स्वयम् गुलाब जस्तै ।

बाटो सबै हिंड्छ्न् । कोही ज्यादा हिंड्ला, कोही थोरै हिंड्ला- त्यो अलग कुरा हो । बाटोका सबै दृश्य सम्झिन लाएक हुँदैनन् । वा भनूँ कतिपय दृश्य चाहेर पनि सम्झनामा आउँदैनन् । उकालो पछिको मैदान, टन्टलापुर घामले बगाएका पसिना सुकाइदिने शितल हावा, थुक पनि सुक्न आँटेका बखत भेटिएको चिसो पानी, मान्छेले सायदै बिर्सिंदो हो ।

म हजुरको यात्रामा भेटिएको फगत नमीठो चिनी न हूँ । न चियासङ्ग घोलेर खान मिल्ने न त तरकारीमा राख्न मिल्ने । बस् ! यादको कफिमा घोलेर आफ्नै जिन्दगीलाई पीडा दिन काम आउँदो हूँ अचेल । जे  होस् म नरुचाइएको मीठो । मीठो मध्येको तीतो । तीतो मध्येको झनै तीतो । तर हजुर भने मेरो जिन्दगीको यौटा सुन्दर नुन हुनुहुन्छ । हजुर विना जिन्दगीको तरकारी विलुनो लाग्न थाल्छ । सायद यही कारण हुनुपर्छ मलाई अचेल चिया पनि नुन हालेर बनाएको – मन पर्न थालेको छ । औधी मन पर्न थालेको छ ।

सरकारी सेवामा आबद्ध कवि/लेखक दाहाल सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्