Logo

राजनीतिको ‘र’



किनकिन आजभोली राजनीति शब्दले नै मलाई डराइ दिन्छ । के लेखुँ ? कस्तो लेखुँ ? किन लेखुँ भईरहन्छ । आज यसै यसै लेख्न मन लाग्यो । जे पर्ला, पर्ला ।

नेपाली शब्दकोशमा राजनीति शब्दको शब्दार्थ यस्तो छः
१. राज्यको शासन व्यवस्था तथा प्रशासन चलाउने नीति
२. राज्यसत्ता वा शक्ति प्राप्त गर्न कुनै व्यक्ति वा समूहले सञ्चालन गर्ने गतिविधी
३. विविध किसिमको चलाखी, दाउपेच

यसर्थ, राजनीतिकर्मीहरुले राजनीति शब्दको तेस्रो परिभाषालाई बढी अँगालेको देखिन्छ । एकले अर्कोलाई भिडाएको छ । लडाएको छ । कतिलाई उछिन्दै, कतिलाई छिर्के हान्दै, कति जायज-नाजायज, कर्म-कुकर्म गर्दै राजनीति गर्नुपर्छ त्यो त राजनीतिका को खेलाडीलाई थाहा नहोला र ! राजनीतिको ‘र’ को शब्दार्थ पनि कम्ति रोचक छैन । ‘र’ को अर्थ हुन्छ- संयोजक अर्थात जोड्ने अक्षर । दोस्रोमा, शंका अर्थात् आशंका जनाउने अक्षर । राजनीतिको ‘र’ ले पनि शंका-आशंका धेरै जन्माउँछ । राजनीतिको ‘र’ ले जोड्छ थोरै, तोड्छ धेरै । विश्वास, भरोसा कम आशंका, धोकाधडी बढी हुन्छ ।

केही दिन यताको नेपालको राजनीतिले मन भारीभारी भएको छ । केही सोच्न सकिएको छैन । हिजैदेखि चिनेजानेका साथीहरुको अनाहकमा ज्यान गयो । न यो देशमा युद्ध छ, न क्रान्तिको उद्घोष नै भएको छ कतैबाट तर राजनीतिको नाममा, चर्काचर्का नाराको नाममा ज्यान गइरहेको छ । कति सस्तो बनाउँछ राजनीतिले मान्छेको जीवनलाई । ज्यानलाई । कसैले त्यो मृत शरीरलाई सहिद बनाउँछन्, कसैले अनागरिक । सम्झदा मात्र कति फोहर छ राजनीति ।

मेरो बुद्धिले भन्दैछ, राजनीतिको बारेमा अहिले केही नलेख् । फेरि हातले, मनले खसखस गरिहाल्छन् । भावनाको बेगलाई थाम्न नसकि केही न केही बोलीहाल्छु । लेखिहाल्छु । कतिबेला मनले दुस्साहस गर्छ, जे जे बोल्नुछ, जे जे गर्नुछ अहिल्यै गर । समयले न पर्खिन्छ, न समयलाई नै पर्खिन जरुरी हुन्छ । समय भएको बेला बोल्ने मान्छे भन्दा समय अगावै बोल्ने मान्छे मन पर्छ मलाई । भविष्यको बारेमा बोल्नेहरुले बढ्ता जोखिम मोलेका हुन्छन् जस्तो लाग्छ । ठिक समयमा बोल्नेहरु बुद्धिमान मान्छेहरु हुन अक्सर यो भीडभाडको दुनियाँमा तिनै मान्छे सफल देखिन्छन् ।

राजनीतिलाई मान्छेहरुले कडा नशा भन्छन् । एकपटक हात हाल्यो भने जीवन भरि छुट्न गाह्रो हुने । विचारको, सिद्धान्तको, पार्टीको, संगठनको, आन्दोलनको, देशको, जनताको, मुक्तिको, क्रान्तिको, परिवर्तनको, वर्गको, सत्ताको, संघर्षको नाममा जुनी बितेको, भत्केको पत्तै नहुने । फेरि राजनीति बिना पनि केही नहुने, केही नचल्ने । विश्व राजनीतिमा हुन्छ । हरेक देश राजनीतिमा हुन्छ । हरेक समाज राजनीतिले नै चल्छ । प्रत्येकको जीवन राजनीति भन्दा अछुतो, टाढा रहन सक्दैन । हामीले गर्ने हरकाममा राजनीति छ । माममा, दाममा राजनीति छ । राजनीतिमा शक्ति छ, सत्ता छ, सपना छ, संघर्ष छ ।

 

मेरो आजसम्मको बुझाईमा, राजनीतिले ठूला, दूरदूरका सपना देखाउँछ । जो कोही मान्छेलाई सपना मन पर्छ । जीवन त्यसै पनि कुरुप छ । दुखी छ । रंगहिन, स्वादहिन छ । यै अन्यौलपूर्ण, रुखो जीवनमा राजनीतिले नै नानाथरीका सपना देखाइदिन्छ । अमर हुने, अजर बन्ने । राजनीतिका सपना रंगीन हुन्छन्, रसिला हुन्छन् । तिनै सपनाको कल्पनाले नै जीवन हरियाली भइदिन्छ । सपना देखाउनुपूर्व राजनीतिले केही कुरा विगतबाट लिन्छ, केही सन्दर्भ वर्तमानबाट टिप्छ, भविष्यको केही विश्वासिला आँकलन पनि गरिदिन्छ । तब मात्र राजनीतिले हरेकलाई सुन्दर सपना देखाउँन थाल्छ । सुन्दर सपनाको बाहुपासमा मान्छे लठ्ठै पर्छ । सपेराले सर्प नचाए झैँ राजनीतिका धुर्त सपेराले पनि मान्छेलाई, जनतालाई, कार्यकर्तालाई सर्प झैँ नचाइरहन्छन् । हामी राजनीति गर्न सिपालु नेताको मोहनीमा पर्छौँ ।

राजनीतिको सचेतताबाट देखिने सपनाले मान्छेलाई निकै उत्साहित, रोमाञ्चक, जिज्ञासु र हिम्मतिलो बनाइदिन्छ । मार्क्सले देखाएको वर्गसंघर्ष हुँदै साम्यवाद सम्म पुग्ने सपनाले आजसम्म धेरैलाई निदहराम गराइदिएको छ । पुँजीवादको कुटिल चालले पनि मान्छेलाई उस्तै रणभुल्लमा पारेको छ । समाजवादको सपनाले मान्छेलाई उस्तै उत्साहित बनाएको छ भने सामन्तवादको धङधङीले पनि अझै छोडेको छैन । हिजोको सम्झना, भोलीको सपना र आजको तिर्सनाले राजनीति चलिरहेछ । न मान्छेले सपना पछ्याउन छोड्ने छ, न राजनीतिले सपना देखाउन । हामी जो छौँ, जहाँ छौँ राजनीतिकै सपना वरिपरि छौँ । लाग्छ, राजनीति एउटा यस्तो शब्द हो, जसको उच्चारणले हरेक थोकको सम्झना दिलाउँछ, कल्पना गराउँछ, भावनामा बगाउँछ र फेरि संभावना पनि देखाउँछ ।

राजनीतिको ‘र’ शिर्षकमा यो आलेख लेख्नुपूर्व मैले दार्जिलिङका लेखक छुदेन काविमोको उपन्यास ‘फातसुङ’ पढेँ । त्यो पढिरहँदा अनायसै यो शिर्षकमा केही लेख्नुपर्छ भन्ने लाग्यो । अक्सर स्तम्भ लेखनमा लेख्ने विषय प्रसंग यसरी नै अचानक फूर्छन । अनि त एकैछिनमा सोच्यो, धारणा बनाई नसक्दै लेखि भ्यायो । स्तम्भ लेख्नुको मज्जा यसमै छ । तात्तै लेख्यो, तात्तै पढ्यो । प्रतिक्रिया पनि उत्तिखेरै पायो । खलास । फातसुङको बाहिरी गातामा लेखिएको छ,”खासमा फातसुङ धरतीको कथा हो । अर्थात् दार्जिलिङको कथा । यो दार्जिलिङका निम्ती लड्ने दर्जनौँ युवाको कथा हो, जसका सपना हराएका छन् । यो ती सुस्केराहरुको कथा हो, जसले आफ्ना उमेर गुमाएका छन् । यो एउटा सहिद सपना पनि हो, जसका निम्ति हजार जीवन चढाइएको छ ।”

यो पनि पढ्नुहोस्ः

कवितामा एकदिन

पुस्तक पढ्दा पढ्दै बिचबिचमा यस्ता क्षण आउँछन् जहाँ टक्क अडिन्छ मान्छे र सोच्न थाल्छ- आफ्नै देशको राजनीति । जसले सधैँ सपना देखाउँछ र बदलामा सहिद माग्छ । जब सहिदको पूर्ती हुन्छ अनि राजनीतिले छलको बाटो समात्छ र बिचबाटोमै अलपत्र पर्छन सहिद सपना । राजनीतिले गर्दा मान्छे कति एकोहोरो हुन्छ, कति गुमाउँछ, कति दुखकष्ट भोग्न तयार हुन्छ तर राजनीतिको बिडो समाएका टाउकेहरुले कसरी सजिलै अरुको जीवनमा खेलबाड गरिदिन्छन् । तिनै खेलबाडका कथा भोग्नेलाई, देख्नेलाई, सुन्नेसबैलाई कहालीलाग्दा हुन्छन् । नेपालको पछिल्लो क्रान्ति जुन अपुरो भयो, अधुरो रह्यो त्यसको बारेमा पनि यस्तै सरल भाषामा लेख्ने कसैले हिम्मत गरोस ।

यो पढ्दैगर्दा मैले सहनै गाह्रो हुने सबभन्दा त्यै क्षण सम्झिएँ, जुन मुक्तिको, अधुरो क्रान्तिको पूर्णताको लागि लड्ने भनेका साथीहरु काठमाडौँको खाल्डोमा बस सँगै पड्किए । त्यो छिया छिया भएको उनीहरुको देह सँगै छली राजनीतिले गर्दा करोडौँ युवा सपना पनि यसरी नै छिया छिया हुन्छन् भन्ने नमिठो याद बल्झिरह्यो । पुस्तकको अन्तिम तिर, दार्जिलिङ्गे राजनीतिको, फातसुङको पूरै निष्कर्ष हो झैँ लाग्ने एउटा प्रसंग छ– मङ्गलबार साँझसम्म माटोको नारा लाएर घर जलाउन उक्साउनेहरु बुधबार बिहान कम्युनिस्टहरुसँग अँगालो हालेर सिद्धान्तका गफ हाँकिरहेका हुन्छन् । बिहीबार के सुर चढ्छ कुन्नि, देश निर्माणको भाषण छाँट्दै आरएसएसको शाखामा डन्ठा घुमाउन पुग्छन् । शुक्रबार लगत्तै एक किलो आँटा उसिनछन् र धर्मनिरपेक्षताको कुरा गर्दै डम्बरचोकमा काङ्ग्रेसको पोष्टर टाँस्छन् । त्यहीँबाट अलिहति खर्च जुटाउँछन् र शनिबार हाट भरेर घर फर्किन्छन् । यस्ता नेताहरुबाट हामीले के आशा राख्ने हँ ?

राजनीतिमा लाग्ने चर्काचर्का नाराले सबभन्दा तिनै मान्छे भावुक हुन्छन् जो सरल छन् । सिधा छन् । इमानदार छन् । र छन् अन्यायमा, अभावमा । राजनीतिको जाली चक्रले हरेक पटक उनैलाई घुनसरी पिस्छ र उनका जीवनलाई, सपनालाई हावामा उडाइदिन्छ । हरेक पटकको राजनीतिले त्यै चक्र दोह्याइरहन्छ तर मान्छेहरु पनि पछाडि लागिरहन्छन् त्यै राजनीतिको, किन ? जवाफ उही छ, किन कि राजनीतिले ठूला ठूला सपना देख्न सिकाउँछ । महान भनिएका कर्ममा पाइला हाल्न सिकाउँछ । मान्छे भन्ने जन्तु नै यस्तो छ, जो सपनालाई जीवन बनाउँछ । कथालाई कर्म गराउँछ ।

आजभोली, गाउँशहरका जनप्रतिनिधि हेर्छु अर्कै अर्कै हुन्छ मनमा । यिनै हुन क्रान्ति गर्न हिड्ने ? जस्तो लाग्छ । यिनै हुन जनताको सेवा गर्ने जनप्रतिनिधि ? जस्तो लाग्छ । यिनीहरुको रवाफ उस्तै छ, जो फेर्न, बदल्न यिनीहरु हिडेका हुन् । यिनीहरुको सत्ताले आज पनि त्यही गरेको छ, जो फेर्न, बदल्न हजारौँको बलि चढेको छ । यिनीहरुको सवारी उस्तै छोटेराजाहरुको जस्तो छ, जस्तो हिजो यिनीहरुले गोलीले, खुकुरीले उडाएर आए । आज जनता कहाँ छ ? गरिब, निमुखा, असाह्य कहाँ छ ? उस्तै, रम्कीदम्की छ । उस्तै चालचलन छ । भ्रष्ट्रहरुको गोजीमा गजक्क भएर बसेका यिनीहरुबाट के हुने होला ? भएको त्यो परिवर्तनले जनतालाई के दिने होला ? आजको यिनी जनप्रतिनिधिले आफ्नो स्तुतीगान बाहेक अरु सुन्नै चाहन्नन् । प्रसंसा गर्ने मान्छे बाहेक अरुलाई मान्छेनै ठान्दैनन् । सबथोकमा जान्ने भई हिड्नु परेको छ । सबथोकमा आफै हुँ भन्नु परेको छ । जनप्रतिनिधि केवल जनप्रतिनिधि जस्ता लाग्दैनन्, छोटे साहु जस्ता, ठेकेदार जस्ता, दादाडन जस्ता, चतुरे, चंखे जस्ता पो देखिन्छन् । अकबर र बिरवलका किस्सा भन्दा घिनलाग्दा किस्सा सुनिन्छन् यिनीहरुबारे ।

हाम्रो राजनीतिले सधै यस्तै पात्रहरुको, प्रवृत्तिहरुको बढावा दिइरहन्छ् । पटक पटक भएका जनक्रान्तिले सधैँ यसरी नै हामीलाई जिल खुवाउँछ । जति पटक शासन सत्ता फेरियो, जतिपटक शासक फेरिए, ति सबैले जो जोगी आए पनि कानै चिरेका भने जस्तै गराए । सधैँ सधैँ के हाम्रो राजनीतिको र ले यस्तै खराब अनुभव मात्रै दिने हो त ? यो प्रश्न मनको भित्तामा, दिमागको कित्तामा, हातको बित्तामा, समयको फित्तामा मडारिरहन्छ ।

०००

०००

'यो देश र म' र 'सल्यानः इतिहास र सपना' जस्ता कृतिका रचनाकार कवि/लेखक सिंह सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्