Logo

श्रीजु सरलका तीन कविता



वि.सं. २०५१ साल भदौ २७ गते पिता अर्जुन कुमार चुडाल र माता ज्ञानु बुढाथोकीको पहिलो सन्तानको रुपमा काठमाडौँमा जन्मिएकी श्रीजु सरल हाल ललितपुरको पाटन बहुमुखी क्याम्पसमा अध्यनरत छिन् । साहित्य पठन र लेखनमा आफ्नो विशेष अभिरुची राख्दै मूलतः कथा, कविता र गजल सँगसँगै अनुवादमा पनि कलम चलाउँदै आइरहेकी सरलसँग हामीले समकालीन साहित्य वृत्तको बारेमा कुराकानी गरेका छौँ ।

प्रस्तुत छ श्रीजु सरलसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको समकालीन साहित्यिक चर्चा:

राजु- तपाईका कविताहरुमा परिवर्तित देश, विकृत राजनीति, पितृसत्ता प्रति भर्त्सना साथै नैतिक मुल्यको स्खलन भेटिन्छ । सम्रगमा तपाईं वर्तमान नेपाली समाज लेखिरहनु भएको छ । कत्तिको चुनौतीपूर्ण लाग्छ ? सहज पनि छ र ? जीवन संघर्षको अर्को पर्यायवाची शब्द कविता हो भन्ने गर्दछन् कविहरु ! तपाईं के भन्नुहुन्छ ? तपाईंको लागि कविता के हो ? कवितालाई कसरी अर्थ्याउनु हुन्छ ?

सरल- मेरो लागि कविता एउटा त्यस्तो आवाज हो जसलाई दुःखीले पढ्दा खुशीको बाटो पहिल्याउन सकोस्, शोषितले पढ्दा विद्रोह गर्न सकोस् र सपना देख्नेले पढ्दा निद्राबाट ब्युँझिन सकोस् । मलाई कविता आँशुको पोखरी वा फगत दु:खको वर्णन जस्तो भएको रुच्दैन । केही वर्ष अघिसम्म मात्र पनि मलाई जुन लेख्यो, जुन पढ्यो त्यही कविता राम्रो लाग्थ्यो । आजभोलि, आफ्नो होस् या अरुको, एकदुई मात्र मनपर्छन् । जति स्वयममा चेतना भरिँदै जान्छ, उति कविताकर्म चुनौतीपूर्ण लाग्दै जाँदो रहेछ ।

राजु- एकातर्फ प्रगतिशील लेखन, मौलिक लेखनको चर्चा चलिरहेको छ । अर्कोतिर पुराना स्रष्टाहरुको बिम्ब, प्रसङ्ग एवं कथानकहरुलाई नयाँ सर्जकहरु बिना सन्दर्भ सामग्री, बिना स्रोत निर्धक्क आफ्नो भनिरहेका छन् । यस प्रकारको साहित्यिक चोरी रोक्न सकिएला त ? यदि रोकिएन भने नेपाली साहित्यमा यसको प्रभाव कत्तिको देख्नुहुन्छ ?

सरल- कविता त होइन, कथा भने मेरो पनि एकजनासँग जुध्न पुग्यो । मेरो उक्त कथा अप्रकाशित नै छ तर वहाँको कृति प्रकाशन भइसकेको छ । यस विषयमा मैले वहाँसँग कुरा पनि गरेँ । जसलाई वहाँले स्वभाविक रुपमा संयोग मानिदिनुभयो । तर, त्यही कथा यदि मैले प्रकाशित गरेँ भने मलाई चोरीको आरोप पक्का लाग्नेछ । किनभने, यहाँ चोर्नेहरु पनि छन् । चोर्नु अपराध त हो नै, यो आफैमा लज्जास्पद कुरो पनि हो । यसलाई रोक्न आवश्यक र सँगसँगै चुनौतीपूर्ण पनि देख्छु । चोरी केलाई, कुन आधारमा भन्ने ? भन्ने प्रश्न पनि आउँछ, आउन जरुरी पनि छ । र, यदि हामीले धैर्य गर्ने हो भने मौलिक कविता/साहित्य युगयुगसम्म पनि मौलाइरहेको पाउनेछौँ जस्तो मलाई लाग्छ ।

राजु- एक पक्ष भन्छन,”नेपाली शब्दकोष पातलो छ ।” अर्को पक्ष भन्छन्,”नेपाली साहित्य अशुद्ध छ, भाषाको परिष्कार आवश्यक छ ।” तपाईं के भन्नुहुन्छ ? नेपाली साहित्यको खोट औँलाउनै पर्दा तपाईं आफूलाई कुन पक्षको पक्षदार भन्न रुचाउनुहुन्छ ?

सरल- यदाकदा, कवितामा त होइन । गजल लेख्ने क्रममा नेपाली शब्दकोषको पातलोपनको आभास मलाई पनि नभएको होइन । तर, शब्दकोषमा उपलब्ध भइरहेकै शब्दहरुको पनि सही र शुद्ध प्रयोग हुन नसकिरहेको उदाहरण पनि धेरै मिहेनत गरेर खोजिरहनु पर्दैन । मेरै कलम पनि यो गल्तीबाट बच्ने प्रयास गरिरहेकै हुन्छ । तसर्थ, म दुवै पक्षलाई आ-आफ्नो ठाउँमा सत्य बोलिरहेको पाउँछु ।

०००

प्रस्तुत छ, श्रीजु सरलका तीन कविताः

पहिलो कविता

मलाई कवि नभन 

अहँ

मलाई कवि नभन

कविता प्रेमी मनहरु हो !

 

हो

जाँड खानेहरु सबै जड्याहा कहाँ हुन्छन् ?

रक्सी पिउनेहरु सबै रक्स्याहा कहाँ हुन्छन् ?

जड्याहा ती हुन्

जसलाई जाँड स्वयंले खाइदिन्छ

रक्स्याहा ती हुन्

जसलाई रक्सी स्वयंले पिइदिन्छ

होइन ?

 

त्यसैले,

अझै कवि होइन

साच्चै होइन

किनभने,

निलेको छैन मलाई कविताले

मिलेको छैन कवितासँग कविताकै गर्भमा

 

त्यो हो

पर्खिरहेछु वर्षौँदेखि

उसकै बगलमा बसेर

चलिरहेछु उसँग यस्तै सोचेर

कि

टोकिदियोस् मलाई

जसरी टोकिदिन्छ कुकुरले चल्दा उसँग

डसिदियोस् मलाई

जसरी डसिदिन्छ बिच्छीले चल्दा उसँग

उसको

हो हो, कविताको

फैलिदियोस् विष मभित्र

यत्रतत्र सर्वत्र

पनि बन्न सकुँ स्वयंमा एउटा कविता

 

खैर

यो कल्पनाको कुरा भो

यसरी

मलाई खा ! खा !! भनी

इशारा गर्दागर्दै पनि

खै किन पो हो माया गरेर

नखाउँ” भन्छ कविताले मलाई

यौटा संभावित शिकार छेवै देखेर पनि

जल्दैन उसकोभोकको सलाई

वाह !

जस्तो पायो उस्तै भोजन

किन गर्छ कविता ?

 

तर

यो साँचो हो

धरोधर्म साँचो हो

साँच्चै चाहन्छु कविताले मलाई

बिल्कुलै माया नगरी चपाओस्

ठ्याक्कै वाइल्ड् पाराले

जसरी चपाउँछ यौटा भोको बाघले

आत्महत्या होइन

मृत्युको सौन्दर्य खोजिरहेको

हो हो रमाइरहेको

यौटा तृप्त मृगलाई

अनि

फैलाओस् उसले

बाघले होइनकविताले

यौटा यस्तो तरंग

जो दुरुस्तै

उक्त तृप्त मृग भक्षणपछिको

उहि भोको बाघको

सन्तुष्ट डकार जस्तै होस्

 

कविता प्रेमी मनहरु हो !

अब बुझ्यौ ?

किन भोकाउँदैन यो कविता मलाई देखेर ?

किन निल्दैन यसले मलाई ?

 

हो

जबसम्म आफैँमा अतृप्त रहन्छु

तबसम्म कवि हुनै सक्दिनँ

कविता

अतृप्त आत्माहरुको कर्कश आवाज ?”

यो हुनै सक्दैन

अहँ

मलाई कवि नभन

०००

दोस्रो कविता

जाग् काली जाग्

मन्दिरको अध्याँरोभित्र थुनेर

षड्यन्त्रकारीहरुले राखेजस्तै

तथाकथित ईश्वरलाई,

तिमीलाई पनि राखेका छन्

पर्खालले घेरिएको त्यो बन्द कोठाभित्र

 

लठ्याएर चटकेहरुले

देखाउन ल्याउने सर्पहरुजस्तै

गहनाको सुगन्धले लठ्ठ भई

हेर्दैछ्यौ तिमी पनि ऐना अगाडि उभिएर

आफ्नै वेहोशीको रमिता

 

हेर

ती बाघ बिरालाहरुलाई

स्याल अनि चितुवाहरुलाई

कति स्वतन्त्र छन् !

मैले नाक छेडिनेहरुमा

तिमी अनि गाईवस्तुमात्र देखेको छु

कैद गरिएकाहरु मात्र देखेको छु

हो,

श्रृंगारको सम्मोहनले कैद छ्यौ तिमी

सुनको कारागारभित्र

 

शुशिलताको साँघुरो फरियाभित्र

कतै फुर्तिलो हिँडिएला कि

पाइला फराकिलो पो चालिएला कि

भन्दै, डरैडरमा हिँड्छ्यौ तिमी

तिम्रा आवाजहरु पनि हराएका छन्

भद्रताको भ्रान्तीले गलाभित्रै दबिएर

 

तिमी निहुराइ रहन्छ्यौ

केशलाई जगल्टा देख्ने राक्षसको पाउमा आफ्नो शिर

सहिदिन्छ्यौ चुपचाप सारा राक्षसी हर्कतहरु

किनभने

तिमीलाई लक्षिण कि भनिनु

पुजिनु तिमीलाई, लक्ष्मी बनिनु

पुकारिनु देवी भनिएर

 

देवी,

लाग्दैन तिमीलाई

यसरी पुँजिदापुँजिदा

तिमी झन्झन् कुँज्जिरहिछ्यौ?

 

अब ब्युँझ देवी

ब्युँझेर हेर त्यो घामलाई

कसरी झलमलाएको सर्वोपरी

महशुस गर यो हावालाई

कसरी सलबलाएको संसारभरी

नदीलाई नै हेर

कसरी बगेको वेगवान पहाडहरु छिचोलेर

 

हो,

थिचिएको धर्ति

तर सहेको छैन अन्याय धर्तिले पनि

विद्रोह गरेको अन्यायउपर प्रकोपको चेतावनी फुकेर

सोच ,

आकाश पनि पिंजडाभित्र

तिमीजस्तै कैद हुँदो हो

कसरी चल्दो हो श्रृष्टीचक्र यो ?

 

देवी,

तिमीले पुज्ने कुन ईश्वर

यी पञ्चतत्वभन्दा ठूला छन्?

भन,

कुन मन्दिरमा थुनिएका छन् तिम्रा ईश्वर

तिमी पनि थुनाउँछ्यौ आफैलाई

देवीको ढोंगी स्वरुपभित्र

भनिरहन्छु, भन्छु

कैदी कहिल्यै ईश्वर हुँदैन

ईश्वर कहिल्यै कैद हुँदैन

तिमीले पुजिरहेको ईश्वर

तिम्रै पुर्पुरो ठोक्नमात्र काम आउनेछ

 

यदि

लक्ष्मी देवी हो भने

काली पनि देवी हो याद गर

त्यसैले

उफ्री त्यो लक्षिणको घेरा नाघेर

तँलाई सुनको सिक्रीले बाँधेर

तेरै कपाल लुछ्नेहरुका टाउकामा

बजारिदे विद्रोहको घन

देखाइदे ती राक्षसहरुलाई

देवीको दैविक शक्ति

तँभित्रको अर्को स्वरुप !

 

ढल्नैपर्छ यो अन्यायको राज्य

हुनैपर्छ पत्तासाफ राक्षसी सत्ताको

चुँडाल बन्धनका साङ्लीहरु

निकाल् भाला तलवार

अनि

उत्री दमन विरुद्धको क्रान्तिमैदानमा

अब

जाग् काली जाग् !

०००

तेस्रो कविता

प्रतिस्थापन 

घरभित्र यहाँ

छोराले पनि भन्छ

बा ! पैले बाइकको चाबी देऊ

बल्ल राम्रोसँग पढ्छु

छोरी पनि उस्तै हो

भन्छे

आमा ! पैले रिचार्ज हाल्देउ

अनी मिठो खाना पकाउँछु

 

अब अलिकति बाहिर चिहाउँ

याद गर्नु भा के ?

यहाँ नातेदार छिमेकीहरु पनि

पैला कमिसन देउ तब

सहयोग गर्छुभन्छन्

 

अलि टाढा निस्किन खोज्नुस

यहाँ गाडीको खलासी पनि भन्छन्

पैला भाडा तिर अनी

बल्ल ओराल्छु

 

कुरो गरिसाध्य छैन

यहाँ सबका सब पहिलावादी छन्

मानवहरु पहिलो हुने होडबाजीमा

मानवताकै घाँटी थिच्दैछन्

त्यसैले

यो देश पनि भन्दै

पैला बलिदान गर, रगत चढाउ

अनि बल्ल पो शान्ति दिन्छु

 

यहाँ सबलाई पहिलो हुनु

सबले सबलाई उछिन्नु

सब यहाँ पहिलावादी छन्

ठिक भन्नु भो,

यहाँ

महिलावादी पनि पहिलावादी छन्

भन्छन्

छिनोफानो गाऊ

छोरी पठाउनु भन्दा पहिला दाइजो पठाऊ

 

अरे ! दु: तब लाग्छ

जब

विपतको बेला ऋणमाग्दा

बैंकले पनि भन्छ

पहिला डिपोजिट गर, त्यहि झिकेर दिन्छु

 

कसले सुन्छ निवेदन ?

यहाँ सरकार भन्छ

पहिला घुस खुवाउ, नत्र बहिरो हुन्छु

यो बहिरो सरकारका जनता भन्छन

जतिबेला घाउ गहिरो हुन्छ

तब

अस्पताल पनि भन्छ

पहिला फि भर अनी पो

ज्यान बचाउन इच्छा हुन्छ

 

त्यसैले

यो देशपनि भन्दै

पैला बलिदान गर, रगत चढाउ

अनि बल्ल पो शान्ति दिन्छु

 

यसरी नै

मानवको खोलभित्र मानवताको हत्या

भइरहन्छ भने

यो देशले रगत मागिरहने , मागिरहने

मागिरहने

अनि एकदिन यस्तो आउनेछ

जब

सिङ्गो देश नै रगतको महासागर बन्ने

छाउने शान्ति

स्तब्धसँगले

त्यतिबेला

त्यो शान्तिको प्रतिक

परेवाहरुको प्रतिस्थापन यहाँ

गिद्धहरुले गर्नेछन !

सिनोहरुको देशमा !!

०००

०००

 

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्