Logo

चियाको मुस्कान



साघुँरो गल्लीमा मेरो चोक छ

यहाँ के छैन ? सबथोक छ

भुपी शेरचन

यो सहर कथाहरुको सहर हो । हरेकसँग आ-आफ्ना कथा छन् यहाँ । मसँग मेरो कथा छ । तपाईसँग तपाईंको कथा छ । अनि उनको पनि त आफ्नै कथा छ ।

एकदिनको कुरा । म डुल्दाडुल्दै झुक्किएर उनीकहाँ पुगे । आज उनैको कथा लेख्दैछु ।

वनस्थली चोक झरेर सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साईडको बाटोबाट अलिकती उकालो गएर देब्रे मोडेपछि झ्याप्प बिजुलीका तारैतार नदेखिउन्जेलसम्म हिडिरहनुहोस् । अनि “नेपाल विद्युत प्राधिकरण, प्रशारण निर्देशनालय, बालाजु, सव-स्टेसन” लेखिएको ठूलो बोर्डमा तपाईंको आँखा परिहाल्छ नै ।

त्यसपछि देखिन्छ, वरिपरि बिजुलीका पोलहरु, काठका मुढाहरु । अनि त्यसपछि जस्तामा बोरा ओढाएर नाएको सुन्दर चिया पसलले तपाईंको नजर नतान्ने कुरै भएन । यो उनको चिया पसल हो ।

पहिलोपटक म त्यहाँ पुग्दाको ‘एक्साइट्मेन्ट’ भनिसाध्य छैन । “ढुङ्गा खोज्दा देउता भेट्नु” भन्छन् नि ! ठ्याक्कै त्यस्तै लागिरहेको थियो । बाटो बिराएर पनि सुन्दर गन्तव्यमा पुग्न जो सकिदो रहेछ ।

अलिकति अग्लो भुभाग, वरपर हरियाली, अनि चारैतिरको मनोरम दृश्य – दक्षिणतिर स्वयम्भुको डाँडो, पश्चिमतिर सिङ्गल ट्री, ह्वाइट गुम्बा, उत्तरतिर नागार्जुन राष्ट्रिय निकुन्ज । उनी मृदुल मुस्कानसँगै गाढा रङ्गको चिया कपमा हाल्दै थिइन् । एकैछिन भए पनि यता नअडिएर जानै मन मानेन । उनको चिया नपिएर जानै मन मानेन ।

“दिदी, एक कप चिया ! ल ?”

“हुन्छ !”

त्यो दिनपछि हरेक साँझ अनि कैयौँ दिन बाटो नबिराएरै म उनको चिया पसलमा पुग्छु । र, हरेक दिन मीठो चियासँगै उनको प्रेरणादायी कथा पनि पिउने अवसर पाएँ । ओहो ,अनि उनको चिया पसलमा पाउने चटपटेसँगै उनको कथा पनि त “पिरो भयो, पानी ! पानी!!” भन्दै खाएकी हुँ नि ।

धेरै दिन “दिदी, चिया !” भनिरहने शृङ्खला चलेन ।

“सरु, मिठ्ठो चिया बनाम् न ल !” – म भन्छु । उनी मुसुक्क हास्छिन् र चियामा चिनी हाल्छिन् ।

०००

उनको पूरा नाम सरु भट्ट हो । घरमा लक्ष्मी पनि भन्छन् रे । घर गोर्खा हो । एसएलसी दिएर काठमाडौं पढ्न आईन् । बुवासँग बसेर अङ्ग्रेजी लिएर प्लस टू पढ्दै थिईन् । बुवा कामको शृङ्खलामा अर्को ठाउँ जानुभयो । उनी अब एक्लै बस्नुपर्ने भयो । साथै एक्लै संघर्ष गर्नुपर्ने भयो । प्लस टू पढ्दापढ्दै जब गर्न शुरु गरिन् । काठमाडौंमा, जब गर्दै, एक्लै बस्नु कम चुनौतीपूर्ण छैन । त्यो पनि केटिमान्छेका लागि झनै-भन्नैपर्छ । आफ्नै मान्छे, आफ्नै वरपर बस्ने मान्छे, नचिनेका  मान्छेहरु पनि अनेक कुरा काट्न थालिहाल्छन् । साथ सहयोग दिनु त टाढाको कुरा सकेसम्म मनोबल गिराउन लागिपर्छन्

उनी मलाई चिया दिदैँ मेरै छेवैंमा आएर बसिन र भनिन् -“तर मलाई थाहा थियो…म गर्न सक्छु । मैले हार मानिनँ । मैले पढ्नु पनि पर्छ आत्मनिर्भर हुनु पनि छँदैछ ।”

अनि फेरि लजाउँदै भनिन्-“अरु उपाय खोजी नसक्दै नसोचेको अर्कै प्रस्ताव मेरोसामु आयो । एकदिन उहाँसँग यहिँ भेट भयो ।

“तिमी एक्लै, म एक्लै बस्नु भन्दा त सँगै बसुम् न त !”- भन्नुभयो । “मलाई उहाँको कुरा ठिकै लाग्यो । सँगै बस्नलाई बिहे गरिम् । अहिले अलि सजिलो छ । तर खासमा अहिले नै बिहे गर्छु त सोचेकै थिइनँ ।”  

मलाई चियाले मात्रै पुगेनँ । “चटपट पनि खाने ल अब !”- चियाको अन्तिम घुट्को निल्दै भनें ।

“अनि उहाँ अफिस जान थाल्नुभयो । मैले १२ को परीक्षा पनि दिएँ । अनि यहिँ चिया पसल राखे । चिया, चटपट राम्रै बिक्छ । कमाई पनि ठिकै हुन्छ । मलाई पनि अरु जब गर्नुभन्दा यै सजिलो लाग्छ । आफ्नो पसल । आफ्नै काम ।”

सरु फटाफट चटपट बनाउन थालिन् ।

हाम्रो देशमा युवाहरु विदेशिने क्रम बढ्दो छ । अर्कोतिर सरुजस्ता युवाहरु पनि छन्, जो भरपुर आशासहित, आत्मसम्मानसहित सक्दो परिश्रम आफ्नै देशमा गर्दैछन् । सपनाका पालुवाहरुलाई हुर्काउँदैछन् । स्वरोजगार हुँदैछन् । उनले आत्मनिर्भर हुन सानै उमेरबाट सिकिन् । पढ्दै, काम गर्दै गरिन् । उनी जिवनका अनेक आयामहरुसँग पनि साक्षात्कार हुँदैछिन् । जीवनसँग जुझ्दैछिन् । जीवन जिउँदैछिन् ।

उनको चिया पसलमा अनेकथरी ग्राहक आउँछन् । विद्यार्थी, कर्मचारी, सर्वसाधारणदेखि बयोवृद्धसम्म । मैले “एउटा जवान केटी भएकै कारण एक्लै आफ्नै पसल गर्न कत्तिको गार्हो हुँदो रहेछ त ?” भनेर सोध्दा उनले आत्मविश्वासका साथ भनिन्-“किन नहुनु नि ! कस्ता कस्ता मान्छे आउँछन् । कसैको त नियत पनि ठिक लाग्दैनँ । तर मान्छे चिन्नुपर्छ । जस्तालाई तेस्तै गर्ने हो नि । ग्राहक भन्दैमा हुन्छ र ? आफुलाई नराम्रो व्यवहार गर्नेहरुलाई त म ‘प्याच्च’ भनिदिन्छु अनि सतर्क पनि रहन्छु ।”

उनले यो भनिरहँदा नचाहँदा-नचाहँदै मलाई त्यो कुरा याद आयो । मेरै एकजना साथीले पनि एकदिन मैले “कस्तो राम्रो ठाउँ है यो ?” भन्दा मजाकैमजाकमा “साहुनी पनि राम्री छिन् ।  हेर्नलाई ठिक छन् नि, आँखा सेक्न नि पाईने” भनेका थिएँ । मैले हतारहतार उनको त्यो विभेदपुर्वक भनाईप्रति आपत्ति जनाएकी थिएँ । तर उनले “मजाक त हो यार, तिमी पनि कस्तो कुरा गर्छौ ?”भनेर टार्न खोजे । जानी-नजानी हामीमा अवचेतन रुपमा यी-यस्ता असामाजिक “जोक”हरु व्याप्त छन् । यस्ता स-साना कुराहरुले पनि सानै उमेरमा आफ्नै व्यवसाय थालेका महिला व्यवसायीहरुको सामाजिक छविमा र उनीहरु स्वयममा कस्तो मानसिक असर पर्छ भन्नेपट्टि हामी ध्यान नै दिदैनौँ । हामीलाई त बस् सस्तो हाँसो हास्नु छ, हैन ?

त्यो डाँडामा चिया पसल गर्न थालेको ४ महिना पुगिसकेको उनी बताउँछिन् । उनको श्रीमानको जागिर र उनको कमाईले काठमाडौंमा सबै खर्च पुगिरहेको छ । पढाईलाई पनि निरन्तरता दिईरहेकी छिन् । वैवाहिक जीवन पनि सुखपुर्वक बितिरहेको छ । कहिलेकाँही घुम्न पनि जान्छौँ- पशुपति गएको फोटो देखाउँदै उनले भनिन् । उनीहरु दुबै दशैँ-तिहारमा चाहिँ घर जान्छन् । दुबैतिरको परिवारमा राम्रो सम्बन्ध छ र सबैजना खुसी हुनुहुन्छ । उनले पनि खुसी हुँदै थपिन्-“हामीले गर्दै जाने हो । घरमा बुझ्दै जानुहुन्छ । हामी दुबैको परिवारले सहजतापुर्वक हाम्रो सम्बन्ध स्वीकार्नु भयो । अनि त्यै भएर त अहिले हामीलाई जिन्दगी यसरी अगाडि बढाउन सजिलो भएको छ ।”

दिनभरी एक्लै जतिखेर पनि पसलमै बसिरहँदा उराठ पनि लाग्छ । गाउँको याद आउँछ । साथीहरुको याद आउँछ । घरको याद आउँछ- उनी भन्दै थिईन् । अहिलेकै एकदमै चर्चित लोक दोहोरी “पछ्यौरी च्यात्तियो, तिम्ले तानेर” गाएर सुनाईन् । मैले पनि धेरैपछि उनको मीठो आवाजमा मीठो लोक दोहोरी सुन्न पाएँ । उनी मेरी चिया-सहेंली बनिन् । मीठो चिया, चटपट बनाउँछिन्, मीठो कुरा गर्छिन्, मीठो हाँस्छिन् । अहिले प्लस-टूको रिजल्ट कुरिरहेकी छिन्- उनी । ब्याचलर पनि अङ्ग्रेजी मै गर्न मन छ उनलाई । पढाई सकेपछि पनि आफ्नै व्यापार व्यवसाय गर्न मन छ । जीवनमा आउने जस्तोसुकै परिस्थितिसँग जुध्न र सङघर्ष गर्न तयार छिन् उनी । “तपाईं, हैन हैन, तिमी सधैँ मेरो पसलमा आईरहनू ल !” – भन्छिन् । भावुक हुन्छौँ हामी दुबै । डाँडामाथीको अस्ताउँदो सुर्यलाई हेर्दै हामी दुबै हाँस्छौं ।

गरेपछि के पो हुदैँन र ! सरु भट्ट हामी सबै युवाका लागि प्रेरणाकी स्रोत हुन सक्छिन् । जीवन सुन्दर बनाउनलाई कुनै उमेर चाहिँदैन, विशेष शक्ति प्राप्त हुनै पर्दैन । सरु -एउटा उदाहरण हुन । जहाँ जस्तो अवस्थामा छौँ, त्यहिँबाट सुन्दर जीवनको परिकल्पना गर्न सकिन्छ । यै सहरको एउटा कुनामा रहेर आफ्नो जीवनको छुट्टै अस्तित्व निभाउँदै आईरहेकी छिन् उनी । परिश्रम, सपना, आँट र विश्वास हुने हो भने जस्तोसुकै परिस्थितिमा पनि अगाडि बढ्न सकिन्छ । सरुले जस्तै गरी । सहरमा आफ्ना सपनाहरुलाई बिलाउन दिनुभएन, हराउन दिनुभए, बस् !

सरुलाई उनको मीठो चियाका लागि धेरै-धेरै धन्यवाद !

(सल्लेरी खबरले सल्लेरी विशेषको साप्ताहिक अंक ‘सल्लेरी कोलाज’ मा ‘गल्लीको कथा’ शृङ्खला शुरु गरेको छ । यो पहिलो खुड्किलो हो । यसमा हामी ती जिन्दगीहरूका कथा ल्याउने छौं- जो काठमाडौंका गल्लीहरूमा हाँस्दै-मुस्कुराउँदै जिन्दगी जिउँन प्रेरित गरिरहेछन् । तपाईंको आसपास पनि त्यस्ता जीवनकथा छन् जस्तो लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोला । सल्लेरी खबर यहाँहरूसँग हातेमालो गर्दै समाजमा थप सकारात्मकता र उर्जा सञ्चार गर्न उत्साहित छ । धन्यवाद !)  

कविता, कथा साथै संस्मरणात्मक लेखनमा सक्रिय केसी 'सल्लेरी कोलाज'को स्तम्भ 'गल्लीको कथा'मा नियमित कलम चलाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्