Logo

नाँच हेर्न जाँदा



साउनदेखि चाडपर्व शुरु हुन्छन् र पहाडमा नाँच गान पनि । त्यतिबेला टिभी थिएन, एफएम थिएनन् । भर्खर भर्खर जुँगाका रेखी देखा परेका किशोर र फागुनको चञ्चल बतासजस्तो मन भएकी पन्ध्रसत्र वर्षकी किशोरीहरु गाउँघरमा नाँच गानको आयोजना गर्थे । रातै भरि नाँच चल्थ्यो र चल्थ्यो दोहरी । नाँच्थे युवायुवती छर्लङ्गै बिहानी नहुन्जेल । अचेल पनि हुन्छ होला नाँच–गान तर त्यो समय बेग्लै थियो । अहिले त्यो नाँच गानाको ठाउँमा टिभी छ, मोबाइल छ र छन् अन्य थुप्रै विद्युतीय उपकरण उपाय ।

प्रेमी प्रेमिका भेट गर्ने थलो बन्ने नाँचघरको आँगन अचेल मोबाइलको फेसबुके भित्ताले लिइसकेको छ । ‘छोट्टी बस्न जाने’ चलन अचेल ‘डेटिङ’ले ‘रिप्लेस’ गर्दै छ । ‘छोर्याट्टा’ ‘ब्वाइ फ्रेन्ड’ र ‘छोट्टी’ ‘गर्लफ्रेन्ड’ भइसके । पहाड बदलिदै छ । छ महिना ‘लाहुर’ खाएको ठिटाको ‘छ सेले’ टेप । त्यसमा गुञ्जिने ‘माकुरी जालैमा’ लोकभाका । एक कोस परसम्म उज्यालो पुर्याउने टर्च । यो त्यो समयमा थियो जतिबेला गाउँले केटाहरुको टोली यस्तै लाहुरे ठिटाको पछि लाग्थ्यो र पुग्थ्यो कुनै अमुक गाउँमा रातभरि दोहरी गाउन । यो कुरा बेग्लै हो कि ती युवाहरु अचेल गाउँमा भेटिदैनन्, युवाहरु खाडी पसेपछि गाउँ अलि रित्तोरित्तो भएको छ ।

एक साँझ लालु मेरो घरमा आयो र नाँच हेर्न जाऊँ भन्यो । साथमा थियो पपन र दलविर । चमेलीको तेलले कपाल सर्लक्कै चिल्लो पारेका थिए । टाइटानिक फिल्मका हिरोहिरोइन जहाजको डेकमा उभिएका समुद्री हावाको कावा खाइरहेको दृश्य भएको रुमाल निधारमा पर्ने गरी बाँधेका थिए, च्याट्ट पट्याएर । जुत्ता अनि जिनको पैन्ट त हुने नै भए । तीन जनाको साइत राम्रो हुँदैन भन्ने सोच त अहिले पनि समाजमा छँदै छ । त्यो बेला अझ बाक्लो थियो । त्यसैले त्यो साइत पार्ने चौथो साथी म हुन सक्थें ।

अफसोच ! मलाई नाँच गानमा खास चासो थिएन । मलाई दोहरीको एक तुक्कासमेत बनाउन कहिलै आएन । बरु तिन ताक म सिरानीमा रेडियो राखेर ‘विविध भारती’का राति दसबजेपछि पुराना हिन्दी गीत सुन्दै निदाउँथे । बिहान उठ्दा रेडियो सुसाइरहेको हुन्थ्यो । रेडियोका ‘मसाला’ छिटो छिटो सकिएकोमा बा रिसाउनुहुन्थ्यो । फेरी त्यो रातमा टाढा नाँच हेर्न जाने खास कारणमसँग थिएन । आफ्नी मायालु पनि थिइन जसलाई भेट्न रातको समयमा कतै पुगुँ । नेपाली बोल्दा बोल्दै बिचमा कतै न कतै हिन्दी शब्द पसेको पत्तै हुँदैन्थ्यो र साथीहरु हाँस्थे मरिमरि । मलाई लज्जाबोध हुन्थ्यो । त्यसैले, साथीसमेत थोरै भएको त्यो बेला मायालु हुने सम्भावना पनि थिएन । तर, छिमेकमा लालु थियो । पपन थियो अनि दलबहादुर थियो । उनीहरु नाँच्न–गाउन ‘बैरी’ थिए । पपन गाउँमा मात्रै होइन, थारमारे, ठिनबाङ, मोखलासम्म गीत गाउन जान्थ्यो, उसलाई विशेष निमन्त्रणा आउने । गाउन ऊ सिपालु । अनुहार हेरेर त पक्कै पनि उसलाई त्यति माया गरेका थिएनन ‘मैया’हरुले तर उसको बोलीमा भने जादू थियो । दोहरी गाएर छर्लङ्ग उज्यालो पाथ्र्यो र हराउँथ्यो दोहरी भिड्न आउने ‘छोर्याट्टी’हरुलाई ।

म जान मानेको थिइन । लालुले आमासँग सोर्स लगायो । छोरा घरभित्रै गुम्सिएको, आफ्नो दौंतरीहरुसँग घुलमिल गर्न नसकेकोमा आमालाई चिन्ता । आमाले, ‘जा न त जा । गाउँ ठाउँ हेर्ने– घुमेर आ । भोली विदा छँदै छ’, भनिसकेपछि मलाई जाउँ जाउँ भयो । अँध्यारो हुनै लाग्दा हामी चारजना कालाखेत ओर्लियौं । जानुपर्ने खत्रिगाउँ । प्लान रहेछ– केटी भगाउने । लालुले बिहे गर्ने योजना बनाएको रहेछ । मलाई पछि मात्रै थाहा भयो । त्यसैले ‘स्पेशल टास्क फोर्स’ बनाएको रहेछ, जसमा म जस्तो अनाडीलाई पनि समावेश गरेको थियो ।

यो भन्दा पहिला म एक पटक नाँच हेर्न गएको थिएँ । बारी जोतेका तर केही नछरेका थिए । त्यो बेलाको टिममा बाह्र पन्ध्र जना थियौ । पूर्णिमाको जून । उज्यालोमा बारी बारी दौडिनुको आनन्द छुट्टै थियो । उखूँ र अमिलाको रुखमा त्यो टिमले प्रवेश गर्न भ्यायो भने अर्को दिन घरधनीको काम आप्mनो सम्पत्तिको यस्तो विजोग बनाउनेहरुलाई तेतिसकोटी देउता र मस्टो पुकारर्दै सत्तोसराप गर्ने हुन्थ्यो ।

हरियो घाँसले बाटो छपक्कै छोपेको । लालु र दलबिरको हातमा टर्च । हामी पछि पछि । टर्चको काम पनि गज्जबको हुने । मादल बजिरहेको घरतिर टर्च देखाउँदा, उताबाट पनि त्यस्तै संकेत मिल्ने र केटाहरु ‘लौ जाऊँ, केटीहरुले बोलाउँदै छिन्’ भन्दै पाइला अलि तीव्र पार्थे । बाटोमा कसैको घर आँगनमा अमिला वा काँक्रा फेला परे त्यसमा पनि केटाहरुकै दाइँ चल्ने । त्यसरी चोरेर खाएको अमिलोको स्वाद पनि सायद गुलियो पो हुन्थ्यो कि ? काँक्रो त मुक्का हान्दै फोड्थे साथीहरु र बाँट्थे दौंतरीहरुलाई ।

नाँचघर गइसकेपछि पहिलो काम हुन्थ्यो तत्कालिन स्थितिको ‘गम्भीर अवलोकन’ गर्ने । मादल बजाउने केटाहरु कुन गाउँका हुन् ? गीत गाउने जोडी कसको छ ? त्यो घरमा नाँच कतिबेला सम्म चल्ने सम्भावना छ ? भेला भएकी केटीहरुमा आफ्नी मायालु छ कि छैन ? आफ्नो टोलीको नेतृत्वमा नाँच गान चल्न सक्छ कि सक्दैन ? या फेरी कतै लडाइ झगडाको माहौल त बन्ने होइन ? यी सबै पक्षको गम्भीर अवलोकन पछि मात्रै आफ्नो भूमिका खोज्ने गरिन्थ्यो । माहौल ठिक लागे बस्ने नत्र मादलको आवाज आइरहेको अर्को कुनै घरतिर लाग्ने निर्णय हुन्थ्यो ।

नाँच विभिन्न अवसरमा हुन्थे । अहिले पनि हुन्छन् । तर, त्यो बेला सायद मेरो गाउँवरिपरि अलि बढी नै हुन्थ्यो । साउन पछि त दिनहुँ मादल बजेको आवाज सुनिन्थ्यो । तीज, पञ्चमी अथवा पूर्णिमाको नाँच त हुन्थ्यो नै, छैठी, न्वारन, घरपूजा वा अन्य अवसरको पनि सदुपयोग हुन्थ्यो । हिजो आज कक्षा कोठामा कोही उँघ्यो भने रातभरि क्रिकेट म्याच हेरेको वा फिल्म हेरेको लख काट्न सकिन्छ । त्यो बेलामा ‘नाँच हेर्न गएको’ सहजै अनुमान गरिन्थ्यो । साथीहरु मादल बजाएर घाइते भएका हात देखाउँथे । मादल बजाउँदा बजाउँदै एक दुइवटा मादल फुटेको ‘गौरवान्वित’ घटना सुनाउँथे । आफू भने यस्ता काममा ‘महालद्दु’ ।

हामी चार जनाको ‘स्पेशल टास्क फोर्स’ गाउँमा पुग्दा नाँच चलिहरको थियो । लालटिनको मधुरो प्रकाशमा ढुङे घरको आँगनमा पन्द्रसत्रजना युवायुवतीहरु नाँच गान गर्दै थिए । हामी आँगनमा ओर्लियौं र छेऊमै उभिएर नाँच हेर्न थाल्यौं । छोर्याट्टीहरू पनि एक से एक रङ्गीन र आकर्षक देखिएकी थिइन् । लाली गाजल टिका पाउडर त हुने नै भयो । अचेल पो ब्यूटी पार्लर आयो, तरुनीको घर घरमा उहिले ब्यूटी पार्लर थियो । र उनीहरु सबै ब्युटिसियन । तर मज्जाको कुरा के थियो भने, टाइटानिकको रुमाल मैयाहरुको टाउकोमा पनि थियो । हेयर ब्यान्डको काम पनि गर्ने र आकर्षपनि देखिने । त्यो भन्दा ठूलो गोप्य कुरा त अर्कै रहेछ– टाउकोमा पट्याएर चिटिक्का पारी बाँधिएको त्यो रुमाल त मायालुको चिनो पो हुन्थ्यो । रुमाल चिनो !

आँगनको एक छेऊमा छोर्याट्टी र अर्को छेऊमा छोट्ट्याहरु बसेका थिए । बिचमा नाँच्दै थिए दुवै समूहबाट एक एक जना । झाँप्रे गीतको प्रत्येक टुक्काको अन्त्यमा ‘अ है लैजा लैजा हुर्र हुर्र !’ भन्दै हुटिङ हुन्थ्यो अनि मादलेका ताल झनै रन्कने । त्यो मन्मौजी नाँचगान हेर्दा हेर्दै छेऊमा उभिएको लालु हरायो । ऊ त्यहाँ थिएन । हामी त्यही थियौं कि पाँच मिनेटपछि लालुले घरको बार्दलीबाट बोलायो । पानी खाने निहुँमा भित्र पसेको हुनुपर्छ ऊ, मेरो अनुमान । केही समयपछि नाँच्दै गरेको केटा र दलबिरबिच कुनै विवाद भयो जसले झगडाको रुप लिन थाल्यो ।

मादल बज्न छोड्यो र उनीहरुले एक अर्कालाई गाली गरेको र धम्की दिएको मात्रै सुनिन थाल्यो । प्रतिपक्षिले धक्यायो, भद्दा गाली दियो र चुनौती थियो । हामी चार, त्यसमा दुईजना लालु र दलबिर मात्रै लडाइका लागि ‘उपयुक्त’ ज्यान भएकाहरु थिए । उनीहरु दसबाह्रजना बलिया–बाङा युवाहरु । तैपनि, दलबिरले बजाइसकेछ, नाकमा । बजाएर ऊ कताबाट घेरा तोडदै निस्कियो र तल कान्लोमुनि हाम फालेर भाग्न थाल्यो । मैले उसलाई भाग्न देखें र म पनि उसकै पछि दौडिएँ । दलबिरसँगै आएको हुनाले मलाई पनि खतरा थियो । अर्को कुरा त्यो रातमा गाउँको कुन कुनामा म उभिएको छु, मलाई नै थाहा थिएन । यस्तो स्थितिमा त्यो बबालबाट उम्कने उपाय दलबिरको साथ छोड्नु हुँदैन भन्ने मलाई थाहा थियो । उनीहरु हाम्रो पछिपछि त दौडिए तर धेरै टाढासम्म दौडाएनन् । पपन र लालु पनि माथिल्लो बाटो कतैबाट भाग्न सफल भएछन् । अलि सुरक्षित महसुस भएपछि मात्रै दलबिरले टर्च बाल्यो । अँध्यारोमा छाया सरह देखिने बाटो र बारीको डिलबाट हाफ फाल्दै भागेका थियौं हामी । करीब चालिस पैंतालिस मिनेटको लगातारको दौडपछि हाम्रो दुई टोली एक ठाउँमा भेला भयो । हामी घर फर्किने निर्णय भयो ।

त्यो समयमा पहाडका घरहरुमा ट्वाइलेटको व्यवस्था प्रायः नहुने । केही ‘हुने खाने’ सभ्य परिवारले मात्रै ट्वाइलेट बनाएका हुन्थे । बाहिर जान खेतबारीको डिल र खोल्सा हेर्नु पर्ने । भाग्दै जाँदा मेरो गोडा यस्तै एउटा खोल्सामा जाकियो । अलि ‘मोडिफाइड’ खोल्सो रहेछ, माथि काठ र ढुङ्गा प्रयोग गरेर चर्पीको आकारमा मुख बनाइएको रहेछ र मात्रै, जसले गर्दा खुट्टा ‘पवित्र’ हुनबाट जोगियो । शारदाको किनारमा ओर्लदा हामी थाकेका थियौं र भोकाएका पनि । खेतको आलीमा रहेको बेलौतीको मीठो वासना हावामा फैलिएको थियो । हामीले त्यहाँ बेलौती खायौं ।

बिहान झिसमिसे उज्यालोमा हामी आ–आफ्नो घरमा गएर सुत्यौं । बिहान गाउँमा एउटा हल्ला पैmलियो । ‘महेन्द्रलाई त गुको थुप्रो कुल्चिदा बैलोती वासना आयो रे !’ यसको स्पष्टीकरण मसँग थिएन । किनभने मलाई सँगै लिने साथीहरुकै बदमासी थियो त्यो । दुइचार महिनाको अन्तरालमा लालुले तिनै ‘मायालु’लाई भगाएर घरजम बसायो । तर म भने यसपछि कहिलै नाँच हेर्न गइन । न त रुचि थियो न त समय नै मिल्यो । तर पनि त्यो समयलाई सम्झदा अहिले पनि मलाई कुत्कुत्याउँछ र हसाँउछ । हामी चार जनामा कोही कतै कोही कतै छौं । वर्षौं भयो भेट नभएको नदेखेको पनि । तर जब सम्झिन्छु यी साथीहरुकै बढी याद आउँछ । उनीहरुकै कारणले म पनि धाक लगाउने भएको छु– एक दुईपटक मात्रै भए पनि नाँच हेर्न जानुको अनुभव त मसँग पनि छ मित्रवर ! उनीहरु हुँदैन्थे भने त गाउँको रमाइलो त्यो किशोरकाल सम्झन मसँग कुनै किस्सा नै हुने थिएन ।

०००

०००

प्रतिक्रिया दिनुहोस्