Logo

सुर्य अस्त नेपाल मस्त



आधुनिक नेपाली समाजमा जाँडरक्सी नखाने मानिस विरलै होलान् । दुध दही बिक्दैन, रक्सी पुग्दैन । पछिल्लो नेपाली समाजले विचित्रको स्वभाव धारण गरेको छ । को-कसले कति खान्छ भन्दा पनि कसले चाँहि खाँदैन भन्ने अवस्था छ । एउटा साथी जापान उड्यो । उड्नु अघि रक्सी खाने निम्तो दिन बिर्सेन । अर्को साथी जर्मनीबाट काठमाडौं झर्यो । स्कच ह्विस्की पिउँने निमन्त्रणा आइपुग्यो ।

अर्को भन्छ, ‘पर्सि मेरो बर्थडे हो । साँझ समय मिला । सके ओल्ड दरबार खुवाउँछु नत्र गोल्डेन वाँक ।” वर्षमा आकलझुकल साथीभाइ तथा दाजुभाइको बिहे भोजमा पुगिन्छ । त्यता पनि रक्सी टुट्दैन । कोहि कोठासम्म नै आइपुग्छन् । ‘जागिर छुट्यो यार । लास्ट वाक्क लाँछ । रक्सी ल्याइदे न । लाँ पैसा ।’ बर्थडे पार्टी, म्यारिज एनिभर्सरी – रक्सी । लभ पर्यो- रक्सी । ब्रेक अप भयो- रक्सी । कोहि बिरामी भयो । तनाव भयो- रक्सी । सोहि बिरामी निको भयो । खुसी भयो- रक्सी।

सम्पूर्ण दुख, थकान, पश्चाताप, निस्सारता, अत्यास या खुसियाली साट्न रक्सी नै निल्नु पर्ने मानसिकताबाट सिकिस्त हामी रक्सीलाई सर्वेसर्वा मानिरहेका छौं । पहिले-पहिले दुध दहि बिनाको भान्छा खल्लो हुन्थ्यो । अहिले रक्सीबिनाको जमघट र भलाकुसारी स्वादहीन बनिसकेको छ । घरमा आफन्त आए, पाहुनाहरु आए । नचलाई राखिएको घिउँको ठेकी झिकिन्थ्यो । दहीको डोल्ची निकालिन्थ्यो । दुधमा अलि बढी पानी खनाइन्थ्यो । तर अहिले रक्सी र मासु भए पुग्यो । खाना सम्म पनि बनाउनु जरुरत छैन । चट्ट बस्यो । गिलास जुधायो । चियर्स !

मनको बह पोख्न, वेदना बिर्सन, दिल बहलाउन, रमाइलो गर्न, ठेक्कापट्टा पार्न, जागिरका कुरा गर्न, फुर्तीफार्थी देखाउन साथै भ्रस्टाचारको कारकको रूपमा पनि प्रशासनदेखि राजनीतिक क्षेत्रसम्म यस पेयपदार्थको प्रयोग बढ्दो छ । वर्तमान समाजका हामी उत्सव होस् या थकान, रौनक होस् या हैरानी, गर्मि होस् या जाडो, जमघट होस् या एक्लोपना, मदिरासँग हरक्षण हरपलको सहयात्रामा निमग्न छौं ।

सोसियल लुब्रिक्यान्टको भूमिकामा रक्सी:

मदिरा सेवनको हजारौं हानी सर्वविदित हुँदा हुँदै पनि यो पेय पदार्थ कालजयी प्रसिद्ध हुनुमा विविध व्याख्या उपव्याख्या गरेतापनि विज्ञहरु भन्छन,”मदिराले समाजिक अन्तरक्रिया बढाउँछ, आफ्नो कुरा राख्न सहजता दिलाउँछ तथा एकनास दैनिकीबाट केहि समय भए पनि पन्छाउने काम गर्छ ।” ‘सोसियल लुब्रिक्यान्ट’को भूमिकामा उनीहरु रक्सीलाई आजको आधुनिक समाजको अभिन्न अंग बनिसकेको कुरा नकार्न सक्दैनन् ।

दिमागलाई डिप्रेस बनाउने लागूऔषध रक्सी:

रक्सी कार्बन, हाईडोजन, र अक्सिजन मिस्रित रासायनिक यौगिक हो । कार्बोहाइड्रेट यूक्त खाद्दयपदार्थ कुहिएपछि प्राकृतिक रुपमा अल्कोहोल, अर्थात मदिरामा हुने मुख्य मादक पदार्थ बन्छ । अन्न तथा फलफुललाई कुहाएर त्यसमा मर्चा (यीस्ट नामक ब्याक्टेरिया) हालेर जाँड बनाउने गरिन्छ । यस्ता पदार्थमा चीनी तत्व पाइन्छ । सोहि तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्छ ।

हामीले खाएको खाना आमाशयले पचाउन समय लगाउँछ तर रक्सी निकै छिटो सोस्ने गर्दछ । रक्सीसेवन गर्ने बित्तिकै करिब २० प्रतिशत अल्कोहल तुरुन्तै सानो आन्द्रामा पुगी सोसीएर रगतमा मिसिन्छ । तत्पश्चात शरिरको सबै कोषकोषिकाहरु प्रवाह हुन्छ । जसलाई हामी ‘रक्सी लाग्नु’ भनेर बुझ्छौं ।

रक्सी लागिसकेपछी सेवनकर्ताले समाज, संस्कृति, नीति, मान्यता एवं दिमागी सन्तुलन गुमाउँछ । तत्पश्चात सेवनकर्ता आपराधिक गतिविधि जस्तै: गालीगलौज, होहल्ला, कुटपाट, लडाईझगडा, चोरीडकैतीको अवस्थामा पुग्दछ । जसका कारण सेवन कर्ता दुर्घटित हुन् पुग्दछ या दुर्घटना निम्ताउन पुग्दछ ।

विज्ञान भन्छ, “रक्सी मानिसको दिमागलाई डिप्रेस बनाउने तथा लत लगाउने एक प्रकारको लागूऔषध हो ।” रक्सी सेवनकर्ताको केन्द्रिय स्नायु प्रणालीको गति कम गराई मस्तिष्कका विभिन्न कोषहरु बीचको पारस्परिक सम्बन्ध निर्माणमा तगारो बनेर उभिदिन्छ । जसका कारण व्यक्तिको कुनै पनि कुराको ग्रहण क्षमता, श्रव्य क्षमता, दृश्य, भावना, आवेग, शारीरिक गतिशिलतामा क्षयीकरण भइ मानिस अव्यवस्थित, अव्यावहारिक र अस्वाभाविक बन्ने गर्दछ । अत्याधिक रक्सीसेवनका कारण पारिवारिक, सामाजिक र आर्थिक हैसियत निर्माणमा सेवनकर्ता पछाडि पर्ने गर्दछ । साथै सामाजीक तवरले उच्छृङ्खल, अराजक, अनैतिक, असभ्य एवं गैर जिम्मेवार बन्न पुग्छ ।

८० प्रतिशत हिंसा मदिराका कारण:

२०६३ बाट मदिरा खुला विक्री वितरण शुरु भएयता विभिन्न खाले हिँसा मध्ये ८० प्रतिशत हिँसा मदिराका कारण हुने गरेको प्रहरीको तथ्यांक छ । हत्या, बलात्कार, सम्बन्ध विच्छेद देखि दैनिक हुने गरेका कुटपिट र पारिवारिक झगडाको पछाडि रक्सीको प्रमुख सक्रियता देखिन्छ । मदिरा सेवनले महिला हिँसा, पारिवारिक विघटन, घरेलु हिँसा, सामाजिक/नैतिक मुल्य स्खलन बढाईरहेको छ ।

आपकालीन सेवा बाहेक मेडिकलहरु बन्द भइसक्दा पनि शहर-बजारमा अबेर रातीसम्म मदिरा पसल संचालन हुँदै आइरहेको छ । जसले रात्रीकालीन शहरलाई राक्षसी ढाँचा दिएको छ । कोही पनि रातको समयमा निर्धक्क भएर हिड्न सक्दैन । रातको समयको शहर बालमैत्री, अपांगमैत्री, महिला मैत्री त छैन नै आम मानिसका निम्ति पनि भूतको छायाँ जस्तो बनेको छ ।

मूल सडकमा मापसे गरेर सवारीसाधन हाकीरहेका मोटरसाइकल चालक, ट्रक चालक तथा डान्स बार, हुक्काबार, लज एवं रेस्टुरेन्टबाट अत्याधिक रक्सीसेवन गरि निस्किएका मानिसका कारण देशका विभिन्न शहर-बजारहरुमा हरेका रात ट्याक्सी ड्राइभर, सर्वसाधारण, विदेशी नागरिकहरु लुटिएको, कुटिएको एवं ठगिएको घटनाहरु सार्वाजिनिक हुँदै आइरहेको छ ।

गाउँघरमा पनि पानी भर्ने पधेरोमाथि, बारीको पाटामा, छिमेकीको दैलोमा दिउँसै रक्सी सेवनकर्ता सुतिरहेका भेटिन्छन् । जसको सिधा असर बालबालिकामाथि पर्ने गरेको छ । स्कुल जाँदै गरेका, स्कुलबाट फर्कदै गरेका स-साना बालबालिकामाथि यसले मनोवैज्ञानिक असर निम्ताएको सामाजिक सुरक्षाकर्मी, अभिभावक एवं शिक्षकशिक्षिकाहरु बताउँछन् ।

हप्ता दुइ हप्ता नपुग्दै एउटा अर्को समाचार पढ्नुपर्छ । ‘नेपालको सिमावर्ती क्षेत्रका बजार तथा राजमार्ग आसपास जाँडको कोकोहोलो पुन: मच्चियो ।’ तराईका विभिन्न जिल्लाहरुमा भारतको विहार क्षेत्रका मानिसहरु बिहानदेखि मध्यरातसम्म बसी तास खेल्ने, होहल्ला मच्चाउने, चन्दा उठाउने गर्दा बलात्कार बढ्यो । यौंन हिँसा बढ्यो । गुण्डागर्दी बढ्यो । सामाजिक अपराध बढ्यो ।’ भारतको विहार क्षेत्रमा रक्सीप्रतिबन्ध गरिदिएको परिमाण विहार क्षेत्र शान्त रह्यो, नेपालमा अशान्ती मच्चियो ।

असारमास लागेसँगै खेतीपातीका लागि भारतबाट नेपाल आएका मेरै गाउँको दाइ बताउँछन्, ” उता तीन पुस्ते माग्छ । विभिन्न राज्यहरुमा त ब्याण्ड नै लगाईसक्यो । लुकिछिपी रक्सी विक्री र सेवन गरेको थाहा पाए लाख मुल्य बराबरको जरिवाना तिराउछ ।” उनी दिक्क मान्छन र फेरी भन्छन, ” हामी नेपालीलाई कहिल्यै राम्रो नजरले हेर्दैनन् । रक्सी धोक्न यता आउन पाइन्छ भन्ने भएपछी उनीहरुको चेहरा खुल्याँ छ ।” ‘सुर्य अस्त नेपाल मस्त’ भन्दै हासींमजाकमा आफ्नो देशको नराम्रो भनेको उनी सुन्न सक्दैनन् ।

मदिरा सेवन परम्परा:

मदिरा सेवन भर्खर भर्खर शुरु गरिएको चलन भने होईन । मदीरा सेवन परम्परा मानव जाती कै उत्प्पति जत्तिकै पुरानो भेटिन्छ । हरेक प्राचिन मानव समाजमा अन्न तथा फलफूलको अलावा जनावर, पशुपंक्षीका छाला/मासु कुहाएर समेत मदिरा उत्पादन, संकलन र सेवन गरिँदै आइएको विविध तथा विस्तारित चलनचल्तीहरु भेटिन्छन् । परापुर्वकालिन धर्मग्रन्थ तथा पुराणहरुमा पनि विषजन्य पदार्थको रुपमा सोम, प्रहामना जस्ता नाम दिइएर रक्सी वर्णन गरिेेेएको भेटिन्छ । अन्नबाट यदि बनाइएको हो भने त्यो असुरहरुले प्रयोग गर्दथे र त्यसलाई विष भनिन्थ्यो । यद्दपी वनस्पतिबाट बनाइएको छ भने त्यसलाई अमृत भनिएको र त्यसलाई भगवानहरुले चोटपटक लाग्दा औषधीको रुपमा प्रयोगमा ल्याएको कथनहरु भेटिन्छ ।

कुनै समाज रक्सिको प्रयोगप्रति उदार छ भने कुनै निकै सख्त तथा कुनै पूर्ण निषेधित नै छन् । पराम्परागत रुपमा निषेधित जातजाती, महिलाहरुमाझ पनि यो पेयको प्रसिद्दी क्रमशः बढ्दो छ । ‘छोराहरुलाई नखाँ भन्छु, मान्दैनन् ।’ रक्सि प्रति पुर्ण निषेधित मानिने ब्राम्हण समाजका एक वृद्द भन्छन्,” हामीले कुलको नाम राख्न खाएनौं ।” बाउबाजे कसैले नखाएको चीज, रुची पनि नलागेको र कहिले खाउँ जस्तो पनि नभएको उनी बताउँछन् । ‘फेशनजन्य विभिन्न व्यवहार झैं युवाहरु माझ यसको सेवन जेठमा सल्कीएको डढेलो सरह सल्कदों छ ।’ ढुंगेधारामा विगत ४ वर्ष देखि मदिरा पसल चलाउँदै आइरहेका धादिङका रमेश कार्की(नाम परिवर्तन) बताउँछन् ।

यी यस्ता जमात रक्सी नखाइदिए हुने थियो भन्ने नै चाहान्छन् । तर यसका लागि सरकारी तवरबाट मात्रै नभई समाजका हर व्यक्तीले रक्सी खानुका फाइदाबेफाइदा बुझ्नु आवश्यक रहेको बताउँछन् । ‘एउटा चोकमा आधा दर्जन मदिरा पसल हुन्छ । चार वटा चोक बिराएर एउटा डेरी पसल भेट्न पनि मुस्किल हुन् थालिसक्यो ।’ साँझपख दुध किनेर फर्कदै गरेका ढुंगेधाराकै स्थानीय अभिषेक हुमागाईं(नाम परिवर्तन) बताउँछन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तथ्यांकअनुसार १५ वर्ष माथिको कुल जनसंख्याको पचास प्रतिशत(लगभग ३६ लाख)ले नियमित वा कहिलेकाही मदिरा सेवन गर्ने गरेको देखिएको छ । जसमध्ये २८ प्रतिशत पुरुष र ७ प्रतिशत महिलाको संख्या रहेको छ । सोहि अध्ययनले यो पनि बताउँछ कि हरेक वर्ष मुलकमा करिब १० देखि १२ हजार नयाँ बिरामी क्यान्सरबाट प्रताडित हुँदै आइरहेका छन् । यस अध्धयनले यहिँ देखाउँछ, राष्ट्रको काँध थाम्ने आधा युवापिढी रक्सीसेवन र त्यसले निम्ताउने अनेकौं समस्या कारण घुँडा टेकीरहेका छन् ।

अर्को जमात पनि छन् । जो रक्सी उत्पादन गर्छन, बेच्छन र यसैबाट आर्थिकस्तर सुधारी रहेका पनि छन् । यी जनसमुदायमा पुजाआजा, संस्कार, संस्कृति र परम्पराको नाममा मदिरा प्रयोगले नियमितता पाएको छ । ‘परम्परा देखि चली आएको । खाँदै आएको कुरा । हामी किन नखाने ?’ काठमाडौंका स्थानीय नेवारी मुलका एक वयस्क रक्सी चढाएपछी देउता खुसी हुने बताउँछन् । उनी भन्छन्, “रक्सी खाएपछि काम फत्ते हुन्छ । मलाई काम गर्न जाँगर चल्छ ।” यस समुदायमा केहि यस्ता व्यक्तिहरु पनि छन्, जो मदिरा नपाए सुत्न सक्दैनन्, मदिरा बिना रात कटाउँदा हातगोडा काँपेको, बेस्सरी पसिना आएको, सास फेर्न नै गाह्रो भएको जस्ता शारीरिक र मानिसिक पीडा अनुभव गरेको बताउँछन् । जुन स्वाभिक पनि हो, लामो समय देखि रक्सी सेवन गरि आएका यी व्यक्तिहरु घरायसी रुपमै रक्सी उत्पादन गर्छन । पुस्तौं देखि रक्सी प्रयोग गर्दै आइरहेका उनीहरु आफ्नो जीउले कति रक्सी माग्छ, त्यसमा आफू प्रष्ट भएको बताउँछन् ।

सगुनका रुपमा आफ्नो समुदायले पारम्पारिक मान्यता दिएको यस पेय पदार्थ(घरेलु रक्सी)को उत्पादन, विक्री वितरणमा कानुन बनाई जबरजस्ती गरिरहेको र आफूहरुलाई सराकर विद्रोही बनाएको उनीहरुको तर्क छ । “जानेको नै रक्सी बनाउन हो । रक्सी नै बेच्न नपाए हामी के खाने ?” गुणस्तरीय नभएको भन्दै घरेलु मदिरा उत्पादन क्षेत्रलाई वैधानिकता नदिएर यस सरकारले आफ्नो व्यवसायलाई मात्रै होइन, जीवनयापन नै कष्टकर बनाएको रानीवनको भित्री बस्तीमा भट्टी संचालन गरिरहका ढकमान राइ(नाम परिवर्तन) बताउँछन् ।

“यी त ती हुन्, जसका बाउ रक्सी खादैनथे । दाइसम्मले खाएन । अहिले बिहान देखि साँझसम्म ऊ भट्टी छिर्छ । आफ्नो जीउले कति सम्म धान्न सक्छ, थाहा हुन्न । टिल्ल हुन्जेलसम्म खान्छ ‘ पुस्तौं देखि रक्सी खाँदै आइरहेकाहरु नवआगन्तुक निषेधीत जातीको ज्यादती देखि वाक्क दिक्क हुन्छ । ‘थोरै खाने । नियमित खाने नि बरु ।’ आफ्नो उत्पादनप्रति दोष लगाएको उनीहरु मन पराउँदैनन् ।

“रक्सी बनाउन पाइयो । बेच्न नि पाइयो । तर त्यसमा चप्पल नि हाल्या छ, मोजा पनि निचोर्या छ । पिसाब पनि राख्या छ ।” निषेधित जाती अर्को जमातको उछितो काट्छ । “पैसा तिरेर खानु छ यार गाँठे । सित्तैमा खुवाएँ झैँ पो गर्छन त यीनीहरु ।”

उद्दोग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको मदिरा उद्दोग सम्बन्धी अध्ययन उपसमितिले तयार पारेको एक प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा न्यूनस्तरको मदिराको अत्याधिक विक्री वितरण हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सन् २००८ मा सार्वजनिक गरेको एक तथ्यांक अनुसार मदिरा सेवन गर्ने कुल व्यक्तिमध्ये ८५ प्रतिशतले घरेलु र बाकिले कम्पनिबाट बनेका मदिरा सेवन गर्ने देखाएको थियो । हाल सोहि विभागले निकालेको तथ्यांकअनुसार ६० प्रतिशत घरेलु मदिरा खपत् हुँदै आइरहेको छ । जुन वार्षिक रुपमा स्वेदेशमै खपत हुने गरेको छ ।

नेपालले वार्षिक रुपमा ४० प्रतिशत ब्रान्डेड मदिरजन्य पदार्थ भारत, चीन, भियतनाम, थाइल्याण्ड, स्पेन, जर्मनी, स्कटल्याण्ड, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, अमेरिका, जापान, लगायतका विभिन्न २९ मुलुकबाट आयात गर्दै आएको भन्सार विभागको तथ्यांक रहेको छ । नेपालमा सामान्यतया वार्षिक झन्डै सवा करोड लाख लिटर(करिब २ खर्ब रुपैयाँको) मदिराजन्य पदार्थ कारोबार हुँदै आइरहेको भन्सार विभागको तथ्यांक छ । यस आँकाडाले बताउँछ कि, नेपाल दिनानुदिन मदिरामय बनिरहेको छ ।

मदिरा पुर्ण रुपमा घातक:

विगतमा थोरै मात्रामा रक्सी पिउँदा स्वास्थ्यलाई असर नपुग्ने तथा थोरै मात्रामा लिंदा औषधी हुने आम मान्यता विकसित भइसकेको थियो । तर ७ भदौ २०७५ मा अमेरिकाको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसन्(आईएचएमई)ले बेलायतको ल्यानसेट जर्नलमा प्रकाशित गरेको ‘मदिरा सेवन र १९५ देशमा यसको असर’ विषयक अध्ययनले मदिरा पुर्ण रुपमा घातक रहेको निष्कर्ष निकालेको छ । उक्त अध्धयनले मदिरा सेवनका कारण भविष्यमा मानिसको मृत्युको सम्भावना अत्याधिक रहेको पुष्टि गरेको छ ।

रक्सीचाहे सामान्य होस् वा ब्रान्डेड, घरेलु होस् या विदेशी, पिउनको लागि योग्य पेय कदाचित होइन । सात वर्षका बालबालिका देखि ७० वर्ष सम्मका वयोवृद्दहरु समेत रक्सीसेवनमा लाग्दा रक्सीको ह्यांगओभरले लड्खडाउँदै हिडिरहेको यस समाज कता जाने हो ? भन्न सकिंदैन ।

०००

०००

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्