Logo

अन्तिम दिनको प्रचारमा शीर्ष नेताको दौडधुप : आज कता कता पुग्छन् नेताहरु ?



Spread the love

4-dal-meeting

तीन जिल्लामा देउवाको व्यस्तता
काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । काँग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौँको असन र बूढानीलकण्ठमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तीन जिल्लाको चुनाव प्रचारमा भाग लिन देउवाले हेलिकोप्टर प्रयोग गर्दै छन् ।

एमाले अध्यक्ष ओली चितवनमा
एमाले अध्यक्ष केपी ओलीले पनि बिहीबार भरतपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर र पोखरा–लेखनाथ महानगरमा काँग्रेस र माओवादीबीच तालमेल भएपछि एमालेले यी दुवै महानगरलाई प्रतिष्ठाको विषय बनाएको छ । अध्यक्ष ओली पनि पछिल्लो समय सत्तारुढ दलहरूप्रति आक्रामक बन्दै गएका छन् । बुधवार मात्रै उनले काठमाडौँमा आयोजित कार्यक्रममा एमालेलाई मत नहाल्नुपर्ने कारणबारे सार्वजनिक बहसमा आउन सबैलाई चुनौती दिएका छन् ।

चितवन र काठमाडौँमा प्रचण्ड
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार काँग्रेस र माओवादीको संयुक्त आयोजनामा चितवनको भरतपुरमा हुने सभालाई सम्बोधन गर्दै छन् । भरतपुर महानगरबाट प्रचण्डपुत्री रेणु दाहाल मेयरको उम्मेदवार बनेकी छिन् । बिहीबारै उनी काठमाडौँका दुई चुनावी सभामा पनि सहभागी हुने कार्यक्रम छ । दिउँसो नागार्जुन र साँझ कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँ इन्चार्ज लेखनाथ न्यौपानेले बताए ।

रामचन्द्र पौडेल
नेता रामचन्द्र पौडेलले पनि बिहीबार लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाका सभालाई सम्बोधन गर्दै छन् । केन्द्रीय सदस्य शेखर कोइराला पोखरामा र कल्याण गुरुङ चितवनमा खटिएका छन् ।

माधव नेपाल
नेता माधव नेपालले उपत्यकाका कागेश्वरी, महालक्ष्मी र कीर्तिपुर नगरपालिकाका सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै झलनाथ खनालले काठमाडौँमा, वामदेव गौतमले पोखरा र ईश्वर पोखरेलले चितवनका सभालाई सम्बोधन गर्नेछन् ।

नारायणकाजी श्रेष्ठ
नेता नारायणकाजी श्रेष्ठ गृहजिल्ला गोरखामा खटिएका छन् । त्यस्तै, नेता बादल भरतपुर, देव गुरुङ पोखरा, पम्फा भुसाल ललितपुर र हितमान शाक्यले काठमाडौँ महानगरपालिकाको निर्वाचनमा पार्टीको कमान्ड सम्हालेका छन् ।

भट्टराई र कमल थापा पनि व्यस्त
नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पाँच दिन गृहजिल्ला गोरखाका चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्केका छन् । बिहीबार उनले उपत्यकाका चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, स्थानीय चुनाव आफ्नो पक्षमा पार्न राप्रपा अध्यक्ष कमल थापा पनि जिल्ला दौडाहामा छन् । तीन दिनदेखि उनी गृहजिल्ला मकवानपुरमा खटिएका छन् ।

आचारसंहिता अक्षरशः पालना गर्ने दलहरूको प्रतिबद्धता

मतगणना तत्काल हुन्छ : आयोग
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन ऐनको व्यवस्थाअनुसार पहिलो चरणको मतदान सकिएलगत्तै मतगणना हुने बताएका छन् । आयोगले बुधवार दलहरूसँग गरेको छलफलमा नयाँ शक्ति पार्टी, सङ्घीय समाजवादी फोरमलगायतले दुवै चरणको निर्वाचन सकिएपछि मात्रै मतगणना गर्नुपर्ने सुझाव दिएका थिए । तर, यादवले भने, ‘कानुन बनाउने तपाईँहरू नै हो, अनि हामीले त्यहीअनुसार काम गर्दा प्रश्न उठाउनु भएन ।’

यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्