Logo

कार्यक्रम: प्रहरी मेरो साथी सुरु



Spread the love

असार, २९

नागरिकसँग सम्बन्ध सुधार गर्ने उद्देश्यले नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सुरु गरेको छ । सोमबारदेखि देशभरि एकैपटक कार्यक्रमको सुरुवात गरिएको छ । काठमाडौंमा गृहमन्त्री शक्ति बस्नेतले कार्यक्रम उद्घाटन  गरे । प्रहरी मेरो साथी संकेत चिह्न अनावरण र कार्यक्रम समुद्घाटन गर्दै गृहमन्त्री बस्नेतले यो कार्यक्रमले नागरिकलाई पनि उत्तरदायी बनाउने बताए । यो कार्यक्रमपछि प्रहरी मेरो साथीबाट हाम्रो साथी बन्ने उनको भनाइ थियो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जनताको अपेक्षा र प्रहरीले प्रदान गरिरहेको सेवाको बीचमा देखापरिरहेको खाडल हटाउन कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘जनताको अपेक्षाअनुसार प्रहरीले सेवा दिन सकेको छैन, जनताको अपेक्षा र प्रहरी सेवाबीच ग्याप छ,’ अर्यालले भने, ‘यो ग्याप कम गर्न यो सानो प्रयास हो ।’ अभियानले प्रहरी र नागरिकबीचको सम्बन्ध थप बलियो बनाउने उनले विश्वास व्यक्त गरे । अब प्रहरीमाथिको आदेशको भरमा नभई कानुनको आधारमा निर्देशित हुने अर्यालको भनाइ थियो । संस्कृतिविद् सत्यमोहन जोशीले विद्यालयको पाठ्यक्रममा नै प्रहरीबारे अध्यापन गराउनुपर्ने बताए । कार्यक्रममा १८ असारमा धादिङको री गाविसको चेप्राङ गाउँमा पहिरो गइरहेका वेला स्थानीयको उद्धार गर्ने दुई प्रहरीलाई सम्मान  गरिएको थियो । पहिरोमा फसेका अपांगता भएका बालबालिकासहित १४ जनालाई सकुशल उद्धार गर्ने प्रहरी हवल्दार रुद्रबहादुर कुमाल र प्रहरी जवान सन्दीप कुमाललाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको हो । साहसिक काम गरेबापत उनीहरूको बढुवाको प्रक्रियासमेत अघि बढेको छ । कसरी बन्ने प्रहरीको साथी ? स्कुल र समुदायलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले बताए । स्कुलमा गएर सुरक्षा र प्रहरीबारे प्रहरी अधिकारीले पढाउनेछन् । अहिले पनि विभिन्न जिल्लामा पढाउने गरिएको छ । अब निश्चित पाठ्यक्रम नै बनाएर प्रहरीले एकरूपता ल्याउने उनले बताए । त्यस्तै, समुदायमा गएर अन्तक्र्रिया तथा जनचेतना कार्यक्रम गरी सम्बन्ध सुधार गर्न लागिएको छ । प्रहरीको साथी बन्न चाहनेले एउटा फर्म भर्नुपर्छ । त्यस्तो फर्म भर्नेलाई प्रहरीले आफ्ना कार्यक्रममा सहभागी गराउँछ । सुरक्षा स्थापनामा पनि उनीहरूसँग सहकार्य गरी यस्तो कार्यक्रम सुरु गर्न लागिएको हो । प्रहरीको साथी बन्ने सबैको रेकर्ड केन्द्रीय डाटामा रहने डिआइजी जोशीले जानकारी दिए । ‘यसले प्रहरीको इन्टेलिजेन्स पनि बलियो हुन्छ,’ डिआइजी जोशीले थपे, ‘नागरिकसँगको सम्बन्ध पनि सहज हुन्छ ।’ ट्राफिक, महिला तथा बालबालिका सेवा केन्द्रले पनि नागरिकसँग सहकार्य गरी काम गर्दै आएकोमा अबदेखि प्रहरी मेरो साथी कार्यक्रममार्फत नै त्यस्तो कार्यक्रम हुनेछन् । कार्यक्रमको अवधारण डिएसपी विश्व अधिकारीको हो । कार्यक्रमका लागि सरकारले यो वर्षका लागि करिब ५० लाख रुपैयाँ बजेट दिएको थियो । आगामी आर्थिक वर्षदेखि भने थप योजनासहित कार्यक्रम लागू गरिने प्रहरीले जनाएको छ । आजको नयाँ पत्रीकामा खबर छ।

प्रतिक्रिया दिनुहोस्