Logo

महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय उद्घाटन



Spread the love

 

२९ जेठ, काठमाडाैँ – खोटाङको नुनथलामा स्थापना गरिएको महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको हिजो औपचारिक शुरुआत गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको प्रदेश १ को बहुउद्देश्यीय प्राविधिक शिक्षालको उद्घाटनमा अबको शिक्षा विकास, सुशासन र विज्ञान तथा प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने बताए ।

“हाम्रो देशमा राजनीतिक परिवर्तनसँगै धेरै क्षेत्रमा परिवर्तनहरू भएका छन्”, उनले भने, “शिक्षामा अहिलेसम्म कुनै परिवर्तन भएको छैन, अबको शिक्षा सीपमूलक हुनुपर्छ भन्ने नेपाल सरकारको अवधारणअनुसार सातवटै प्रदेशमा एक÷एक वटा बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोलिएको हो ।”

आफ्नो क्षेत्रमा स्थापना भएको बहुउद्देश्यीय प्राविधिक शिक्षालयलाई फलाउने÷फुलाउने जिम्मा जिल्लावासीको भएको भन्दै उनले मन्त्रालयको तर्फबाट गरिने सहयोगमा कुनै कमी हुन नदिने बताए । “बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङमा स्थापना हुनु जिल्लावासीको निम्ति अवसरको विषय हो” उनले भने, “यो शिक्षालयमा जिल्ला बाहिरका विद्यार्थीहरू पनि आउने भएकाले उनीहरूका लागि खाने÷बस्नेलगायतका भौतिक पूर्वाधार विकासमा जिल्लावासीले ध्यान दिन जरुरी छ ।”

आङ्गिक क्याम्पसको रूपमा स्थापना गरिएको बहुउद्देश्यीय प्राविधिक शिक्षालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सीटीईभीटीका निर्देशक विनयकुमार मिश्रले नुनथलामा स्थापना भएको बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा यस वर्ष भौतिक विकासका कामहरू शुरु हुने बताएका छन् । यसअघि विद्यार्थी अभावमा नुनथलास्थित जालपा माविमा गाभिएको विद्यालयको भवनमा सञ्चालित शिक्षालयमा अहिले वन प्राविधिकअन्तर्गत डिप्लोमा तहका २० र छोटो अवधिका २४० जना विद्यार्थी अध्ययनरत छन् ।

वन प्राविधिक, कृषि तथा पशु भेटेनरी, अनमी तथा अहेव, ओभरसियर, प्लम्बर, मेसनलगायत विभिन्न विषयमा पठन–पाठन गर्ने गराउने उद्देश्यले स्थापना गरिएको बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा आगामी वर्षदेखि थप विषय अध्ययन÷अध्यापन गराइने सञ्चालक समितिले जनाएको छ । प्राविधिक शिक्षा आर्जनका लागि वातावरणीय हिसाबले उपयुक्त मानिएको नुनथलामा बहुउद्देश्यीय प्राविधिक शिक्षालय सञ्चालनमा आएपछि विद्यार्थीहरू पनि यसप्रति आकर्षित भएका छन् ।

नुनथलामा नेपाल सरकारको लगानीमा बहुउद्देश्यीय प्राविधिक शिक्षालय स्थापना हुने भएपछि स्थानीय ११ जना दाताले करोडौँ मूल्य पर्ने ६८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । मध्यपहाडी लोकमार्गमा पर्ने नुनथलामा स्थापना गरिएको बहुउद्देश्यीय प्राविधिक शिक्षालयका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गा दातालाई उद्घाटन कार्यक्रममा शिक्षामन्त्री पोखरेलले सम्मानपत्र प्रदान गरेका छन् ।

नेपाल सरकारको आर्थिक वर्ष २०७३÷०७४ को स्वीकृत वार्षिक कार्यक्रमानुसार प्रदेश १ को खोटाङमा बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोलिएको हो ।

प्रतिक्रिया दिनुहोस्