Logo

७२ घरपरिवारलाई खानेपानी



Spread the love

२९ जेठ , बनेपा। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ ।

खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आयोजना सम्पन्न गरेपछि मङ्गलबार उद्घाटनपश्चात समुदायलाई हस्तान्तरण गरिएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश सांसद बसुन्धरा हुमागार्इंले समृद्धिको मुख्य आधार अर्थोपार्जन भएको र त्यसका लागि च्यासिङखर्कको कामीडाँडा निकै सम्भावना बोकेको क्षेत्र भएकाले अब खानेपानी उपलब्धसँगै तरकारी खेती गरी अर्थोपार्जनमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कोष विकास समितिका सामाजिक संसाधन विकास महाशाखा प्रमुख टीका अधिकारीले खानेपानी उपलब्ध भएपछि सरसफाइदेखि बालबच्चाको स्वास्थ्य र खाद्यान्नमा सुधार गर्दै सुखी जीवनयापन गर्नमा ध्यान दिन आग्रह गर्नुभयो । परोपकार प्राथमिक उपचार केन्द्रका अध्यक्ष डा सङ्ग्रामसिं लामाले समुदायको अर्थपूर्ण सहभागिताबाट नै खानेपानी आयोजना सम्पन्न भएको उल्लेख गर्दै सहयोगी संस्था रहुन्जेल चल्ने र संस्था गएपछि योजना पनि तहसनहस हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सो वडाका खलङ्गाडाँडाका स्थानीय बासिन्दा सनीमाया तामाङले वर्षौदेखि झेल्दै आएको खानेपानी अभाव अहिले आएर पूरा भएकामा खुशी व्यक्त गर्नुभयो ।

अब खानेपानी ओसार्नकै लागि समय छुट्याउने दिन गएको उहाँले बताउनुभयो । पहिला पानी अभावकै कारण वस्तुभाउसमेत धेरै पाल्न नसकेको उहाँको भनाइ छ । अर्का स्थानीय बासिन्दा जगतबहादुर तामाङले आउने÷जाने गर्दा तीन घण्टा हिँडेर घरदेखि तलको सिमसिमखोलाबाट पानी उपलब्ध गराएकामा अब आँगनमै पानी आएपछि धेरै सहज भएको बताउनुभयो ।

करीब पाँच किलोमिटर टाढा रहेको महाभारत लेकबाट पानी ल्याई सो भेगका ७२ घरपरिवारलाई स्थानीय जनश्रमदानसहित गरी करीब रु ५२ लाखको लागतमा सो खानेपानी उपलब्ध गराइएको छ ।

–––रासस

प्रतिक्रिया दिनुहोस्