Logo

गलबन्दीले ल्याएको नयाँ लोक तरङ्ग



Spread the love

गायक प्रकाश सपूत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गलबन्दी’ गीतले सर्वाधिक चाँडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाइसकेको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ । कुनै पनि गीतलाई भ्युजको आधारमा मुल्यांकन गरिनु त राम्रो कुरा हैन तर यसले भ्युज मात्र हैन दर्शक-श्रोताको माया र वाहवाही पनि उत्तिकै पाइरहेको छ । प्रकाश सपूत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख १६ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब २६ हजार बढीले गीतलाई राम्रो भन्दै कमेन्ट गरेका छन् ।

किन अत्यधिक मन पराईयो ‘गलबन्दी’लाई ?

‘गलबन्दी’ करिब २ हप्तादेखी लगातार सबैको मनमुटुमा गुन्जिरहेको छ । बच्चा, वयस्क देखी बुढाबुढी सम्म सबैले यसलाई अत्यधिक मन पराइरहेका छन् । यसअघि ठीक एक वर्षअघि नै आएको ‘बोल माया’ ले सांगीतिक क्षेत्रमा ठूलै उथलपुथल ल्यायो । परदेसिएका पतिको शव कफिनमा बन्द भएर आएपछिको अवस्थामा विरह भाकामा व्यक्त उक्त मार्मिक लोकगीतले धेरैको मन छोयो । उक्त गीत त्यसताक युट्युबको पहिलो नम्बरमा समेत लामो समय ट्रेन्डिङमा रह्यो । उनै प्रकाशले दुई महिनाअघि पनि अर्को गीत ‘दोहोरी ब्याटल’ ल्याएका थिए ।

उक्त ब्याटल दोहोरीको दुई महिनापछि नै गायक सपूतले एकाएक ‘बोल माया’ ल्याएर आफ्नो सांगीतिक फ्यानमाझ बनेको छवि नै बदलिदिएका थिए । त्यसपछि फेरि ल्याए, ‘दोहोरी ब्याटल २’ । पछिल्लो दुई महिनाभित्रै उक्त गीतले पनि युट्युबमा ९० लाख बढी भ्युज पाइसकेको छ भने ११ हजार बढी कमेन्टस् । डेढ महिना बित्न नपाउँदै उनै प्रकाशले यति बेला फेरि अर्को तहल्का मच्चाएका छन्, ‘गलबन्दी’ मार्फत ।

शान्तिश्री परियार र प्रकाशकै गायन रहेको यस गीतको भिडियोमा पनि उनै प्रकाश र अञ्जली अधिकारी फिचरिङ छन् । भिडियोलाई ‘बोल माया’ कै कथाको प्रिक्वेलका रूपमा पनि ‘गलबन्दी’ को कथालाई रिलेट गरेर हेरेका छन् । ‘गलबन्दी’ बाटै प्रकाशले आफ्ना फ्यानलाई यसको सिक्वेलको पर्खाइमा पनि राखेका छन् ।

गीतको लय र शब्द निकै मीठो लाग्छ । सपुतले भिडियो निर्देशनमा पनि अब्बलता प्रस्तुत गरेका छन् । गीतको बीचबीचमा आउने गाउँले अन्दाजका घटना र कुराकानीहरू साह्रै सुन्दर छन् । संवाद एकदमै प्राकृतिक लाग्छ । अञ्जली अधिकारीको अबोध सुन्लेदरताले गीतलाई अझ हेरीरहुँ लाग्ने बनाएको छ । उनको लजालु प्रस्तुतिले सबैको मन कटक्क पारेको छ । गीत हेर्दा लाग्छ, मानौं यो गीत होइन कुनै सचित्र गाउँको सुन्दर कोलाज हो । सपुतले सिंगो फिल्मभन्दा बढी कौसलता देखाएका छन् ।

गीतमा सपुतले दर्शक-श्रोतालाई इन्गेज गराइराख्ने हेतुले केही सुस्पेन्स इलिमेन्ट पनि राखेका छन् । बोल मायामा गर्भवती भएकी अञ्जलीले गलबन्दीमा बच्चा जन्माएर स्कुले बनाई सकेकी छिन् भने भिडियोको अन्त्यमा छोरालाई गाउँलेले लखेट्छन् । किन लखेट्छन् त गाउँलेले छोरालाई ? प्रकाशले त्यो कथा ‘बोलमाया – २’ मा देखाउने बताएका छन् ।

ट्रोलहरूमा ‘गलबन्दी’
‘ढिला आयो, कडा आयो’ । अहिलेको सबैभन्दा सुपरहिट लाइन हो यो । बाटो, बस, चिया पसल, दारु पसल, संसद, विश्वकप । कहाँ मात्र छैन यसको चर्चा ! बोलीचालीको भाषामा मात्र नभएर यो वाक्य सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा समेत निकै पपुलर भइरहेको छ ।

यता गीतले सबैको माया र प्रशंसा पाउँदै करोडौं भ्युज पाइरहँदा गीतका ट्रोलहरु पनि लास्टै हिट भइरहेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा वली र राष्ट्रपति विद्या देवी भण्डारीलाई जोडेर समेत भिडियोहरू बनिरहेका छन् । यही गीतमा प्रचण्डको नृत्यलाई पनि जोडिएको छ। भिडियोमा मात्र नभएर गलबन्दी गीत टिकटिकमा समेत लोकप्रिय बनेको छ।

गीतमा समावेश ‘ढिला आयो कडा आयो’, ‘क्या चित्त बुझ्ने भनिस् नि’, ‘हल्का ग्यास्ट्रिक’ लगायतका वाक्यले गीतमा थप मौलिपना र रौनकता भरेको छ । गीतमा केटाले तीन वटा अन्तरा भनिसक्दा पनि केटीले कुनै जवाफ नदिएको र ढिलो गरी दिएको जवाफमा एक वृद्धाले ‘ढिला आयो तर, कडा आयो’ भन्ने वाक्य नै सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा ‘ढिलो आयो कडा आयो’ नामका ग्रुपसमेत खोलिएका छन् । फेसबुक पेज खोलिएका छन् । कतिसम्म भने अहिले चलिरहेको विश्वकप क्रिकेटका समर्थकहरूले आफ्नो टोलीको समर्थनमा यही ट्रोल बनाएका छन् । बुधवार भएको भारत र दक्षिण अफ्रिका विरुद्धको खेलका क्रममा नेपाली फ्यान ‘प्रवीण’ले व्यक्त गरेको ‘भारत ढिलो आयो कडा आयो’ भन्ने भनाइलाइ क्रिकेटको लाइभ कमेन्ट्रि साइट इएसपीएन क्रिक इन्फोले ‘नेपाल ट्रेण्डिङ’ भइरहेको भनाई भन्दै उल्लेख गरेको छ । फेसबुकमा ढिलो आयो कडा आयो भन्दै फोटो क्याप्सनहरू पनि राखिएका छन् ।

‘गलबन्दी’ माथि दर्शक-श्रोताको प्रतिक्रिया
‘नेपालको इतिहासमा बाजी मार्ने गायक, नेपाली सपूत प्रकाश सपूत’ देवदास बूढा नामक युजर्सले कमेन्टमा लेखेका छन् । क्रिस भाइ लेख्छन्, ‘र्‍याप, पप मात्रै सुन्ने गर्थें तर यो गीत सुनेपछि चाहिँ अब केटो लोकदोहोरीमा लाग्यो ।’

भूपेन्द्र ठकुरी लेख्छन्,‘अञ्जली लास्टै मन पर्‍यो । जति सिम्पल त्यति ब्युटिफुल । एक्सप्रेसन लोभ लाग्दो ।’

त्यसैगरी ‘रुटिन अफ नेपाल बन्द’ ले राखेको पोष्टमा कमेन्ट गर्दै तेजेन्द्र कवँरले लेखेका छन्,”यो गीत त मलाई हिन्दी फिल्म ‘शोले’ जस्तै लागेको छ । प्रत्येक शब्द देखी चरित्र सबै सुपरहिट ।”

प्रकाश सपूतको सांगीतिक प्रतिभाबाट प्रभावित भई घनश्याम भण्डारीले ‘एउटा मान्छेमा कति धेरै खुबी । कहिले नचाएको छ, कहिले रुने बनाएको छ, कहिले सुनिरहूँजस्तो’ भनी टिप्पणी गरेका छन् ।

चोरीको आरोप
गलबन्दीले चौतर्फी प्रशंसा पाइरहँदा धेरैले शम्भु राईको ‘आऊ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको कपी भनेर आरोप लगाएका छन् । कतिपयले भने गीतको सुरुको लय मात्रै उस्तै रहेको समेत उल्लेख गरिरहेका छन् ।

‘मेरो गीतसँग मिल्यो भनेको गीत मैले भर्खरै सुनेकाे हुँ, योभन्दा पहिले मैले गीत सुनेको पनि थिइनँ । गीतको लय थोरै मिलेको रहेछ,’ गलबन्दी सर्जक सपूतले भनेका छन् ।

अन्त्यमा,
लोक भाका हाम्रा आफ्ना भाका हुन् । यिनमा हाम्रो माटो र यहाँका जराहरको सुगन्ध लुकेको हुन्छ । तर हामी लामो समय देखी कस्तुरी बनेर भौतारिरहेका छौं । ‘गलबन्दी’ले ढिलै भएपनि हाम्रो सुगन्ध चिन्ने शक्ति हामीलाई प्रदान गरेको छ । यस मानेमा पनि यो नेपाली लोक सांगीतिक क्षितिजको एक कोशेढुङ्गा साबित हुने देखिन्छ । सर्जक प्रकाश सपुतलाई असीम सुभेक्षा ।

प्रतिक्रिया दिनुहोस्