Logo

सुमन स्मारिकाका तीन कविता



Spread the love

वि.सं. २०४९ सालमा टिकापुर, कैलालीमा जन्मिएकी सुमन स्मारिकाको पहिलो संयुक्त गजल संग्रह (कैफियत, २०७३) प्रकाशित भइसकेको छ । स्मारिका प्रयास गजल मन्च, टिकापुरको संस्थापक अध्यक्ष समेत हुन् । साथै, उनी सुदुर पश्चिमाञ्चल गजल मन्चको संस्थापक सदस्य समेत रहेकी छन् । मूलतः कविता र गजल लेख्दै आइरहेकी स्मारिकासँग हामीले समकालीन साहित्य वृत्तको बारेमा कुराकानी गरेका छौं ।

प्रस्तुत छ, सल्लेरी कोलाजका लागि कवि तथा गजलकार स्मारिकासँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- भनिन्छ नि, एउटा राम्रो कविता माथि एउटा राम्रो समालोचनाको आवश्यकता पर्दछ । फेरि एकातिर समालोचकहरु पुराना कविका कविताहरु मात्रै समातेर बसिरहेका छन् । अर्कोतिर कविहरु कविता लेखेर बसिरहेका छन् । कविताबारे उत्ती बोल्न रुचाउँदैनन् । कत्रो द्वन्द्व हगी ? यो विषयमा के भन्न चाहनुहुन्छ ?

स्मारिका- राम्रो कुरा आफैमा राम्रो हुन्छ । उसलाई राम्रो नराम्रो भनिरहन जरुरी हुन्न । युगलाई नयाँ पुराना हर-कुराको आवश्यक छ । मौनता भन्दा ठुलो अर्को कुन आवाज, शक्ति र द्वन्द छ र ?

राजु- तपाईको कविताको केन्द्र के हो ? परिवर्तित देश, सांस्कृतिक विकृती, आन्दोलित मन या नैतिक मूल्यको स्खलन ? कविता लेखन कार्य कत्तिको चुनौतीपूर्ण लाग्छ ? सहज पनि छ र ?

स्मारिका- मैले कविता लेख्नै जानेकी-सकेकी छैन । कविता लेख्ने कोसिस भने जारी छ । तर कविताको केन्द्र, देश, जाती, संस्कृति या वर्ग आदि मात्रै चाहिँ हुनुहुन्न भन्ने लाग्छ । कवितालाई केही मान्नै पर्ने नियम भित्र राखी स्वतन्त्र छाडिदिउँ । कुनै पनि कुरामा निश्चित नियम भएन भने त हाम्रो देश जस्तै लगाम विहीन, सभ्यताहीन र छाडा भइगयो नि ! हैन र ?

राजु- जीवन-संघर्षको अर्को पर्यायवाची शब्द ‘कविता’ हो भन्ने गर्दछन्- कविहरु  तपाईं के भन्नु हुन्छ ? तपाईको लागी कविता के हो ? कवितालाई कसरी अर्थाउनु हुन्छ ?

स्मारिका- कविताले जीवन मात्रै बोल्दैन । देश, काल, समय, परिस्थिति, युग आदि धेरै थोक बोल्छ । कवितालाई यति साघुँरो नमानौँ या नबनाउँ कि ?

०००

प्रस्तुत छ सुमन स्मारिकाका तीन कविता:

पहिलो कविता

शृगांर 

उडाइदेऊ रगंहरु, नुरहरु

चुँडिदेऊ फुलहरु

निभाइदेऊ तारा जून

बन्द गरिदेऊ धुन

फुटाइदेऊ ती चुरा

नदेखाऊ अबिर

नदेखाऊ त्यो ऐना

तोडीदेऊ पाउजु

पुछिदेऊ गाजल

मेटाइदेऊ मेहेन्दी

च्यातिदेऊ बिन्दी

सुकाइदेऊ लाली

चुटाइदेऊ पोते

जलाइदेऊ आँचल

पोखिदेऊ सिन्दुर

म अहिले श्रृंगार गर्दिनँ

मेरो देश बिधवा भएको छ !

०००

दोस्रो कविता

घर छोडेपछी …….!!!

प्राणनाथ,

तपाईको घर, तपाईको महल

तपाईको मन्दिर छोडेको दिन

आमाको गर्भ च्यातेर निस्केपछिको

मेरो जिन्दगीको आजादीको

जितको दोस्रो दिन थियो ।

 

तपाईको घर इज्जत र संस्कारको

चाबी तपाईलाई नै थमाएर

हिडेपछि म तपाईहरुका

लागी वेश्या, पतिता, नर्तकी

के-के धेरै थोक भएकी थिएँ

त्यो भन्दा पहिले म तपाईको

घरकी देवी थिएँ, सीता थिएँ ।

 

मलाई याद छ प्राणनाथ ,

एक जमाना म हजुरका लागी

दुनियाँ कि एक मात्रै असल श्रीमती थिएँ ।

 

म त्यो समय पनि खुब सम्झिन्छु प्राणनाथ,

मसँग जिन्दगीले नराम्रोसँग

पासा खेल्दै थियो

मृत्यु घाँटीमा आएर बसेको थियो

मेरो साँस मेरो थिएन

एकएक पल मलाई मानौं कुनै

काट्नै नसकिने युगको भयानक

सफर जस्तै लाग्दै थियो

त्यस्तो दरिद्र अवस्थामा पनि

तपाईं आफैंले आफैलाई राक्षस

हुनबाट रोक्न सक्नु भएन

या

कुन्नि रोक्न चाहनु भएन ।

 

म कसरी भुल्न सक्छु प्राणनाथ त्यो रात,

पर सरेर गोठ गएकी म

मेरो म दुखेर भाडमा मुर्छा

परेर छट्पटाई रहँदा तपाई

फेरि जनावर हुनुभएको

तपाईं फेरि सैतान हुनुभएको…

 

म तपाईकी श्रीमती थिएँ

अर्धांगिनी थिएँ

तपाईलाई हर-हालतमा प्रसन्न गराउँनु

मेरो कर्तव्य थियो, दायित्व थियो

 

तपाईले मलाई मनमर्जी

जति च्याते पनि लुछे पनि

नङ्गाइए पनि

त्यो रात भन्दा पहिले

कहिल्यै लागेन कि म कुनै

कमसल सामान हुँ…निर्जीव वस्तु हुँ…

 

तर

त्यो रात पहिलो पटक

मलाई लाग्यो कि

म तपाईकी

एकलौटी पैसा नपर्ने वेश्या हुँ…

 

प्राणनाथ,

घर छोडेपछि अचेल मलाई

तपाईंबाट खोसेको मेरो

आफ्नै एक मुठ्ठी स्वतन्त्रता

केही कमजोर सपना र,

घाइते रहरहरुले बाहेक

कसैले लुट्न सक्तैन, च्यात्न सक्तैन

च्यात्दैन ।

०००

तेस्रो कविता

आधुनिक शिक्षित आईमाई ! 

बिहानैदेखी निक्कै फुर्तिली

र,

जाँगरिली देखिएकी उसले घरको काम

उज्यालो नहुँदै सकी, सकी

आफ्नो व्यक्तिगत साफसफाई

सासूससुराको पुजापाठ

छोरीहरुको चियाखाजा/स्कुल

पतिदेवको अफिस तयारी

‘बेब्बो’ यानी उसको दाईजोमा

आएको ज्याप्निज कुकुरको खाना

सबै—सबै—

कामवालाहरुलाई दुई चार दिन नआउनु भनेकी छ

“पब्लिक हेल्थ” को चार वर्षे कोर्स

गरेकी आधुनिक शिक्षित आईमाई ऊ,

आज ड्युटी गइन

हिजै छुट्टी लिएकी छ

हिजो ड्युटीबाट फर्किदाँ

एक जोगीबाट केही ओखती ल्याएकी थिई

उसकी सासुसँग मिलेर,

त्यो बिहानै खाली पेटमा लोग्नेको पैतलामा

छुवाएर खाइसकी

बरु अहिले ऊ पार्लरबाट सिंगारिएर

मिति सकिएर कुनै छाडा बजारको

सस्तो भाउमा राखिएकी गुडिया

जस्ती भएर आएकी छ

ऐनाका अघि बसेर बेस्सरी उन्मादिएर

घरी आफ्नो हातमा

रहेको महँगो अमेरिकन घडी हेरिरहेकी छ

घरी घरको गेट तर्फ नजर फ्याकिरहेकी छ

सायद लोग्नेको व्यग्र इन्तजार छ….

किनकी,

चेतनामा भ्रमको पुरानै पर्दा लगाएर

विवाह पछि ६ औँ छोरी पछि ऊ

आज राती सातौँ पटक सुत्दैछे

आफ्नो श्रीमानसँग

उसको स्वर्गको ढोका खोलिदिने

महापुरुष अर्थात् छोरो पाउनैका लागि ।

०००

०००

प्रतिक्रिया दिनुहोस्