Logo

फन्को



बिस्तारै जन्मैदेखि अदृश्य चितामा मन्द निदाइरहेको एक झिङ्गे मानुष ।

जब कुनै नमिठो वास्तविकताबाट मेरो नग्न स्वप्न प्रताडित हुन्छ । अनि मात्र म सम्झन्छु, आफूबाट निस्केर अरूलाई, आफ्नालाई । तर जसरी अरूको छैन । हो त्यसरी नै मेरो पनि केही अस्तित्व छैन- अरूको लागि ।

के ठान्छस् म ? के संसार तेरो चिन्तामा पुरै रात अनिदो रहन्छ ?

मले मानोस् या नमानोस् म केवल मध्यरातमा निन्द्राबाट बिउँझिएर, वास्तविकताबाट बच्न कसैले गरेको असफल प्रयासको एक प्रतिनिधि पात्र मात्र हो ।

आफ्नै सह-मित्रको ठेलम-ठेलबाट अनपेक्षित तवरले झरिरहेका पानीका थोपा जसरी विलीन हुन्छन्- पाइखानाको कालो सुरुङमा । त्यसरी नै म पनि झर्नेछ अनिश्चितताको सुरुङ भित्र । खोक्रो जीवन बोकेर । खुलेका दुई आँखामा एक थोपा जमेको आँसु सहित ।

“ए ! मानिस म”

के पाल्छस् सपना, तुच्छ रहर ! जब निदाउनु नै तेरो नियति हो भने ।

बाहिर सिमसिमे पानीका थोपाहरू सडकलाई बिस्तारै हिर्काउँदैछन् । झ्यालको चेपबाट म देख्छु हतार-हतार हिँडेका मान्छे र मौन भिजेको सडक । म पनि दौडिरहेको हुन्छु प्रत्येक दिन सहरका कुना कुना । तर न यो सहरलाई मेरो खाँचो छ, न यो सहरले मेरो खाँचोलाई औँल्याउन सकेको छ । तथापि वर्षौँदेखि विना कुनै गुनासो यो सहर र म एक अर्कोलाई व्यहोरी रहेका छौ ।

एउटा अमूर्त जलन छ । चिसो पानी पिउँछु कतै म भित्रको जलन केही कम हुन्छ कि ?

दुई गिलास रित्याउँछु ।

अहँ ! कति कमजोर छ पानी ? केवल रुझायो, मत्थर भएन । यी बादलका आँसुहरू केवल रुझाउँछन् आवरणलाई । भित्र चाहना, रहर, महत्त्वाकांक्षाको कहिले ननिभ्ने तातो घाम सल्केको छ । हुरहुरती ।

सल्काउँछु चुरोट, पार्दछु स्वाट्ठ-स्वाट्ठ । केही फुक मार्दछु । अहँ ! अर्थहीन धुँवा । यो अर्थहीन आगो । यी सुर्जेका आफन्तीहरु पनि जलाउँछन् केवल आवरण मात्र । भित्र पीडा, कुण्ठा, वेदनाको गहिरो तलाउ छ । कहिले नसुक्ने कुरूप तलाउ । उसो त म पनि एकाबिहानै दर्पणको अगाडि सजाउँछु आफ्नो शरीर । मोड्दछु आवरण र दिन भरी रुमल्लिन्छु आवरणहरूसँगै । फगत सुन्दर आवरणसँग ।

नसुतेको रात सायद सबेर अलिक अबेर हुने गर्दछ । हेर्दछु दर्पण छेउ । आवरण मस्त निन्द्रामा छ । झिँजो मान्ला, म झैँ ऊ पनि अल्छी जो छ । भो उठाउँदिन । आवरण बिना निस्कन्छु सह-बासबाट फुत्त, आफ्नो थोत्रो शरीर कोचेर रेन-कोटभित्र । आँखा अघि अर्धनग्न सडक टुपुल्किन्छ । म हिड्दैछु नहेरी त्यो । छेउलागि चराहरू गन्दै । यी मैला बादलहरूलाई फुऽऽ गरेर उडाउँन मिल्दैन ?

अचानक कसैले समात्छ गोल्डस्टारको जुत्ताको बिर्को लगाएका मेरा खुट्टा खुट्टा । यो सहरमा जुत्ता भन्दा मुनि को बस्छ ?

उ त्यही हो, सहरका अतिक्रमित फुटपाथमा लड्देको भोको पेट । जो सुताई आफ्नो दरिद्र ढाड माग्दछ भोक मेटाउने ट्याबलेट । नेपाल राष्ट्र बैङ्कले छापेका कागजी ट्याबलेट । छन त मलाई पनि अनन्त, भोक छ । के म पनि एकछिन सुती हेरुँ ? तर म भर्खरै उठेको मान्छे । जो पेटमा भोक भन्दा धेरै, आँखामा लाज बोकेर हिँड्ने गर्दछ । म सक्दिन सुताउन आफूलाई ।

छाम्छु आफ्नो खल्ती । कम डोजको ट्याबलेट रहेछ । जसले मेटाउन त के, छोप्न नि सक्दैन मेरो भोक ! फ्याँक्छु म उसको अवस्था झैँ कुरूप भाँडोमा फुत्त ।

उ घुर्दछ मलाई, म मौनवत छिर्दछु शून्य सहर तिर…

लड्खडाउदै शून्यताको सहरमा म गुनगुनाउँदै अर्थहीन सम्वाद आफैसँग बढ्दै छु । निरन्तर खोज्दैछु एक सृजनशील परिपक्व हात, जसले टाल्न सकोस् मेरो पंचर भएको हृदय । जहाँबाट फुस्किन्छन् डुङ्डुङ्ती गनाउने भावनाहरू ।

“कस्तो गन्हाउने यो सहर । फोहर त तह लगाउनु नि ।” – एक स्त्री आवाज आउँछ ।

सहर होइन । मान्छे गन्हाएको हो । कुहिएको रहर गन्हाएको हो । सहर पसेर मरेको गाउँको सिनो गन्हाएको हो । – म यति बोलेपछि उ स्त्री म तिर फर्कन्छे ।

मास्क झुन्डाएको कानमा, चस्माका लामा खुट्टाहरू जबरजस्ती घुस्रिएका । मास्कमा पहेँलो रङको स्माईली स्टिकर । स्माईली स्टिकर भन्दा स्माईलिङ अनुहार मन पर्छ मलाई ? मास्क कल्चर मानव सभ्यताको साइड इफेक्ट हो । यो मेरो मान्नु हो ।

मेरो कुराको समर्थन, असमर्थन केमा उसको अनुहार चलमलायो मैले ठम्याउन सकिन ।

“गन्हाउने कुहिएको चिज त डस्विनमा फ्याँक्नु नि । कस्तो गन्हाउने मन ।”- उ प्याच्च भन्छे ।

म बाट एक लट क्रोध युक्त हावा फुस्कन्छ । मलाई थाहा छ म गन्हाएकै भए पनि मिल्काइ हाल्नु पर्ने अवस्था आइसकेको छैन मेरो । मेरा इमोसन भन्दा यहाँ वरीपरीको सामाजिक फिगर, एन्टिक मान्यताहरू, रुग्ण चिन्तनहरू, पोलिटिकल मस्तिष्कहरू, परिपाटीहरू र इत्यादि-इत्यादिहरू बढी गन्हाउँछन् । सके तिनलाई मिल्काऊ। न सके चुपचाप सास फेर । कुनै दिन समयले मिल्काउँछ ।

म ऊतिर मुख फर्काएर सोघ्छु – तिमी को हौ ?

ऊ- म पार्ट टाइम कवि हुँ । वास्तवमा म यहाँ तिमीलाई कविता सुनाउन आएकी ।

म- पार्ट टाइम कवि भए फुलटाईम चैँ के गर्छ्यौ ?

कवि- फुल टाइम म फुल टिप्ने काम गर्छु । सहरका पेटीहरूमा झरेका पैतालाका फुल टिप्नु र बेच्नु मेरो काम हो । हिँड चिया खाऊँ ।

हामी नजिकको चिया घर भित्र छिर्छौं र टेबल नं ०४ मा आमने सामने हुन्छौं । ऊ मुखमा झुण्डाएको मास्क निकाल्छे । ओठमा हल्का गुलाबी रङ्ग मुस्कुराउँछ । म सोच्छु कस्तो होला त्यो ओठको वासना । बस् त्यस क्षणमै एक जना कालो वर्णको केटो सेता दाँत लिएर सामु खडा हुन्छ ।

मतिर फर्केर सोध्छ– के लिऊँ सर ?

कवि- लिने ? दिने केही छैन भाइ हामीसँग । मिल्छ भने बरु एक थान सपना सापटी देऊ ।

भाइ- मेरो मेनुमा सपना बाँकी छैन मिस । उम् ! मेरा बिपनाहरूको सुकुटी छ लिनु हुन्छ ?

कवि- सरी म भेज मात्र लिन्छु ।

म तिर फर्केर गुलाबी मुस्कुराउँछे, जुन मलाई सराबी लाग्दछ ।

म ‘काल भाइ’ आई मिन ‘कालो वर्णको भाइ’ सँग दुई गिलास कालो चिया मगाउँछु । ऊ कालो चियाको माग सुनेर जान्छ । म कवितिर नजर लाउँछ । गहुँ गोरो अनुहारमा टपक्क फुलेका उसका कत्थकी आँखाहरू स्थिर देखिन्छन् ।

म कुरोमा कुटो लगाउँछु- अत ! हामी यहाँ किन छौ ?

कवि- आफ्नो फन्को लगाउन ।

(तर मेरा नजर उसको स्तनमा अल्झेका छन्)

म- खै ?

कवि- कविता लेख्नु पर्छ ।

मेरो नजर र कविता यसरी अगाडि बढ्छ क्रमशः

भिख
निदाइरहेको नाबालक छोरीलाई
रत्नपार्कको पुलमा
एकाबिहानै कुच्चिएको भाँडो सँगै
बेवारिसे छाडेर
थुप्रिएको चिल्लरले
जब दिनमा एक प्लेट म:म खान्छे एउटी आमा ।
तब ऊ बेस्सरी रुन्छे, गर्भपतन गर्न नसकेकोमा !!

०००

निधार भरी घाम बसुन्जेल
चोकमा बसेर
अरूका जुत्ता छातीभरि टाँसेर
तिमीले कमाएको पैसा
सुटुक्क झिकेर हिँडेको
तिम्रो छोरो
गाँजा गनाउँदै
खाना खान डेरामा आइपुग्ने बेला भयो।
सार्की दाइ,
के तिमीले आफ्नो चप्पल सिलायौ ?

कविताको ‘क’ नबुझ्ने मलाई भाउन्न छुटेर आयो । बोल्नु भन्दा सहज नबोल्नु छ छैन ? बोल्नेलाई कसैले बोल् भन्न पर्दैन । नबोल्नेलाई बोल भनरर हुँदैन ।

म जान्ने भए र भनें– त्यो सहर तिमी र हामी हौं । होइन र ?

कवि- हामी होइन `म´ हो । जब सम्म म ले म हुनुको अर्थ र औचित्य बुझ्दैन तब सम्म `त´ दोषी ठहरिन्छ ।

म भित्रको म चुप छ वा म भित्र म छ छैन ? एकछिन आँखा बन्द गर्नोस्, म चिच्यारहेको हुनसक्छ मगज भरी ।

“सर कविता ! हैन हैन कालो चिया”- काल युवक हातमा २ कप कविता लिएर हाजिर हुन्छ । आई मिन कालो चिया ।

“सरी भाइ यो समय मुना चियाको होइन, बरु जाऊ लोकल ल्याऊ ।”

अचानक आएको नयाँ आवाजले मेरो ध्यानाकर्षित गर्दछ । देख्छु एउटा दुब्लो ज्यान, वजनदार कपाल, छातीमा मुगाको माला र तुर्लुंग झुसे अनुहार, कविलाई गर्लाम्म अङ्गालो हाल्दछ ।

कवि- कता बाट चित्रकार ?
चित्रकार- बाटै बाटो सोझै यतै ।

टेबलमा लापरबाहीले एन्टिक झोला थचार्छ । मतिर संकेत गर्दै सोध्छ- तपाईँ को ?

“उहाँ मुख्य चरित्र, पाठक वा दर्शक उहाँ `म´ हुनुहुन्छ ।” – कवि मुस्कराई धाप मार्छे मलाई ।

चित्रकार- “इन्ट्रेस्टिङ ! खैर उसो त म पनि म हो । तर अचेल म सँग मेरो सम्बन्ध बिछेद भएको छ । सो आइ एम नट सर्चिङ माइसेल्फ बुझ्नु भो ?

म नबुझेझैँ हुन्छु ।

चित्रकार- खैर न नबुझ्नु बुझ्नु भन्दा राम्रो हो । इट्स गुड फोर योर हेल्थ मिस्टर म ।

यति भनेर ऊ मेरो अनुहार पनि नहेरी कवि तिर फर्किन्छ । कविको हात समातेरै ऊ छेउमै उभिएको काल युवक तिर फर्कन्छ र चिच्याउँछ– ए भाइ लोकल लेऊ भनेको किन ठिङ्ग उभिरा ? ताला लाग्यो कि क्या हो कानमा ?

हाम्रो कुरा सुन्नमा मग्न काल युवक हठात सेता दाँत आफ्ना बैजनी ओठले छोपी हस् सङ्केत दिदैं कालो पर्दाले छोपिएको कोठी भित्र कोचिन्छ । लगत्तै तीन गिलास र एक भरिलो जग लिएर आउँछ । लोकल हाजिर गर्छ र फर्कन्छ ।

स्थिति यति रफ्तारले बदलिन्छ कि म रनभुल्लमा पर्छु । कहाँ चिया र कहाँ रक्सी । नजर घुमाउँछु । टेबल नं- १, २ र ५ मा रक्सी उम्लिदैछ । खै त टेबल न ३ ? अनुमान लाउँछ सायद भित्र कतै कुनै कुरूप ऐतिहासिक समय त्यही टेबल नं ३ कुइनो टेकाएर सपनाको पेग लाउँदै होला । बिपनाको सुकुटीमा लपेटेर ।

तर कस्तो अचम्म है ! सहरमा चिया घरहरू कति चाँडै भट्टी घरमा रूपान्तर भई दिन्छन् । कस्तो जादु छ यो घरमा, यो सहरमा । धन्न, टेबल नं ०४ नै रहेछ बसेको टेबल, म केही ढुक्क झैँ हुन्छु ।

सामान्तरमा बसेका कवि र कलाकार हातमा गिलास लिन्छन्, ठोकाउँछन् र चित्रकार चिच्याउँछ- ह्याप्पि बर्थ डे !!!

जन्मोत्सव कसको ?

आश्चर्यमा परी कवि र म ऊतिर प्रश्नात्मक नजर लाउँछौं ।

चित्रकार- माई डियर कवि, कोही न कोही त जन्मेका होलान् । जन्मदै होलान् यस-पल यस-क्षण । तिनैको जन्मको खुसीमा पिउँन आज, कि कसो मिस्टर म ?

उ मतिर फर्की मुस्कराउँछ । तर मेरो पिडामा मात्र पिउने बानी छ ।

चित्रकार- इन्ट्रेस्टिङ ! उसो भए मिस्टर म तपाईँ चैँ यसो गर्नुहोस् । यस पल, यस क्षण कोही न कोही मरेको वा मर्दै होला त्यही पिडामा पिउनु होस् । ऊ बेसरी हाँस्छ । म मुस्कुराउँछु । हस् सङ्केतले गिलास उचाल्छु ।

कवि- कुरा गर्न निकै माहिर भएछौ !

चित्रकार- समयको लीला हो सब ।

कवि- खेर अचेल के गर्छौ ?

चित्रकार- किताब पढ्छु ।

कवि- पढ्न पो थालेऊ ? कुन किताब ?

चित्रकार गिलास उठाउँछ र एक सासमै रित्याउँछ अनि गिलास तिर सङ्केत गर्दै भन्छ- भर्खरै पढें एक गिलास किताब ।

ऊ जुरुक्क उठ्छ, एन्टिक झोलाबाट एक रोल क्यानभास निकाल्छ र मेरो हातमा हस्तान्तरण गर्छ र गर्विलो स्वरमा भन्छ- ओ मिस्टर म, यो तिमीलाई उपहार मरो तर्फबाट ।

यसमा तिमी आफ्नो वर्तमान लेख्नेछौ ।

लेखकबाट थपः

पुरानो साथी

म चकित नजर कवितिर लाउँछु । ऊ सामान्यतया असामान्य तवरले मुस्कुराई बोल्छे- वा लेख्न सक्छौ आफ्नो मृत्युकाव्य ।

चित्रकार झोला भिर्छ, कविलाई अँगालो हाल्छ र फेरि भेटौला भन्दै विलय हुन्छ ।

म हातमा सेतो क्यानभास र आधा गिलास किताब ओठ छेउ अडाएर अवाक् ती गए तिर हेरी रहन्छु । कवि र चित्रकारको आकार बिस्तारै घुमिल हुन्छ । चित्रकारको उपहार टेबलमा फैलाउँछु । माथि आधा गिलास किताब राख्छु । यस पल सहरको कुनै गुमनाम भट्टीमा म सेतो क्यानभाससँग संवाद गर्दैछु ।

क्यानभास- ओ मिस्टर म त पनि सेतो हृदय थिस् म जस्तै । मेरो अनुमति बिना जसरी त आफ्नो टुटे फुटेको भावनाहरू कुचीले चोपेर जबर्जस्ती पोत्छस् मेरो सादा मनमा । हो ! त्यसरी नै तँमा पनि पोतिदैछ संस्कृति, रितिरिवाज, जिम्मेवारीको कुचीमा जबर्जस्ती माया, मोह, घृणा, प्रेम, सम्मोहन चोपेर । हेर् ! अनि सजाइएको छ तँ र तँ जस्तै करोडौँ अनुहार सामाजिक सभ्यताको भित्तामा । वेअर्थी मूल्याङ्कनको आधारमा खोक्रो जिउँदो पनको ट्याग भिराई ।

तर भावले भिजेको क्यानभासको भाव समेट्छु प्याला भरी अनि स्वाट्ठ पार्छु निर्लज्ज भई बाध्यताको सितन चपाउँदै र फुत्त निस्कन्छु भरी प्याला बोकी । अहिले म त्यहाँ छिरेको छु जहाँ अक्सर प्रकाश छिर्न डराउँछ । सहरका आदिम गल्ली ।

तर अचम्म यो कस्तो छाया ? उज्यालो छाया ! जो मेरै आकृतिमा हिँड्दै छ मसँगै । म रोकिन्छु, उ रोकिन्छ ।

म- को हौ तिमी ?
उ- म म हु ।
म- म पनि म हुँ ।
उ- हैन तिमी म हौ ।
म- तिमी म भए म को हुँ ?
उ- के जानू म ? तिमी त्यही खोज्न हिँडेका हैनौ र ?

यो प्रश्नले म घोर आश्चार्यमा पर्छु ।

म कहाँ हरायो, के म म हराएरै हिडिरहेछु यसपलसम्म ? आखिर मैले मलाई, आफूलाई गुमाए त कहाँ ?

कुन सडक, कुन सहर, कुन गल्ली कुन घर वा कुन माटोमा हरायो म ? कुन भूगोल, कुन परिवेश, कुन सिमानामा छुट्यो म ? कुन पल, कुन समय, कुन घडीमा गुमाए आफूलाई ?

अन्योलमा रहेको म आवेगमा प्याला फ्याँक्छु, फुट्छ, छरपस्ट हुन्छ । उ बिचमा बोल्छ- हेलो मिस्टर म, प्याला त ऐना झैँ हो । प्रतिविम्ब हो । ऐना फुटाउँदैमा अनुहार बदलिन्छ र ? बरु सक्छौ भने फ्याक खोक्रो जिउँदो पन र हेर आफूलाई । अनि बिलुप्त हुन्छ ।

हेर्छु आफुलाई केवल संकिर्णता, अहमता, अहङ्कार, लालसा, महत्वाकांक्षाले भरिपूर्ण मगज भएछु । मलाई आफ्नै उपस्थितिप्रति, अवस्थाप्रति घृणा पलाउँछ ।

अँध्यारोबाट अचानक चित्रकार देखा पर्छ । यो के ? उ बेलेको छ धप्प । सर्वाङ्ग नग्न छ । उसको आलिङ्गनमा छे नग्न कवि । बलेकी छे उ पनि । देखा पर्छ नग्न काल युवक तर पित उज्यालो छ उसको देह । देखा पर्छ दरिद्र भिखारी बलेको र नग्न छ उ पनि । कतैबाट एकोहोरो तानपुराको आवाज आउँदै छ मगजलाई खिज्याउन । सबै नग्न तेज देहहरू सुस्तरी मेरो नजिक आउँछन् । खप्परमा प्रश्नहरू एक फन्को लाउँछ । मेरो भयभीत प्रश्नात्मक अनुहार देखेर चित्रकार छेऊ आइ बोल्छ- नडराउ हामी तिमी हौं ।

म हुँ तिम्रो मन । यी कवि हुन्- तिम्रो स्मृति । उ ‘काल युवक’ तिम्रो छाँया र उ बुढो भिखारी तिम्रो आशा । र तिमी हौ हाम्रो समग्र वर्तमान ।
यथार्थमा हामी मुर्दा छौं र भेटिएका छौं ।

उसको कुरा सुनेर म आफू मुर्दा झैँ लाग्छ । जसको आफैमाथि आफ्नो नियन्त्रण छैन । जसको अस्तिवको आभास म आफैलाई छैन । जो केवल जीवन र मृत्युको घेराबन्दीमा सकिन्छ, जो अनिस्चयको फन्को मै सकिन्छ । म एक म झैँ म लाई नियाल्छु र सामु मुस्कुराईरहेका मेरो महरूलाई नियाल्छु ।

म चिच्याउँछु- ए ! मेरा छरपस्ट महरू, के अब म जिउँदो हुन सक्दिनँ ?

चित्रकार विजयी स्वरमा सम्बोधन गर्छ- सम्भव छ मिस्टर म ! आऊ हामी आफूमा समाहित हौं आऊ । अब जिउँदो हौ हामी । पर्ख हामी तिमी भित्र छिर्छौं । म जड हुन्छु, म खाली हुन्छु । केही विचार मोह, माया, आबश्यक्ताका केही निशानी भेट्दिन मनमजगमा । अचानक सबै ४ नग्न देहहरू धूप झैँ उज्याला हुन्छन् । गल्ली सम्पूर्ण उज्यालो हुन्छ र सम्पूर्ण उज्यालो मेरो छाती हुँदै मुटु भित्र पस्छ ।

सहर अचानक एक हल्ला धुँवा भन्दा बाक्लो गरी फैलिन्छ । सहरको पुरानो गल्लीमा एक नवचित्रकारको शव भेटिएको छ । सँगै भेटिएछ कलात्मक अक्षर लेखिएको क्यानभास र लेखिएको कुरा यस प्रकार थियो :

रसिक राज
म…बिस्तारै जन्मैदेखि अदृश्य चितामा मन्द निदाइरहेको एक झिङ्गे मानुष ।

०००

०००

ललितकलाबाट मास्टर इन फाइन आर्ट गरेका राज कविता, गजलका साथसाथै कथा लेखनमा सक्रिय छन् । आभा फर कृयटिभिटीका संस्थापक अध्यक्ष समेत रहेका राजको संयुक्त कविता संग्रह 'अनुहारको भिड' प्रकाशित छ !

प्रतिक्रिया दिनुहोस्