Logo

बलिउडको ‘ब्याड ब्वाई’ : मेरो ‘सन्जु बाबा’



बलिउड- जहाँ शुद्ध चलचित्रकर्मीहरूको सङ्ख्या बढी छ । दर्शक पनि बढी छन् । बजार ठुलो छ । फिल्म मेकिङका प्रविधिमा पनि बलिउड निकै अघि छ । प्रस्तुतिकरणको साथसाथै कथा भन्ने शैलीमा पनि बलिउड पृथकतावादी नै देखिन्छ । पब्लिसिटी पनि निकै खर्च गरिरहेको हुन्छ । पछिल्लो समय बलिउडले मुलुकभित्र मात्रै नभएर मुलुकबाहिर पनि चलचित्रप्रेमीहरूको अपेक्षा अनुरूपको फिल्म निर्माण गरिरहेको छ । पुराना ढर्राका चलचित्र हुन् या नयाँ ढर्राका, बलिउडले विश्व बजारमा आफ्नो गर्विलो उपस्थिति जनाउँदै आइरहेकै छ ।

बलिउडलाई पछ्छाउने जमातमा नेपालीको अग्रसरता रहेकै हुन्छ । ‘नेपाली हेरिन्न, हिन्दी छोडिन्न’ भने धेरै भेटिन्छन् । एकसाथ नेपाली र हिन्दी फिल्म चलिरहेकै छन् । साथै कहिलेकाहीँ त यस्तो पनि हुन्छ, कुनै चल्न सक्ने  हिन्दी फिल्म रिलिज हुने दिन नेपाली फिल्मले आफ्नो रिलिज डेट जुधाउँदैन ।

एकातिर हिन्दी फिल्मले दर्शक पनि तानिरहेकै छ । अर्कोतिर नेपाली फिल्मको नाम सुन्ने बित्तिकै नाक खुम्चाउने तन्नेरी जमात बाक्लो छ । नेपाली फिल्म तन्नेरीहरूको नजरमा दिनानुदिन गिरीरहेकै छ । नेपाली फिल्मलाई लिएर तन्नेरीहरू नकारात्मक छन् । हलिउड, बलिउडका कलाकारका नाम, घरपरिवार, गाडी, लवाइखवाइ, जिम जाने आउने समय देखि लिएर तिनका फिल्म रिलिज हुने डेट, फिल्मले कति कमायो सम्म उनीहरूलाई ज्ञात हुन्छ । बलिउड र हलिउडका हरेक कुराहरू याद गरेर बसिरहेका तन्नेरीहरू नेपाली फिल्म कहिले रिलिज भयो, कहिले सकियो, कुन फिल्म हलमा चलिरहेको छ, फिल्मका को-को कलाकार छन्  केही अत्तोपत्तो पाउँदैनन् । हलिउड र बलिउडको बाढीमा पसेका तन्नेरीहरू किनाराकृत भएर मुन्टो उठाएर कलिउडलाई नियाल्ने कहिले होलान्, सोचनीय विषय बनिसकेको छ ।

म त्यस दिनको कुरा जोड्न चाहन्छु । साथी नवीन र म शंखमूल आसपास थियौँ । शंखपार्क बनेपछि म पुगेको थिइनँ । ऊ फिल्मको किरा नै हो । बलिउड त्यसमाथि पनि स्लो मुभी उसको रुचिको विषय हो । म बगिरहेको बागमतीमा तैरिरहेका हाँसहरूलाई हेरिरहेको थिएँ ।

उसले भन्यो,”याद छ नि तलाई ?”

मलाई धेरैकुरा याद थियो । तर के याद हुनुपर्ने हो त्यो याद थिएन ।

सोधे,”के ?”

“पर्सि शुक्रवार ‘सन्जु’ रिलिज हुँदै छ ।”

“छ” मैले भने । मलाई याद थियो । म सन्जु कुरेर नै बसिरहेको थिए ।

शुक्रवार मलाई नेपालगन्ज पुग्नुपर्ने भयो । बिहीबार साँझको नाइट बसमा थिए । मुग्लिन कट्दानकट्दै झमक्क भयो । बसको सिसामा बाहिरको दृश्य भन्दा बस भित्रकै दृश्यहरू देखिन थाले ।

कोही करायो “यार अब जाम सुरु भयो ।”

कसैले भन्यो,”यो गीत-सीत बन्द गरौँ । फिल्म लगाऔँ ।”

अर्को कोही फेरी बोल्यो,”नेपाली चाहिँ झुक्केर नि नलाउनू ।”

“साउथ मुभी होला नि ?” अझ अर्को बोल्यो ।

अन्ततः बजिरहेको म्युजिक भिडियो बन्द भयो । स्क्रिन कालो भयो । म फेरी झ्याल बाहिर हराएछु । ध्यान टिभी स्क्रिनतिर पार्दा सञ्जय दत्तको सुपरहिट फिल्म ‘मुन्ना भाइ एमबिबिएस’ चलिरहेको थियो । निकै पटक हेरिसकेको भएता पनि यस फिल्म चलाइनुले म आक्रोशित भईनँ । मलाई झन् आफ्नो रुचि अनुरूपकै फिल्म पाएको झैँ भयो ।

प्रथमतः म सञ्जय दत्तलाई मन पराउने व्यक्ति । उनकै फिल्म चलिरहेको थियो । मैले झल्याँस्स नवीनलाई सम्झिए । भोलिदेखि उनैको बायोपिक ‘सन्जु’ प्रदर्शन हुँदैछ । ‘यता काम परेर आउनुपर्‍यो । जसरी हुन्छ समय निकालेर भोली यतै हेर्छु ।’ म यै सोचेर ‘मुन्ना भाइ एमबिबिएस’ हेर्न नै लागिरहें । सन् २०००३ मा रिलिज भएको यस फिल्ममा मुन्ना भाइ अर्थात् सञ्जय र सर्किट अर्थात् अरशदले निभाएको भूमिकाको म पनि प्रशंसक हुँ । यी दुईको रोल एकअर्काबिना आधा अधुरो जस्तै लाग्छ ।

सुनिल दत्त र नरगिस पुत्र सञ्जयले लागु औषध दुर्व्यसनीबाट छुटकारा पाउनका लागि एक लामो लडाई लडे । अवैध हातहतियार घरमा राखेको आरोपमा जेल निर्वासित पनि भए । दिनरात रक्सी पिउन थाले । विभिन्न महिलासँग डेट गर्न भ्याए । बलिउडका ब्याड ब्वाईका रूपमा चिनिए । ब्याड ब्वाई नामले चिनिएका सन्जयदत्तलाई ‘ब्याड ब्वाई  विथ सफ्ट हार्ट’ प्रमाणित गर्न  सजंय दत्तको पिता सुनिल दत्तको कठोर मिहेनत देखिन्छ । छोरा संजयलाई दुर्व्यसनीबाट निकाल्न बाबु सुनिल दत्तले गरेको कामको सबैले खुलेर प्रशंशा गर्ने गर्छन् ।  पिता सुनिलले गरेको मिहेनतको विभिन्न हिन्दी म्यागजिनहरुले ठुलो स्पेस दिएर लेखिरहेकै हुन्थे । म ती सामाग्रीहरुको निरन्त्तर पाठक थिए । अब त् झन उनकै जीवनीको बारेमा बनेको फिल्म रिलिज हुँदै छ । म निकै उत्सुक थिए । ‘मुन्ना भाई एमबिबिएस’ चलिरहेकै थियो ।

बिहान भर्खरै ब्युझेको थियो । सिक्टा सिचाई आयोजना भर्खरै छोडिएको थियो । कोहलपुर नपुग्दै मेरो आँखा विपरित दिशाबाट आइरहेको ट्रकमा ठोकियो । म शुरुमा त् खिस्स हाँसे । तर हासीसकेपछी भने म फेरी हास्न सकेन । मलाई कसोकसो पोल्यो । दुख्यो । छटपटी भयो ।  ट्रकको दायाँ साइटमा रणवीर कपुर निलो सर्ट र हल्का निलो जिन्स भित्तामा अढेस लागेर एक स्टाइलिस लुक्स म तिर फ्याकीरहेका थिए । उनको हात देखि तल ठुलो अक्षरमा लेखिएको थियो, एस ए एन जे यु अर्थात् सन्जु । ओह, झल्यास भए । ब्युझिन त म अमिलिया आइपुग्दा नै ब्युझीसकेको थिए । तर सो ट्रकलाई देखेर बल्ल मेरो निद्रा खुल्यो । ‘आज सन्जु रिलिज हुँदै छ ।’ मेरो मनले एकतमासले यसो भनिरह्यो ।

नेपाली नम्बर प्लेटधारी सो ट्रक हिन्दी फिल्मको प्रचार गर्दै थियो । ममा कसोकसो राष्ट्रभक्ती पलायो । यसभन्दा पहिले पनि मैले सार्वजनिक यातायातहरुले निधारमा हिन्दी फिल्मको नाम टासेंर हिडीरहेको देखेकै हो । तर त्यस दिन मैले आफ्नो मन अमिलो भएको पाए । ‘भारतीय सिनेमाको प्रभाव यति सम्म ?’, यो प्रश्नले मलाई चिमोटीरह्यो ।

यातायात व्यवसायमा मात्रै होइन होटल, क्याफे तथा ठाउँको नाममा  पनि भारतीय सिनेमाको स्पस्ट प्रभाव देखिन्छ । कुनै सिनेमाको रिलिज डेट सार्वजनिक भएयता देखि फिल्म हलमा चल्दासम्म बस, ट्रक, टेम्पो लगायतका सार्वजनिक यातायातहरु निधारमा सोहि फिल्मको नाम टासेंर हिडीरहेका हुन्छन् ।  धूम थ्री, जन्नत, बाहुबली, बाहुबली टू, दबंग, बर्डीगार्ड, हैप्पी न्यु इयर, परदेशी बाबु, राजा बाबु, सोले जस्ता भारतीय सिनेमाहरु नेपाली यातायातका साधनहरुमा लेखिएको त्यसभन्दा पहिले पनि मैले  भेटिरहेकै हो । तर त्यस दिन म विचलित हुन पुगे ।

सञ्जय दत्तको हिड्ने पोस्चर देखि लिएर बोल्ने तौरतरिकासम्म मलाई निकै मनपर्छ । मुन्ना भाइ, बल्लु, डेडली दत्त लगायतका नामले उनलाई अरुले बोलाए पनि म उनलाई ‘सन्जु बाबा’ नामले नै चिन्छु । मलाई कसोकसो यो नाम लिंदा उनको व्यक्तित्व प्रस्टसँग आए जस्तो लाग्छ ।  ‘मे आवारा हुँ, दो दिलों कि दास्तां, मोहोब्बत की दुश्मन, कानुन आपना आपना, हसिना मान जाएगी, खलनायक, लगे रहो मुन्ना भाइ, नेहले पे देहेला, वास्तव, धमाल, पिके लगायतका फिल्महरु मेरो मस्तिष्कमा एक-एक गरि चल्न थाले । कारकादों चोक आइपुग्दासम सन्जु बाबा अभिनित आफूले हेरेका फिल्महरुमै हराएछु । उनलाईलाई सम्झनामा उतै छोडेर आउँदा उनैको जीवनमा आधारित भएर बनेको फिल्मको पोस्टर टासीएको त्यस ट्रक कतै पर छुटीसकेको थियो । म ओर्लिएँ ।

०००

जुन २९, २०१८ मा रिलिज भएको ‘सन्जु’ले लगभग ५८७ करोड कमाएको अनुमान गरिएको छ । बलिउडको सर्वाधिक कमाउने चलचित्र मध्ये नवौं नम्बर हाल पनि यस फिल्मले आफ्नो स्थान ओगटीरहेकै छ । लगातार हिट दिँदै आइरहेका निर्देशक राजकुमार हिरानीले सञ्जय दत्तको जीवनीलाई ‘सन्जु; मार्फत पर्दामा देखाए । मैले  रिलिज भएको दिन नै ‘सन्जु’ हेर्न पाइन । घरायसी कामले मलाई यसै अल्झाईदियो ।

म काठमाडौं फर्किए । सन्जु हलमा चलिरहेको थियो । हेर्नेहरु आआफ्नो प्रतिक्रिया सामाजिक सञ्जालबाट जनाईरहेका थिए । मलाई अरु कसैको धारणा पढेर या सुनेर फिल्म जज गर्नु थिएन । मलाई फिल्म राम्रो नराम्रोसँग पनि मतलब थिएन । सन्जु बाबाको विगतको हर एक कुरा जान्नु थियो । उनी के खान्थे ? के ल्याउथे ? कोसँग हिड्थे ? साथिभाई कोको थिए ? संगत कस्तो थियो ? उनी ड्रग्स कुलतमा कसरी फस्न पुगे ? कसरी निस्किए ? लगायतका सयौं प्रश्नको उत्तर चाहिएको थियो मलाई ।

आफ्ना प्रश्नहरुको उत्तर भेट्ने आशामा म फिल्म हल भित्र छिरे । फिल्मसँगै बग्दै जाँदा मैले आफ्ना निकै कम प्रश्नको उत्तर भेटे । फिल्ममा सञ्जय कसरी ड्रग्सको लतमा फसे ? उनलाई कुन तरिकाले दोषी बनाइयो ? उनको आनाबानी के-कस्तो थियो? जीवनलाई हेर्ने उनको नजरिया कस्तो थियो ? साथीभाईसँगको उनको निकटता र विश्वासनियता कस्तो थियो जस्ता अनेकन् प्रश्नहरुको मैले उत्तर पाइन् । तर म रोकीइन । म घन्टौ इन्टरनेटमा बसेर सन्जु बाबाको बारेमा साँचो होस् या झुठो सबै उपलब्ध सामग्री पढ्न, हेर्न र सुन्न थाले ।

‘सन्जु’ मैले जान्न खोजेको भन्दा अलग कन्टेन्ट थियो । सञ्जय दत्त र सुनील दत्तको बीच कति गहिरो प्रेम साथै आत्मीय सम्बन्ध  थियो, फिल्म यसैमा फोकस्ड रहेछ । खराब आचरणका संजयलाई पिता सुनिलले जुन सुकै माध्यमबाट सहि बनाएरै छाडे । त्यसैको परिणाम हो – मुन्ना भाइ एमबिबिएस जस्ता सुपर हिट फिल्महरु । मिडिया देखि प्रहरी प्रशाशनसम्म संजयलाई गलत साबित गर्न लागिरहेकै क्षण पिता सुनिलले निभाएको भूमिकाले म निचोरीए । त्यस फिल्म हेरेर बाहिरिसकेपछी पिता सुनिल दत्तलाई आफ्नो न नजरमा धेरै माथि राखे । बाबु छोराको सम्बन्धको बारेमा पनि मेरो चासो बढ्न थाल्यो ।

त्यहि समय घन्टौ इन्टरनेटमा रहँदा मैले एक हिन्दी पोर्टल ‘न्युज एटिन हिन्दी’मा सञ्जय दत्त र सुनिल दत्तको बारेमा लेखिएको एक सामाग्री पढेको थिए । जुन पढेपछि सुनिल दत्त मेरो नजरमा अझ माथि बस्न सफल भए । यस सामाग्री पढीसकेपछी उनले बारबार  भनिरहने एक कुरा पनि प्रस्ट भएको मैले ठाने । “दुनियाको नजरमा मेरो छोरो ब्याड ब्वाई होला, तर मेरो नजरमा ऊ ‘सन्जु बाबा’ नै हो । मसँगसँगै उसले पनि आफूलाई सुधार्न निकै मिहिनेत गरेको छ ।”

०००

त्यो सन् १९७० को दिन हो । जसलाई सुनिल दत्त सायदै सम्झन चाहन्छन् । यो उनको महत्वाकांक्षी फिल्म मध्ये एक थियो । फिल्म निर्माण गर्ने सोच आउने बित्तिकै उनी निकै हतारिए । चाढै भन्दा चाढै उनी यस फिल्मको निर्माण कार्य सम्पन्न गर्न चाहन्थे । यो त्यस समयको कुरा हो, जब फिल्म ‘रेशमा और शेरा’को शुटिंग हुँदै थियो ।

एस सुखदेवले फिल्म निर्देशनको बागडोर सम्हाल्ने जिम्मा पाएका थिए । बताइन्छ कि, यस फिल्मले बलिउडलाई दुई होनाहार कलाकारहरुको जीवनमार्ग नै बद्लिदियो । अमिताभ बच्चन र विनोद खन्नाले पहिलोपटक एकसाथ कुनै फिल्ममा काम गरेका थिए भने त्यो यहिँ फिल्म थियो । यस फिल्म पछी दुवै कलाकारले एक पछी अर्को सुपरहिट फिल्म पाउँदै गए । दुवैले एकसाथ थुप्रै फिल्ममा काम पनि गरे । जसले बलिउडको जग मर्मत गर्ने काम गर्यो ।

यस फिल्ममा खलनायकको रूपमा देखिएका थिए – गोपाल बेदी । यद्दपी यस फिल्ममा उनको नाम बद्लियो । उनी रंजित नामले चिनिए । रंजित बलिउडमा एक समयका सबैभन्दा महान खलनायक हुन् । यो नै पहिलो फिल्म थियो, जहाँ राखी र वहिदा रहमानले एकसाथ काम गरेका थिए । यद्दपी यति धेरै रोचकता र प्रसिद्द कलाकारहरुको उपस्थिति रहँदारहँदै पनि फिल्म डुब्न पुग्यो । दत्त परिवार यहि फिल्मका कारण समस्याको चक्रव्यूहमा फसे ।

लेखकबाट थपः

सुर्य अस्त नेपाल मस्त

कलाकारहरुलाई राजस्थानमा राख्न तथा उनीहरुको खानपिन र कस्ट्युमको खर्च धान्न सुनील दत्तलाई हम्मे हम्मे नै परेको थियो । फिल्मको मुख्य कलाकार सुनील दत्त, वहिदा रहमान, विनोद खन्ना तथा न्युकमर अमिताभ बच्चनले पोचिना नामक एक सानो गाउँको एक कच्ची घरमा टेन्टमा सुतेर रातकटाएका थिए।

यस फिल्मको समयमा सन्जयदत्त, जो त्यस समय मात्र १२ वर्षका थिए, आफ्नो बोर्डिंग स्कुल सनावरबाट छुट्टीमा फिल्म शुटिंग हेर्न आएका थिए । उनी स्कुलबाट भागेर आफ्नो बुबालाई भेट्न फिल्म छायांकन भइरहेको ठाउँमा आइपुगेका थिए । त्यस समय फिल्मकै एक सिन ‘कवाली’को शुटिंग भइरहेको थियो । र, समय त्यहिँ थियो- जतिबेला सुनील दत्तको मनले भन्यो,”छोरा सन्जयलाई पहिलो ब्रेक दिन्छु । जस्तो त गर्ला ।” उनले छोरा सन्जयलाई कवालीको बीचमा बसाईंदिए ।  यो नै सञ्जय दत्तको पहिलो एक्स्पेरियन्स थियो । तर यससँगै सुनिलको यस फिल्ममा जस्तो कि ग्रहण नै लाग्यो ।

सुनील दत्तले फिल्मको पात्र छनोटमा नै भुल भएको मानें । उनी आफैले त्यत्रो मिहेनेत गरेको बनाएको भएयता पनि सुनील यस फिल्मबाट आफैं सन्तुष्ट थिएनन् भनिन्छ । यसपछी निर्देशक सुखदेवसँग पनि उनको मतभेद हुन् पुग्यो । फिल्म पारखीहरु  सुनील र सुखदेव बीचको यस मतभेदको श्रेय दिने गर्छन्, फिल्ममा खलनायकको भूमिकामा देखिएका गोपाल बेदी अर्थात् रंजितलाई । पछी सुनील दत्तले आफ्नै नेतृत्वमा फिल्मको शुटिंग पुन: दोर्हाए ।

यस ‘रि -शुट’का कारण फिल्मको लागत सय गुणा बढ्न गयो । यद्दपी ‘रि -शुट’ गरि रिलिज गरिएको यस फिल्मको फिल्म पारखी एवं समिक्षकहरुले खुलेर प्रशंशा गरे । कतिले त यो पनि भनें कि, ‘ यो फिल्म यस समयको लागि बनाइएको होइन । यो फिल्म भविष्यको लागि निर्माण गरिएको फिल्म हो ।’  भविष्यको लागि बनाइएको फिल्म आज हेर्नु जरुरत त के आवश्यकता नै छैन भन्दै केहिले यस फिल्म नकारे पनि । यस झट्का सँग दत्त परिवारको आर्थिक बोझ बढ्न पुग्यो । सुनील दत्तले एक इन्टरभ्युमा बताएअनुसार उनलाई ६० लाखको नोक्सान भएको थियो ।

यस फिल्मबाट संगीत क्षेत्रलाई ठुलो राहत मिलेको थियो । साथै संगीतकार जयदेवले राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका थिए । बताइन्छ कि जयदेवले आफू पुरस्कृत हुनुको पछाडी सन्जयलाई ‘लक्की चार्म’ मानेका थिए । तर पिता दत्तलाई भने यस फिल्मले ठुलो नोक्सान नै गराएको थियो । सुनील दत्त आफ्नो फिल्म करियरकै ‘ ब्याड चार्म’ यहि फिल्म  रहेको बताउने गर्दथे ।

सुनील दत्तको अनुसार,”मसँग तीन बच्चा र श्रीमतीको पनि जिम्मेवारी थियो । हामीसँग सात वटा गाडी थियो । जसमध्ये ६ वटालाई बेच्न पर्यो । हामीले आफ्नो घर बन्धकमा राख्न पर्यो । फेरी म कामको लागि बसबाट जान थाले । यो त्यहि समय थियो जसले मलाई पुन: जमिनमा ल्याइदियो ।”

सन्जयको माता नरगिस त्यस समय डबिंग थिएटर चलाउँदै थिइन् । सुनील दत्तको काम नचलिरहेको बखत नरगिसको काम चलिरहेको थियो । र, केही समय पश्चात् सुनील दत्तले हिरा, गीता मेरा नाम, प्राण जाए पर वचन न जाए तथा नहले पे दहला जस्ता केही सुपरहिट फिल्महरु पाए । ‘रेशमा और शेरा’ जहाँबाट सन्जयदत्तले डेब्यु गरे, विभिन्न कलाकारहरुको करिअरको शुरुवाती फिल्मको रूपमा चिनियो । जहाँबाट सन्जय दत्तको फिल्मी जीवन शुरु हुन् पुग्यो, सोही फिल्मले पिता सन्जय दत्तलाई भने नमिठो झड्का दियो ।

००

०००

 

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्