Logo

घरेलुले उठायो शतप्रतिशत राजश्व



Spread the love

३२ जेठ जाजरकोट । घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालय, जाजरकोटले यो वर्ष शतप्रतिशत राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा कार्यालयले रु २९ लाख ५० हजार राजश्व सङ्कलन गरेको छ ।

आव २०७५÷७६ मा नामसारी, खारेजी, पूँजी वृद्धि, कारोवार संशोधन, दर्ता तथा नवीकरण भएका उद्योग, वाणिज्य फर्महरुबाट रु २९ लाख ५० हजार राजश्व सङ्कलन भएको घरेलु साना उद्योग विकास समितिका अधिकृत चेतनाथ घिमिरेले जानकारी दिनुभयो । सानो जिल्लामा पनि ठूलो रकम सङ्कलन भएको कार्यालय प्रमुख घिमिरेको भनाइ छ ।

उहाँले गत आवभन्दा यस वर्ष शतप्रतिशतले राजश्व वृद्धि भएको बताउनुभयो । विषयगत कार्यालयले उद्योग दर्तालाई मुख्य प्राथमिकताका साथ अनुदानका कार्यक्रम सञ्चालनले राजश्वमा वृद्धि भएको उहाँको भनाइ छ ।

कार्यालयका कर्मचारी जिल्लाका सातवटै स्थानीय तहमा पुग्दा उद्योग दर्ता गर्नको लागि परामर्श दिएकाले अन्य वर्षको तुलनामा जाजरकोटको राजश्व वृद्धि भएको प्रमुख घिमिरेको भनाइ छ ।

आव २०७५÷७६ मा घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालय, जाजरकोटमार्फत गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्प) का लागि आएको चालूतर्फको एक करोड ६७ लाख ७९ हजार कार्यान्वयनको चरणमा रहेको कामु अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालयको नियमित तर्फको बजेटवाट उद्यमी सिर्जना तथा रोजगार कार्यक्रमअन्तर्गत, विभिन्न सीप विकास तालीमहरु सञ्चालन गरेको कार्यालयले जनाएको छ । उद्योग प्रवद्र्धन कार्यक्रमअन्तरर्गत समेत सीप विकास तालीम सञ्चालन गरिएको उहाँको भनाइ रहेको छ ।

जिल्लामा रहेका बेरोजगार ८० जना युवाहरुलाई उद्यमशीलता विकास कार्यक्रमअन्तरर्गत उद्यमशीलता विकास तालीम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सीप विकास तालीमबाट घरेलु कार्यालयले मात्र ५०० नयाँ उद्यमी सिर्जना गरेको घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरी घरेलु साना उद्योग विकास समितिले जिल्लाभित्रका उद्योगीलाई रु ३१ लाख मूल्यबराबरको प्रविधि ३४ जनालाई हस्तान्तरण गरिएको छ । आव २०७४÷७५ मा घरेलु साना उद्योग विकास समितिले रु १५ लाख ८४ हजार राजश्व सङ्कलन गरेको थियो । चौबीस लाख १३ हजार मूल्य बराबरको प्रविधि २३ जनालाई हस्तान्तरण गरिएको थियो भने रु दुई लाख ७४ हजार मूल्य बराबरको उपयुक्त प्रविधि हस्तान्तरण गरिएको थियो ।

–––रासस

प्रतिक्रिया दिनुहोस्