Logo

तपाईको डायरी र तपाईंले लेख्ने शायरीमा फरक हुनुपर्छ !



जावेद अख्तर– भारतीय कला, साहित्य र सिनेमाको एक अविष्मरणीय नाम हो । कवि, गीतकार तथा लेखक अख्तर भारतका सर्वाधिक चर्चित साहित्यिक हस्तीहरूमध्ये पर्छन् । उनी पद्मश्री, पद्मभुषण, उर्दुमा साहित्य अकादमी पुरस्कारका साथै ५ वटा राष्ट्रिय फिल्म अवार्डबाट समेत सम्मानित भइसकेका छन् । करियरको सुरुवातमा फिल्मको ‘स्क्रिप्ट राइटर’को भुमिकामा देखिए पनि उनले मुलतः गीतिलेखनमा उल्लेख्य ख्याति कमाए । उनका कालजयी शब्दहरूले शृङ्गारिएर बनेका गीतहरू अझैं पनि सबैका प्रिय बनेर गुन्जिरहेका छन् ।

यही जन्वरीदेखी ७६ मा लागेका अख्तरसँग सिनेमा, संगीत र जिन्दगीका घुम्तीहरूबारे मसाला डट कमका लागि सुबाश झाले गरेको कुराकानीको सल्लेरी कोलाजका लगि सम्पादित अंशः

स्क्रिप्ट राइटर र गीतकारको रुपमा तपाईंले तय गरेको ४५ वर्षभन्दा लामो अनुभवलाई फर्केर हेर्दा कस्तो अनुभव गर्नुहुन्छ ?

जिन्दगीको यो रफ्तारमा कैयौं दुख-सुख र सफलता-असफलताले सँगसँगै बुर्कुसी मारिरहे । तर समग्रतामा हेर्दा जिन्दगी निकै दयालु रह्यो । नढाँटेर भन्नु पर्दा, यी ४०-४५ वर्ष मध्ये झण्डै १० वर्ष त मैले यसै खेर फालें । अहिले लाग्छ कि त्यो समय म अलि अनुशाषित भएर काम गरेको भए, जिन्दगी अझ सार्थक हुने थियो । कैलेकसो साह्रै पछुतो लाग्छ । अहिले म त्यही समयको पुर्ती गरिरहेको छु । तर मलाई थाहा छ, म पक्कै असमर्थ हुनेछु । अहिलेको मेरो प्रतिष्पर्धा केवल म आफैंसँग मात्र हो ।

जावेद साब, तपाईंले युगौदेखि आम-मानिसमा पुग्न नसकिरहेको कवितालाई सबैमाझ पुर्याउनु भयो । खासमा कविता नै आम-मानिस कै लागि लेखिनुपर्ने हैन र ?

यदि तपाईंले लेखेका पंक्तिहरू आम-मानिसको हृदयसम्म गुन्जिन सक्दैनन् भने तपाईले त्यसलाई सार्वजनिक गर्नुको अर्थ के ?

कतिपय सर्जकहरू भन्छन्- “मैले लेखेको सृजना कसैले बुझे पनि-नबुझे पनि मलाई बाल !”

मेरो मान्यतामा चैं- तपाईको डायरी र तपाईंले लेख्ने शायरीमा फरक हुनुपर्छ ।

बलिउड संगीतको घट्दो स्ट्यान्डर्डलाई नियाल्दा तपाईंलाई कस्तो महशुस हुन्छ ?

तपाईको प्रश्नले मलाई लताजीले गाएको मेरो पहिलो फिल्मी गीत “ए कहाँ आ गए हम्…” झल्झली याद आउँछ ।

मलाई लाग्छ, फिल्मको कथामा गीतको अहम् भुमिका हुन्छ । यदि कथा नै कमजोर छ भने अरू कुरा राम्रो बन्ने त कुरै भएन । फलतः गीतहरू पनि कमजोर खालका बनिरहेका हुन्छन् । कागज के फुल, प्यासा या बैजु बावरा  का गीतहरू ती कथाका लागि मात्रै सम्भव थिए । ती गीतहरू अहिलेको फिल्मका लागि कुनैपनि माने राख्दैनन् । अहिलेका गीतहरू द्रुत अन्दाजमा बनिरहेका छन् र फिल्म निर्माताहरू यी गीतमा काव्यिक पंक्तिहरू राख्न डराउँछन् । किनकि उनीहरूलाई लाग्छ कि कतै पब्लिकले यी गीतलाई बाइपास त गर्दैनन् !

त्यसमाथि अहिलेका संगीतकार अक्सरले कविताको मर्म बुझ्दैनन् । त्यो बेलाका सचिन देव बर्मन हिन्दी बुझ्दैनथे तर उनको कविता ग्रहण शैली लोभलाग्दो थियो । समाज पनि सायद अर्कै दिशातिर जादैछ कि ! हामीलाई हाम्रो कला र संस्कृतिबारे निकै कम मात्र जानकारी छ । हामी अहिलेको पुस्ताले यसलाई बुझ्ने धैर्य नै राखिरहेका छैनौं ।

तपाईंका मनपसन्द/आइडल गीतकारहरूको नाम लिनुपर्दा कस-कसको नाम लिनुहुन्छ ?

शैलेन्द्र र साहिर लुधियान्वीले निकै दमदार गीत लेखेका छन् । उहाँहरूमात्रै किन ? मज्रु सुल्तानपुरी, जान निशार अख्तर, राजा मेहन्दी अली खान, भरत व्यास, प्रदीप, कैफी अज्मी, अहिले कै पनि अन्जान…उनीहरूले अद्वितीय गीतहरूको सृजना गरेका छन् ।

मेरा आफ्नै केही मान्यताहरू छन् । म के विश्वास गर्छु भने भाषा भनेको सञ्चारको लागि हो । गीत रचना गर्नुको अर्थ नै के रह्यो, यदि यसले श्रोताको मन छुन सक्दैन भने ! मेरो बुवा जान निशार अख्तर जीले भन्ने गर्नु हुन्थ्यो-“अप्ठ्यारा गीतहरू लेख्न धरै सजिलो छ, तर सजिला गीतहरू लेख्न धेरै गाह्रो छ ।”

तपाईका विचारहरूबारे तपाई आफै स्पष्ट हुनुपर्छ । ताकी त्यसलाई तपाई सजिलैसँग लेख्न सक्नुहोस् । यदि तपाई एउटा कालो अँध्यारो कोठाभित्र छिर्नु भयो र तपाईलाई बत्ति बाल्ने स्वीच थाहा छैन भने तपाई अन्धकारमै रुमल्ली रहनुहुनेछ ।

तपाईले किन स्क्रिप्ट लेखनीलाई चटक्कै माया मार्नु भएको ?

एकबेला मलाई के लाग्यो भने- म विस्तारै यान्त्रिक स्क्रिप्ट राइटर हुदैछुँ । मैले आफु मध्यस्थतातिर गइरहेको महशुस गरेदेखि नै मैले यो छोड्दिए । त्यसपछि मैले आफ्नो रुची र सबलता खोज्न थालें । अनि गीत लेखनको यात्रा सुरु गर्ने निधो गरें । म जब भित्रैदेखि प्रेरित हुदिनँ तबसम्म स्क्रिप्ट लेखनतिर हात नहाल्ने पक्षमा छुँ । धेरैपछि मलाई फरहानको फिल्ममा उत्साहित भएको छुँ । हेरौं के हुन्छ !

के तपाईं अहिलेका समकालीन फिल्म निर्माताहरू आशावान् हुनुहुन्छ ?

जब हामीसँग हार्नलायक कुनै पनि चिज बाँकी रहँदैन, त्योबेला पनि हामी आशावान् हुनैपर्छ नि ! (हाँसोऽऽऽ)

सञ्जय लीला भन्साली, जोसँग मैले अहिलेसम्म काम गर्ने अवसर त पाएको छैन, करण जोहर र आशुतोष गोवारीकर, मलाई एकदमै प्रतिभावान् लाग्छन् । टेक्निकल रुपमा बलिउडले धेरै फड्को मारिसकेको छ तर विषयषस्तुका हिसाबमा भने यसो भन्न सक्ने आँट गर्न हामी असमर्थ छौं । यसको मुख्य कारण हो- संस्कारको अभाव । पहिले हामीसँग मुल्य मान्यता, दर्शन थियो, जसको आधारमा हिरो र भिलियनको भुमिका छुट्टिन्थ्यो । तर अहिलेका फिल्म समाजभन्दा निकै पर गएर बनिरहेका छन् । यो निकै दुखको कुरा हो ।

अहिलेका सबै फिल्महरू रोमान्स, भुतका कथा, हत्या श्रृंखला र सेक्सबारे मात्रै बनिरहेको देखिन्छ । कुनै पनि फिल्मले सामाजिक मुद्दाको उठान गरिरहेका छैनन् । हाम्रो इतिहास र संस्कारबारे निकै धेरै फिल्महरू बन्नु पर्ने हो, जुन एकदमै न्युन छ । यसैकारण पनि मैले फेरी फिल्म लेख्ने आँट गर्दैछुँ । हेरौं !

०००

०००

 

 

 

 

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्