Logo

सरल सशक्त ‘मोहनदास’…



Spread the love

img_20170524_234040

“एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो- मोहनदास । वर्षौं प्रयास गर्दा जागिर पाउन नसकेपछि आफ्नै गाँउ फर्किएर खेती गरिरहेको मोहनदासले एक दिन थाहा पाँउछ, उसको शैक्षिक प्रमाणपत्रका आधारमा उसैको नाम धारण गरेर अरु कसैले नै उसको जागिर खाइरहेको छ । त्यसपछि सुरु हुन्छ उसको लडाइँ- आफूले पाउन पर्ने जागिर, आफ्नो नाम र प्रमाणपत्रको अधिकारको लडाइँ । यस लडाइँमा के उ सफल हुन्छ ?” -किताबको बाहिरी कभरबाट..

मोटामोटी रुपमा यहि कथालाई तन्काएर लेखिएको पुस्तक हो – “मोहनदास” । तर पुस्तक पढिनुपर्नेमा थुप्रै कारण छन् ।

कुनै पनि सृजना उत्कृष्ठ हुनका लागि प्रस्तुति शैलीको अहम भुमिका रहन्छ । संसारमा एकदमै फरक, नसुनिएका, नदेखिएका कथाहरु विरलै भेटिन्छन । त्यसैले धेरै सर्जकहरु कथावस्तु भन्दा पनि कथा सुनाउने मेसोमा मेहनत गर्छन । उस्तै कथावस्तु भएका तर भिन्न प्रस्तुतीका कारण चर्चित कृतिहरु खोज्ने हो भने लामै सुची भेटिएलान । कतै न कतै ‘मोहनदास’ त्यहि लामो सुचीमा औला तलमाथी गर्दा देखापर्न सक्छ । त्यसैले अलिकति फरक कथावाचन शैलीको स्वादका लागि पनि पढिनुपर्छ ‘मोहनदास’ ।        

कथा बगिरहन्छ । लाग्छ आजकलको समयको होईन ‘मोहनदास’ । उहिलेको हो । बाजेको बाजेको पालाको ।  तर त्यसै बखत अनुच्छेद बदलिन्छ । अनि यस्तो लेखिएको देखिन्छ…

(एक मिनेट यहिं पर्खनुहोस । तपाईंलाई लागिरहेको होला म हिन्दीका कथासम्राट मुंशी प्रेमचन्दको एक सय २५ औं जयन्तीको अवसर पारेर समकालीन कथाको नाममा कुनै सवा सय वर्ष पुरानो किस्सा सुनाईरहेको छु । तर सत्य के भने, पुरानो शैलीको यो कथा सेप्टेम्बर ९/११ घटित भइसकेको समयको हो …)

यस्ता थुप्रै अनुच्छेदहरु आँउनेछन जसले तपाईलाई घच्घच्याउने चेष्ठा गर्छन । कि यो भर्खरैको कुरा हो ।

कथावाचन शैलीसँगै कथाले पनि तपाईको प्रभाव पार्ने छ । हाम्रै छिमेकी देश भारतको कुनै स्थान परिवेशमा आधारित छ मोहनदासको कथा । कथाले सामाजमा घटेको एउटा गहकिलो पाटोलाई झल्काउने प्रयास गरेको छ । तर कथा धेरै घुमाउरो र लामो नभएकाले, कहिकतै पढिसक्दा थ्रिलिङ अनुभवको कमि भने खड्किन सक्छ । त्यसका बावजुत वास्तविक जिवनमा आधारित घटना  भएको कारण पनि यो पढिनुपर्ने पुस्तकतिर ढल्किन जान्छ ।

भारतिय लेखक उदय प्रकाशको यो कृतिलाई नेपालीमा चलचित्र समिक्षक तथा लेखक यज्ञशले अनुवादित गरेका हुन । सन २००६ मा प्रकाशित मोहनदासका लागि उदय प्रकाशले भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए । भलै पछि त्यो अवार्ड फिर्ता गरिदिएका थिए । थुप्रै भाषामा अनूदित उनको यस लघु उपन्यासमाथि चलचित्र पनि बनेको छ ।

मोहनदास

लेखक  : उदय प्रकाश

अनुवादक : यज्ञश

प्रकाशक : फाइन प्रिन्ट बुक्स

 पृष्ठ संख्या : १०३

मूल्य : रू २२२ /-

 

   

प्रतिक्रिया दिनुहोस्