Logo

एमालेविरुद्ध प्रधानमन्त्रीको आक्रोश



Spread the love

pushpa-kamal-dahal-prachanda_650x400_81468312367

दस महिनाअघि नेपाली काँग्रेससँग गठबन्धन बनाई पालैपालो नेतृत्व गर्ने लिखित समझदारी र हालैका सार्वजनिक अभिव्यक्तिलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार प्रधानमन्त्री पदबाट राजीनामा गर्नुभएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

मङ्गलवार नै व्यवस्थापिका संसद्मार्फत राजीनामा घोषणा गर्ने दाहालको योजनालाई प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध गर्ने चेतावनी दिएर असफल बनाएपछि सञ्चारमाध्यममार्फत जनतालाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो । सम्बोधनलगत्तै दाहालले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउनुभएको थियो । राष्ट्रपति भण्डारीले दाहालको राजीनामा स्वीकृत गरिसक्नुभएको छ ।

करिब आधा घण्टा लामो सम्बोधनमा दाहालले नाम नलिईकन प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध आक्रोश पोख्नुभयो । एमाले आफूविरुद्ध बद्नियतसाथ खनिएको तर आफूले एउटा सफल प्रधानमन्त्रीका रूपमा मुलुकको राजनीतिलाई उच्च हैसियत दिलाउन सफल भएको दाबी उहाँले गर्नुभयो । ‘मलाई यत्ति थाहा छ, यो निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जित्यो र समग्रमा राष्ट्रले जित्यो । अब गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी शासन प्रणाली थप संस्थागत भएको छ । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान थप सुनिश्चित भएको छ’, प्रधानमन्त्रीले आफ्नो सम्बोधनमार्फत भन्नुभयो ।

स्थानीय तह प्रतिनिधिविहीन भएको झन्डै २० वर्ष पुगेको, कसैसँग यो रिक्तता मेट्ने दह्रो प्रतिबद्धता नदेखिएको, निर्वाचन रोक्न सके सिङ्गो संविधान र सँगसँगै लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताजस्ता जनताका ऐतिहासिक उपलब्धिलाई पनि असफल बनाउन सकिन्छ कि भन्ने षड्यन्त्र भइरहेको दाहालले बताउनुभयो । सबै आशंका र अविश्वासलाई चिर्दै दृढ इच्छाशक्ति र संकल्प लिएर निर्वाचन सम्पन्न गरेको दाबी गर्दै दाहालले निर्वाचनसँगै हरेक गाउँ र नगरका वडामा लोकतन्त्र पुगेको बताउनुभयो । ‘कसले जित्यो र कसले हार्‍यो भन्ने प्रश्न मेरा लागि सुरुदेखि नै गौण रह्यो । तात्कालिक र क्षणिक जित-हारका स्वार्थमा अल्झेको भए निर्वाचन नै हुने थिएन’, दाहालले भन्नुभयो ।

राजनीतिको सबैभन्दा ठुलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोगको संस्कृति रहेको उहाँले बताउनुभयो । ‘इमानदार भएर भन्नुपर्दा हामी कुनै न कुनै रूपमा त्यो संस्कृतिको सिकार भएका छौँ’, दाहालले भन्नुभयो, ‘दल र नेताहरूबीच पटक-पटक भएका लिखित-अलिखित सहमति रातारात च्यातिएका थुप्रै उदाहरण छन् । वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन सक्दैन । दोस्रो चरण निर्वाचन पनि यही सरकारले गराओेस् भन्ने सिङ्गो देश र प्रतिपक्षीसमेतको सदिक्षाप्रति म आभारी छु । तर, मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढसंकल्प गरेको छु ।’
पहिलो चरण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन भने केही पर सार्न सकिने सम्भावनाबारे बुधवार बिहान बालुवाटारमा आयोग पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

राजीनामा सम्बोधनमा जनताले स्थानीय तहमा ‘सिंहदरबार’ चुन्दै सही अर्थमा आफ्नो शासक आफैँ भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले संविधान कार्यान्वयनमा मात्र होइन, सरकारले राष्ट्रिय अर्थतन्त्रमा समेत ऐतिहासिक सफलता प्राप्त गरेको दाबी गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने योजनाबद्ध प्रयास र ‘उज्यालो नेपाल अभियान’ ल्याएकै करण लोडसेडिङ अन्त्य गर्न सम्भव भएको र त्यसैको प्रभावले मुलुकका आर्थिक परिसूचक सकारात्मक देखिएको, आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको दाहालले उल्लेख गर्नुभयो । ‘यो देश लामो समयदेखि ‘केही हुँदैन’ भन्ने हीनभावनामा बाँचेको भए पनि अब जनताले आफैँमाथि भरोसा र गर्व गर्न थालेका छन्’, उहाँले भन्नुभयो, ‘लोडसेडिङ अन्त्यले केवल बाहिरी अँध्यारो हटाएको छैन, हामीभित्रको लाचारी र हीनभावनाको अन्धकार पनि मेटाउँदै छ ।’

‘वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन सक्दैन । मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु ।’पुष्पकमल दाहाल, प्रधानमन्त्री

शान्तिप्रक्रिया र संक्रमणकाल व्यवस्थापनका हकमा पनि सरकारबाट उल्लेखनीय काम भएको दाबी गर्दै उहाँले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थप गर्दै सम्बन्धित ऐनको संशोधन मस्यौदा तयार गरेको बताउनुभयो । कञ्चनपुरको सीमामा सहादत प्राप्त गरेका गोविन्द गौतम र ६ वर्षअघि मोरङको सीमामा मृत्युवरण गरेका वासुदेव शाहलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति र राहत दिएको, तराई-मधेस आन्दोलनमा मृत्युवरण गरेका ११ जना सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गरेको जानकारी पनि उहाँले दिनुभयो ।

‘जब म प्रधानमन्त्रीको उम्मेदवार थिएँ, एकथरी साथीहरूले संसद्मा मलाई उत्तेजनापूर्वक सोध्नुभएको थियो, फास्ट ट्र्याक के हुन्छ ? ओबीओआर के हुन्छ ? हुलाकी मार्ग के हुन्छ ? ती प्रश्न गलत थिएनन् । तर, सोध्नेहरूको नियत सही थिएन’, सम्बोधनक्रममा दाहालले भन्नुभयो, ‘यो प्रश्नमा अविश्वास थियो । चुनौती थियो । आफैँमाथि विश्वास नभएपछि मान्छेलाई अरूमाथि पनि विश्वास नहुँदो रहेछ ।’ फास्ट ट्र्याकलाई लिएर सरकारमाथि नियोजित दुष्प्रचारको अभियान नै चलाइएको दाबी गर्दै दाहालले थप्नुभयो, ‘अहिलेसम्म केवल राजनीतिक दाउपेचको विषय भएको र कसैको खास प्राथमिकतामा नपरेको फास्ट ट्र्याक अब बन्ने ग्यारेन्टी भयो ।

दाहाल सरकारका सफलताः
– लोडसेडिङ अन्त्य
– आर्थिक वृद्धिदर ७.५ प्रतिशत
– ‘वान वेल्ट वान रोड’ मा हस्ताक्षर
– ३ प्रदेशमा स्थानीय तह निर्वाचन
– छिमेकीसँग सम्बन्ध-सन्तुलन
– फास्ट ट्र्याक निर्माणको निर्णय

राजधानी र तराईबीचको द्रुतमार्ग अब सुनिश्चित भयो । केही दिनमै म त्यसको शिलान्यास गर्दै छु र नेपाली सेनाले बनाउँदै छ ।’ तराई-मधेसको समग्र अर्थतन्त्र र जनजीवन नै बदल्ने दूरगामी महत्ववको हुलाकी मार्ग भारतका प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमै अत्यन्त प्राथमिकतासाथ उठाएपछि नै यो मार्ग निर्माणले तीव्रता पाएको प्रधानमन्त्रीले बताउनुभयो ।

‘विदेश नीति आवेगले निर्देशित’
आफू प्रधानमन्त्री हुनुअघि सरकारको विदेश नीति विवेकभन्दा आवेगले निर्देशित देखिएको र छिमेकीसँगको सम्बन्ध सहज नभएको उल्लेख गर्दै दाहालले सुरुदेखि नै त्यसलाई सामान्यीकरण गर्न आफू क्रियाशील रहेको बताउनुभयो ।

‘सरकारले सुरुदेखि नै कूटनीतिक अग्रसरता लियो र दुई उपप्रधानमन्त्रीलाई एकैपटक दुई छिमेकी देशमा विशेष दूतका रूपमा पठाएर सम्बन्ध सामान्यीकरण र विश्वास अभिवृद्धिको पहलकदमी लियो’, दाहालले थप्नुभयो, ‘यो सरकारले छिमेकीसँगको सम्बन्धलाई राजनीतिक, कूटनीतिक र जनस्तरसम्म सहज र सन्तुलित बनाउने काम गर्‍यो ।’

यसबीचमा भारतसँग खासगरी राजनीति, सुरक्षा तथा सिमाना, आर्थिक सहयोग, पूर्वाधार विकास, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृतिजस्ता विषयमा सहमति भएको जानकारी उहाँले दिनुभयो । ‘चीन सरकारको महत्ववाकांक्षी योजना ‘वान वेल्ट वान रोड’ कार्यक्रममा सहभागी हुने सम्झौतापत्रमा हस्ताक्षर गरी नेपाल-चीन सम्बन्ध र नेपालको आर्थिक विकासका लागि महत्ववपूर्ण पहल लिइएको छ’, उहाँले भन्नुभयो ।

संविधान कार्यान्वयनको जटिल चरणमा सबै राजनीतिक शक्ति सरकारदेखि संसद् र जनस्तरसम्म एक ठाउँमा उभिनुपर्ने दाहालले बताउनुभयो । ‘तराई-मधेस, पहाड र हिमाल सबैलाई जोडेर अगाडि बढ्ने क्रममा हाम्रा थुप्रै सहयोद्धाले लक्ष्य प्राप्तिका लागि हाम्रै आँखाअगाडि सहादत वरण गरे तर त्यो सहादतले हामीलाई तर्साएन । बरु, अझ मजबुत बनायो । आन्दोलन र क्रान्तिका कठिन चरणमा हामी रुँदारुँदै हाँस्यौं र हाँस्दाहाँस्दै रोयौं’, उहाँले भन्नुभयो ।

लोकतन्त्र स्थापित गर्ने दिशामा आफूहरू सफल भएको तर सामाजिक लोकतन्त्र, समृद्ध र न्यायपूर्ण समाज निर्माणको काम अझै अधुरो रहेको उहाँले बताउनुभयो । ‘आउनुहोस्, हामी सबै एक ठाउँमा उभिएर राजनीतिलाई भावना र उत्तेजना होइन, आर्थिक वृद्धिमा केन्द्रित गरौँ । राजनीतिक प्रतिबद्धता, व्यवस्थापकीय कुशलता र राष्ट्रप्रति इमानदारी भयो भने राष्ट्रको समृद्धि र परिवर्तन हामीबाटै र अहिले नै सम्भव छ भन्ने तथ्य लोडसेडिङ समाप्ति र तीव्र आर्थिक वृद्धिले प्रमाणित गरिसकेको छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्