Logo

धुवाँ जिन्दगी



Spread the love

चुरोटको खिल्ली जस्तै बिस्तारै….बिस्तारै….सकिँदै छ जिन्दगी।’ धेरै पछिको भेटमा उसले चुरोटको धुवाँ गोलो बनाएर आकाश तिर उडाउँदै भनी। उसले बनाएका धुवाँमा ऊ कतै हराए झैँ देखिन्थी।

म चुपचाप उसैलाई हेरिरहेछु।हामी वर्षौँ पछि भेट्दैछौ।यसो उसलाई नियाल्छु न उमेर उस्तै, न शरीर, न सोच न त उसको अनुहार उस्तै छ। न हामी उस्तै घनिष्ठ मित्र छौ।

तर उसको पुरानो र अहिलेको रूप मिलाउँदा एउटा कुरा ठ्याक्क मिल्छ। उसको दाहिने हातमा जलिरहेको चुरोट।उसको जीवनबाट,उसको प्रेम ,साथी, परिवार ,धेरै थोक  छुट्यो तर चुरोट छुटेन।

तैँले चुरोट खान थालेको कति भो? म उसलाई सोध्छु ।
ठ्याक्कै सात वर्ष – उसलाई सम्झने झन्झट गर्नु परेन।
कसरी लाग्यो चुरोटको लत?

हजुरआमा चुरोट खानुहुन्थ्यो। सानैदेखि उहाँले चुरोट खाएको देखे, आफूलाई पनि कस्तो हुन्छ होला भने झैँ हुन्थ्यो। एक दिन उहाँले चुरोट खाएर राम्रोसँग ननिभाई छाडेर हिँड्नु भो । मैले टिपेर ओठमा जोडे। पहिलो पटक त्यही आधा जलिरहेको चुरोट खाए।

त्यसको केही समय पछि स्कुलमा एक दिन एक जना केटा साथीले कस्तो हुन्छ ट्राइ गरम् भन्यो। त्यही साथीको लहैलहैमा लागेर दोस्रो पटक खाए। कैयौँ पटक खान जानिन्, खोकि लाग्थ्यो। साथीको अनुहार हेरेर हाँसिन्थ्यो। ऊ भन्दा जान्ने हुने चाह एकातिर अनि कसरी खाने रहेछ भन्ने जिज्ञासा अर्को तिर। त्यसपछि के चाहियो, हजुरआमाको चुरोट झिकेर खान थाले।बिस्तारै खान त सिकिँदै र सजिलो हुँदै गयो तर……..।
उसले यति भनेर धुवाँको अर्को मुस्लो बादलहरूमा मिसाई। उसका ओठहरू इट्टा भट्टीका काला चिम्नी जस्तै छन्।

जलिरहेको चुरोट दुई औंलाबीच च्यापेकी छ। पाँच औंलामै रातो नेल पोलिस छ। उसले अलिकति असहज मानेर मलाई प्रश्न गरी –  ‘तैँले आजसम्म चुरोट तानेको छस्?’

यही ठ्याक्कै जुन ठाउँमा बसेर त धुवाँ फाल्दै छस्, त्यही बसेर मैले पहिलो पटक चुरोट तानेको थिए । मैले तान्न जानिन्, त्यसपछि कोसिस गरेकी छैन।

तर मलाई चुरोट बारे लेख लेख्नु छ, कस्तो लेख्ने केही सोच्नै सकिरहेको छैन। त्यसैबारे सोच्दै छु। मैले यति भन्दा भन्दै उसले अर्को चुरोट सल्काई। टेबलमा दुई एक्सप्रेसोको कप, एक ऐष्ट्रे, केही नेलपोलिस ओढेका नङ र दुई लेडिज पर्स असरल्ल छन्।

दोस्रो पटक सल्काएको चुरोट एक पटक ऊ आफूले तानेर मलाई दिन्छे र भन्छे- ‘लेख्नलाई अनुभव चाहिँदैन?\
‘सबै कुरामा अनुभव चाहिँदैन।’
मलाई  चुरोट नखाई यो लेख सिध्याउनु छ। मेरो उत्तर सुनेर भर्खरै सल्काएको चुरोट त्यसै छोडेर ऊ उठ्छे । जानेबेला कानमा आएर फुसफुसाउछे- ‘यो लेख सकेर मात्रै मलाई भेट्नु ल डियर।’

चुरोट ! तीन अक्षरले बनेको शब्दको लत लाग्यो भने तीन थोक सकिन्छ। सम्बन्ध, स्वास्थ्य र खल्ती । नेपालमा चुरोटको सुरुवात १८८२/८३ तिर भएको देखिन्छ। ८२/८३ मा  चन्द्र शम्शेर बेलायत जाँदा उनले बेलायतका ४/५ वटा सर्त मानेर आए।ती सर्तमध्येचुरोट पनि एक थियो। ब्रिटिश हाम्रो सौख किनेर हामीलाई नै बेच्न चाहन्थ्यो। हामीलाई चुरोट बाँड्न चाहन्थ्यो।त्यस कारण हाम्रो परम्परागत औषधिसँग सम्बन्धित गाँजा उनीहरूले बन्द गर्न लगाए। गाँजा बन्द भएको एक महिना पछि उनीहरूले नेपालमा सित्तैमा चुरोट बाँड्न थाले।

‘सित्तैमा पाए अलकत्रा खाने’ उखान चरितार्थ भो। चुरोट लत बन्यो। चुरोटको बानी परेपछि यहाँबाट चुरोट मगाउन थालियो। यसरी हातहातमा, ओठ -ओठमा पुगेको चुरोट बिस्तारै आम जीवन सँगै जोडिँदै गयो। देशबाट  राणा गए, राजा गए तर चुरोट गएन बरु ब्रान्ड बन्यो स्टाइल बन्यो अझ भनौ साथी बन्यो।

२०७६को छातीमा टेकेर हेर्दा, आजकाल चुरोट वयस्कहरूको त साथी नै भएको देखिन्छ। यस्सो केही तनाव भए चुरोट,बिरामी भए पनि चुरोट, खुसीयालीमा पनि चुरोट, रोगको मतलब नै भएन, चुरोट तानेर धुवा उडाउँदै गफ गर्ने, चिया पिउँदै चुरोट तानेर रोमाञ्चित हुने सबै ट्रेन्ड नै बसेको छ।

अक्सर जमघटहरूमा चुरोट नखानेहरू कम नै भेटिन्छन् । वसन्तपुर, भृकुटीमण्डप या पाटनको कुनै पनि गल्ली होस्।
सहरका क्याफेहरूमा छिर्दा त झन् चुरोट नखाने मान्छेहरू भेट्नु अपवाद जस्तै हो । सहरमा मात्रै होइन गाउँमा पनि चुरोटको प्रयोग,वृद्ध वृद्धा देखि युवापुस्तासम्मले गरेको देखिन्छ।

अहिले लुकेर खान्छु,किनकी बुबालाई थाहा छैन। जब बुवाको उमेरको हुन्छु वा जब बुवालाई थाहा हुन्छ मलाई लाग्छ, त्यो दिन मेरो बुवाले मलाई बोलाएर- कान्छा  !चुरोट सल्का खाम् भन्नुहुनेछ। गाउँका छिमेकी दाइले हाँस्दै भनेका कुरा सम्झन्छु।

अघिल्लो पुस्ता सानाकै अगाडी चुरोट तान्दै चुरोट खानु हुन्न भन्ने अर्ती दिन्छन्। बालबालिका शब्द भन्दा व्यवहारलाई चाँडो सिक्छन, नक्कल गर्छ।

अर्कोतिर हेर्ने हो भने युवापुस्ताले जतासुकै चुरोट खाइदिने, वरिपरि को छ ख्याल नगर्ने बानीले साना बालबालिकाहरूमा चुरोट खाने इच्छा बढ्ने देखिन्छ।

अक्सर आमा चुरोट खानुहुन्थ्यो बुबासँग लुकेर, मैले पनि त्यही सिको गरे। शुरु शुरुमा चुरोटको सट्टा कागज बेरेर सल्काए, आमाले तानेजस्तै नक्कल गर्न खोजेँ, धुवाँ आएन। कागजमा सुर्ती भए पो धुवाँ आउँथ्यो ? अलि पछि दसैँमा मामाघर गएर दसैँमा टीका लगाएर फर्किदा जम्मा भएको पैसाले चुरोट किनेर सल्काए। सम्झन्छु – पहिलो पटक चुरोट खादाको उमेर त्यस्तै आठ या नौं को थियो। सायद आमाले चुरोट नखाएको भए मैले सिक्दैन थिए होला। कलेजको सिनियर दिदी आफ्नो बाल्यकाल र चुरोट यसरी सम्झनु हुन्छ। अभिभावकबाट असल कुरा हस्तान्तरण हुनुपर्नेमा अभिभावकको लापरबाहीको कारण उनीहरूका सन्तानमा खराब लत पनि हस्तान्तरण भइरहेका हुन्छन्।

चुरोटको लतको कुरा गरिरहँदा यसका प्रमुख कारणहरू छुटाउनु नै हुँदैन। चुरोट खान सिक्नुको मुख्य कारण सिको नै हो। चाहे त्यो अभिभावकको सिको होस् चाहे त्यो चलचित्रमा देखिने पात्रहरूको। र अर्को मुख्य कारण हो – सङ्गत। ‘साथी सर्कल’मा कोही चुरोट खाने छ भने कहिलेकाहीँ के हुन्छ र भनेर तानेको चुरोट लत बनिदिन्छ । कहिलेकाहीँ  साथीहरूको करकापले पनि मान्छे चुरोटको लतमा फस्छ।

यसो विचार गर्दा, प्राय जस्तो हरेक किसिमका जमघटमा चुरोट प्रमुख पात्र हुन्छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले त लेख्दा लेख्दै औंलाको चुरोट सकिएको थाहा पाउँदैन थिए रे- यो कुरा सबैले सुनेको कुरा हो। यो कुराले  महाकविको कति सम्मान बढाएको छ थाहा छैन । तर सोच्नु पर्ने कुरा के हो भने,यसले आम मान्छेमा कस्तो प्रभाव पारिरहेको छ?

यसो नियाल्यौँ भने थाहा हुन्छ- अग्रज लेखकहरूको देखासिखिले नै कति युवा कविहरू चुरोट बिना कवि नहुने जस्तो गरेर चुरोट खाइरहेका छन्। जब नखाउ भनेर लेख्नु पर्नेले नै, म यति खेर खुक्स( खुकुरी चुरोट) पिउँदै छु भनेर हजार पटक लेख्छन्। समाजमा कस्तो सन्देश जान्छ। सोच्नु पर्ने कुरा हो।

सार्क राष्ट्रहरुमध्य भुटानले चुरोट प्रतिबन्ध गरेको छ । नेपालमा पनि सार्वजनिक स्थलहरूमा चुरोट खान पाइँदैन। अझ यसो भनौं – ‘पुलिसले देख्ने गरी चुरोट खान पाईदैन।’

मानिस विद्रोहि प्रजाति हो। त्यसमध्ये पनि युवाहरू समय र समाजसँग विद्रोह गर्न रुचाउँछन्,त्यही अवचेतन मनमा रहेको  विद्रोहि स्वभावले समाजले तथा सरकारले निषेध गरिएका कुरा प्रयोग गर्दा आफू फरक र बलशाली रहेको आभास गर्न पुग्दछन्। बारम्बार त्यही आभासबाट प्राप्त हुने क्षणिक सन्तुष्टि दोहोर्‍याउदा युवा आफ्नो स्वास्थ्य र भविष्य सँग खेलबाड गर्न हिच्किचाउदैन।

चुरोटको बट्टाको  ९० प्रतिशत भाग क्यान्सर लागेको तस्बिरले  भरिएको हुन्छ। ‘धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ’ भनेर लेखिएको पनि हुन्छ। हरेक सिनेमामा ‘स्मोकिङ किल्स’ भनेर देखाइन्छ, लेखिन्छ। तर चुरोट निषेध लेख्दा पनि चुरोट खानेहरू बढेको बढेइ छन्। यसै कुरा लाई आधार मान्ने हो भने, चुरोट सेवन अज्ञानता वा जनचेतनाको कमीका कारण हुने सम्भावना लगभग छैन। यो त जान्दा जान्दै ऐड्भेन्चरका नाममा गरिने गलत प्रयोग मात्रै  हो!

चुरोटबाट हने हृदयघात, क्यान्सर, दम, पक्षघात, मानसिक असर तथा अन्य शारीरिक असर एकातिर छन्। गाँजा, ड्रग्सको बाटो तिर हिँडेका पाइलाहरूको पहिलो स्टार्टिङ पोइन्ट चुरोट नै हो।

घरपरिवार,साथिसङ्गी र समाजको नजरमा खराब हुनु त छदै छ, अनावश्यक पैसा खर्च हुन्छ भन्ने चेतना सबैमा हुन्छ तर पनि उनीहरू चुरोट सेवन गरिरहन्छन्। चुरोटमा हुने निकोटिनले लत लगाउँछ, जसको कारण खाने बानी परेकालाई छोड्न गार्‍हो हुन्छ। निकोटिनको लतले तलतल लागिरहन्छ। त्यस कारण उनीहरूलाई रोगको पनि मतलब हुँदैन ।

अनि भर्खरै खान शुरु गरेकाहरूले चाहिँ यसको भेउ नै पाउँदैनन्, खानु हुँदैन भन्ने थाहा छ तर पनि आफूलाई रोक्न सक्दैनन् । खादै खाँदिन भनेर रोक्नलाई दृढ संकल्प, दरिलो कारण, गहिरो बुझाइ र सकारात्मक वातावरण चाहिन्छ। यो वातावरण आफ्नो लागि आफैले बनाउने हो।

यदि तपाईँ चुरोट खानुहुन्छ भने, यति बेला पनि तपाईँको हातमा चुरोट जलिरहेको होला। त्यो  तपाईँको हातमा जलिरहेको चुरोट तपाईँको आफ्नै जीवन हो। जुन धुवाँ ,खरानी भएर माटोमा मिसिरहेछ। तपाईँको जीवन पनि त्यसरी नै सकिँदै छ।

सायद तपाईँलाई थाहा छ होला, प्रत्येक एउटा चुरोटको प्रयोगसँगै मानिसको ११ मिनेट आयु घटिरहेको हुन्छ। जानीजानी आफ्नो आयु कम किन गराइरहनु भएको छ?

साच्चिकै चुरोट छोड्न चाहनु हुन्छ भने थोरै प्रयास नै काफी हुन्छ। तपाईँ आफूलाई माया गर्न थाल्नुहोस्। तपाईँ आफैं एक पटक आफूलाई सोध्नोस् कि तपाईँको स्वास्थ्यलाई सुहाउँदो चिज चुरोट हो वा होइन? अनि छोड्नै पर्ने चिज, बिस्तारै  छोड्छु, दिनमा एउटा मात्रै खान्छु, कम गर्दै जान्छु नभन्नु होस्, चटक्कै छोड्दिनु होस्। बरु चुरोट खाने पैसा बचत गर्नुस्, आफ्नी श्रीमती वा प्रेमिकालाई हरेक दिन एउटा गुलाब उपहार दिनुस्, छोराछोरीलाई चकलेट दिनुहोस् र आफ्नो आमा बुबालाई घुमाउन लैजानु होस्। आजै एउटा सुन्दर लत बसाउनुहोस् – स्वस्थ र खुसी रहने लत।

कविता, कथा तथा सृजनात्मक लेखनमा सक्रिय गोर्खाकी अन्शु खनाल मनोविज्ञानकी विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्