Logo

मेराे जीवनकाे एक अध्याय



Spread the love

समयलाई घडीले नाप्यो
समयले हाम्रो जीवनको आयुको रप्तार नाप्यो
जिन्दगीलाई कहिले ओरालो लागेको मृगलाई झै खेद्यो
कहिले भिरमा पुगेर अड्कियो
र खस्यो पहाडको फेदमा
जीवनका फूलहरू फुल्न खोज्दा खोज्दै ओइली झरे
ठिक यस्तै छ मेरो जिन्दगी पनि ।

समय हिँड्दै थियो म हुर्कँदै थिएँ । कसरी कसरी समयले मलाई छुटाउने सपना देख्यो र सिरानीबाट व्युँझेर आमाको घाँटीमा थिच्यो ।

आमा सास मुस्किलले फेर्नु हुन्थ्यो । सामान्य परिवारमा म जन्मेको हुँ । तैपनि बाबा आमाले कहिल्यै मायामा कमि गर्नु भएन । आमा पनि मेहनत गर्नमा कुनै बाँकी राख्नु हुन्न थियो । समाजको गन्यमान्यमा पर्नु हुन्थ्यो बाबा । ज्यादै हक्की स्वभाव । अझै पनि उस्तै हुनुहुन्छ बाबा । कसरी कसरी सोच्दै नसोचेको घटना घट्यो घरमा । हामी सबै परिवारको खुसी खोसेर लग्यो । अब त ती सम्झना र याद मात्रै बाँकी छन् ।

आज ठ्याक्कै २९ वर्ष भएछ । आमा र मेरो भेट नभएको पनि । श्रावण महिना मेरो लागि कालो महिना हो । अझ श्रावण महिनाको १३ गते महाकालो दिन । हरियाली हुनुपर्ने बन उजाड देख्छु । डढेलो लागेको पाखा जस्तै लाग्नु स्वभाविक हो । त्यो महिना त्यो दिन मेरो खुसी लुटिएको थियो ।

करिब ३ र ४ वर्षको हुँदो हुँ । मलाई आमाबाट एक्लो बनायो । म एक्लो भएको दिन । उडिरहेको चरा सिकारीले मार्यो भने बिचैमा यात्रा रोकिन्छ चल्लाहरूको । बचेराहरू टुहुरा हुन्छन् । त्यस्तै मेरो आमाको मरणले मेरो आमाको सपना अधुरो बनायो । अनि म पनि टुहुरो भएँ । मलाई अलिअलि याद छ टुटेफुटेका भए पनि । अघिल्लो दिन आमा कामले थाकेजस्तै थकित हुनु भएको थियो । तर मलाई थाहा थिएन कि आमा बिरामी हुनु भएछ । यो बाल मस्तिष्कले थाहा पाउने अवस्था भइसकेको पनि थिएन । मलाई भोक लागेको थियो आमाको दुध नखाई नहुने । एकछिन् आमालाई देख्न पाइएन भने म रुँदैरुँदै कोक्रोबाट खस्न खोज्थेँ । म लुला गोडाको सहाराले टुकुटुकु हिँडेर आमाको छेउमा गए । आमाले मेरो खुसीको लागि सहजै दुध चुसाउन राजि हुनु भो । म खुसी भएँ । मलाई देख्न साथै बाबा आएर आमाको छातीबाट छुटाउनु भो । आफ्नो अंगालोमा राखेर रुनु भयो । कहिल्यै नरुने मेरो बाबा रोएको देखेर यस्तो लाग्यो कि आज मेरो बाबा पनि मजस्तै बच्चा हुनु भयो ।

अघि पछि मैले दुध खाँदाखाँदै दुध छुटाएर बाबाले हातमा खेलाउन लाग्दा आमा कराएर भन्नु हुन्थ्यो । अघाउन्जेल दुध त खाना त दिनुस् कस्ता लोग्ने मान्छे हुन् रु रुवाउन मात्र जानेको । ए बुढा तपाईलाई यो सानो बच्चालाई नरुवाई चित्त बुझ्दैन है ?  भन्ने तिनै आमा त्यो दिन तेस्तो केही भन्नु भएन । मलाई यस्तो लाग्यो आज आमा मदेखि रिसाउनु भएछ । किन रिसाउनु भयो मलाई थाहा थिएन ।

घरमा मान्छेको भिड हुन थाल्यो । यस्तो भिड त मैले तेतिबेलासम्म देख्न पाएकै थिइनँ । म यो कुरामा खुसी थिएँ । यति धेरै मान्छे मेरो बाल आँखाले पहिलो पटक देखेको थियो । तर ति मान्छेहरू आमालाई देखेर भन्दा पनि मलाई देखेर रुनेहरू धेरै थिए । मलाई थाहा थिएन किन रोइरहेका छन् यि मान्छेहरू । मलाई लाग्थ्यो मजस्तो बच्चा त हैनन् तापनि म रोएजस्तै रुन्छन् । ठूलाठूला मान्छेहरू रुँदैनन् जस्तो लाग्थ्यो । तर रुँदा रहेछन् ।

जति म रुँदा मलाई सुहाउथ्यो तेति ति मान्छेहरूलाई सुहाएन । म रुँदा मेरो आवाज चराको आवाज जस्तै निस्कन्थ्यो तर ति ठूला मान्छेहरूको आवाज बाच्छी गुमाएपछि रोएको निल गाई बाँ बाँ गरेर रोएजस्तै रुन्थे । भनौँ कि जस्तो पनि लाग्थ्यो । तपाईहरू नरुनु । तपाईहरूले रोएको पटक्कै सुहाएन । मलाईजस्तै रुन पनि आएन । म त चराजस्तै रुन्छु । मलाई छुने ति मान्छेहरूको हत्केला खस्रा लाग्थ्यो । तर आमाको ठेला उठेको हात मलाई कपासजस्तै नरम लाग्थो ।

मेरो कलिला गाला नछोए हुन्थ्यो जस्तो लाग्थ्यो । तर मुसार्थे । माया गरेकोजस्तो मात्रै गर्थे । किन किन मलाई तिनीहरूको हात बालुवाजस्तै खस्रा लाग्थे । तेतिबेला ति मान्छेहरूले नरोऊ बाबु भने । रो जति सक्दो रो यो रुने समय हो भनेनन् । अनि तिमी किन रोयौ बाबु भनेर कसैले भनेनन् । अझैँ पनि मेरो मनमा यस्ता प्रश्नहरू खेलिरहेका हुन्छन् हृदयको मैदानमा । आँसुका ढिकाहरूले चुट्नु सम्म चुट्छ छाती ।

मलाई रुनु पर्छ भनी हौसला पाएको भए म अझ लामो समयसम्म रुन्थेँ हुँला । कसैले सोधेनन् तिमी किन रोयौ भनेर । यदि सोधेको भए भनिदिन्थे ‘आमाको दुदु खाने ।’ सायद यो परिस्थिति भइदिएको भए मेरो सवालको जवाफ पाउने थिइनँ होला । स्तब्ध चाहिँ हुन्थेँ । म आमाको मृत्युु भयो भनेर रोएको थिइनँ दुध खाना नपाएको चोट थियो । मृत्यु के हो ? जीवन के हो ? त्यो सानो उमेरमा परिभाषित गर्न सक्ने क्षमता ममा थिएन । म आमा भनेर रुन्थेँ। आमा हइ !  छोरा भनेर बोल्नु भएन । मेरो आवाज नसुनेझैँ चुपचाप रहनु भयो । अघि सम्म मैले बोलाउँदा हइ ! छोरा भन्ने आमा किन बोल्नु भएन ? मलाई आमाको मरण भएको भन्ने कुराको जानकारी यो मस्तिष्कले जानकारी गराएन । यदि थाहा भइदिएको भए सायद मभित्र आमालाई यस्तो प्रश्न गर्ने आँट आउँदैनथ्यो ।

यस्तो लाग्थ्यो कि मलाई नसुताइ ननिदाउने आमा मभन्दा पहिल्यै निदाउनु भयो । म पर्खिरहे । तर आमा उठ्नु भएन । चौबन्दि भित्र लुकाइराखेको दुध पनि चुसाउनु भएन। समय ढल्दै गयो मान्छेहरू रोएका अनुहार लिएर मेरो नजिक आए । कैल्यै नसमातेकाले पनि मलाई च्याप्प समातेर अंगालो बाँधे ।

मलाई यसरी आमाले अंगालो मार्दा ठूलो रूखमा ओत लागेजस्तो हुन्थ्यो । आमाले काखमा राख्दा यो आकाश मेरो आमाभन्दा सानो छ जस्तो लाग्थ्यो । आमाले छातीमा लपक्क टाँसी राख्दा सिरक ओडेको भन्दा न्यानो हुन्थ्यो । तर तिनीहरूको अंगालोले घामपानी छेक्न नसक्ने पात नभएका बुढो रूख जस्तै लाग्थ्यो । म जन्मदा यत्रो मान्छेहरूको भिड पक्कै थिएन । आज जस्तो कोही रोएनन्। मैले कपडामा सु गर्छु भनेर कसैले काखमा राख्न चाहेनन् तर आज चाहन्छन् ।

आज मेरो आमा निदाउनु भएको छ हिजोजस्तै । तर आज हिजोजस्तै निदाउँदा किन यतिका मान्छे यो आगनमा थुप्रिए थाहा थिएन । आज थाहा पाएजस्तै। मलाई छोएर दयाको भाव देखाउनेहरू थुप्रै थिए । म निदाउँदा कसैको आँखामा आँसु हुँदैनथ्यो तर आमा निदाउँदा उपस्थित सबैको आँखामा आँसु जमेको थियो । लाग्थ्यो तिनीहरूको आँखामा आँसुको पोखरी रहेछ । आँखाको नानी डुङ्गाजस्तै तैरिँदै थियो । आँसुको बहाव बडेर डुङ्गा डुब्दैछ। हुँदाहुँदा यौटा धुन बज्यो । आजजस्तो बुझ्ने भइदिएको भए भन्ने थिएँ शोकमा बज्ने धुन ।

बिलकुल फरक धुन थियो । कस्तो अचम्म एउटै शङ्खको पनि दुइटा धुन । मान्छेको जस्तो देखाउने दाँत र चपाउने दाँतजस्तो । किनकि पुजापाठमा दोहोरो बज्थ्यो तर त्यो दिन एकोहोरो बजेको थियो । किन यस्तो धुन बज्यो थाहा भएन ।

थाहा नहुनु ठूलो कुरा पनि हैन । म सानै थिए मात्र ३ बर्षको । अघि पछि घरमा पुजापाठ गर्दा दोहोरो शङ्ख बज्दा म खुसी हुन्थेँ तर त्यो दिन म खुसी हुन सकिनँ। शङ्ख एकोहोरो बजेको थियो । आमा मेरो चित्कार सुनेर उठ्नु भएन ।

म आमाको दुदु खाने । यत्रो बेरसम्म आमा उठ्नु भएन उठाउनुन । नउठ्ने हो भने म कट्टी भनी दिन्छु के । मैले यति भनेपछि बाबाले भन्नु भो ( बाबु स्वर्ग जाने बेला निदाउनु पर्छ । उठ्नु हुँदैन बाबु नत्र भगवान रिसाउनु हुन्छ । मैले पनि स्वर्ग जाने इच्छा प्रकट गरेँ । बाबाले रुँदै भन्नु भो बाबु छोरा तिमीले यस्तो कुरा गर्ने बेला भाछैन । हामी सबै एक दिन भगवानको दर्शन गर्न जानै पर्छ । चुपचाप लागेर बस् नत्र १ बाबाको नत्र शब्दले म चुपचाप बसेँ गहभरि आँसु जमाउँदै । भगवान भन्ने बित्तिकै मैले सोधि हालेँ बाबा भगवानको घर कहाँ छ रु तर बाबाले यो प्रश्नको जबाफ दिनु भएन । खै किन हो आजसम्म पनि यो प्रश्नको जवाफ पाउन सकेको छैन ।

आमालाई पहिलो पटक आफ्नै आँखाले देखेँ फूलमालाले सजाएको । यतिका फूलका गुच्छा त हाम्रो करेसा बारीको बगैँचामा पनि थिएन । आमाको शरीरमा आज यति धेरै फूलमाला भए । किन होलीमाजस्तै अबिरले शरीर रंगाएका हुन् ?, थाहा थिएन । बाबालाई सोध्ने दुस्साहस पनि गरिनँ किनकि सवालको जवाफ पाउने स्थिति थिएन । म आमालाई हेर्दै थिएँ । हेर्दाहेर्दै आमालाई बाँसको झोलुङ्गोमा बोकेर हरे राम ! हरे राम ! भन्दै लगे विरानो बस्तीतिर । जहाँ अचेल वनमारा फुलिरहेका छन् । बाबाले भन्नु भाको स्वर्गको घरमा जाँदा यसरी नै जानु पर्छ रे ।

आमा स्वर्ग गएपछि घर पनि शुन्य भयो । हाम्रो घरै अगाडि घना जङ्गल छ । त्यही जङ्गलमा चराहरू कराएको आवाज घरैबाट सुनिन्थ्यो । तर त्यस दिन चराहरू कराएनन् । सायद मलाईजस्तै चरालाई पनि मेरो आमा स्वर्ग गएको मन परेन ।

साँझपख आमासँगै गएका मेरा दाइ र छिमेकी मान्छेहरू निन्याउरा अनुहार लिएर फर्किए । दादाहरूको टाउकामा कपाल थिएन । शरीरमा सेता कपडाले बेरेका थिए । पैतालामा चप्पल थिएन । मैले बाबालाई सोधे ( बाबा आमा खोई रु किन नआउनु भको ? मलाई दुदु खान मन लाछ । यति के सोधेको थिएँ बाबा मेरो कुरा सुनेर रुन पो थाल्नु भयो । मलाई आमाको याद आएजस्तै बाबालाई पनि याद आउँदो रहेछजस्तो लाग्यो । बच्चा त हुँ । दादाहरूकोजस्तै कपाल नभएको टाउको बनाउन मन लागेर सोधेँ ( बाबा मेरो पनि कपाल ख्वील्याइदिनुन रु मलाई दादाकोजस्तै कपाल नभएको टाउको बनाउन मन छ । बाबाले मेरो कलिलो गाला मुसार्दै भन्नु भो हुन्न बाबु ! तिमी सानै छौ ।

समय मेरो अघिअघि दौडियो, म पछिपछि दौडिएँ । म पनि हुर्कँदै आएँ । आमा भगवानको घर गएको हैन भन्ने पनि थाहा भयो । आमा सपनामा बाहेक कहिल्यै नआउने गरी जानु भएको रहेछ भन्ने कुरा पनि थाहा भयो । समय बलवान हुँदो रहेछ भन्ने पनि थाहा भयो । कस्तो अचम्म त्यै समय जन्माउछ, हुर्काउछ, बढाउछ अनि त्यही समय काल बनेर आउछ र आफैँले जन्मदिएको प्राणीलाई मार्छ । अनि मलाईजस्तै बाल टुहुरो बनाउँछ । कहिल्यै नथाक्ने घाउ बनाई दिन्छ । म आमा नभएर रोइरहेको छु ।

एकाध मान्छेहरू यस्ता छन् जग्गा आफ्नो नाउमा नामसारी नहुन्जेल माया गरेको बहाना पारेर लाउन खाना दिन्छन् । जब आफ्नो स्वार्थ पूरा हुन्छ तब बाआमालाई बृद्धाआश्रामा पुर्याउछन् । म मलाई जन्म दिने आमा मेरो साथमा नभएर रोइरहेको छु । आमा साथै हुने छोराहरू आमाको मृत्यु किन भएन भनेर रोइरहेका छन् । नपत्याए सोध्नुहोस्।

बुबाआमालाई पाल्न नसकेर हुत्याउँदै बृद्धाश्रममा पुर्याउने छोरा बुहारीलाई । सायद तिनीहरूले सवालको जवाफ दिन सक्तैनन् । म सानै छँदा बाबाले भन्नु भएको थियो । बाबु अब तिम्रो आमा दिनमा घाम बनेर उदाउछिन् । रातमा जून र तारा बनेर झुल्किन्छिन् । आज पनि हेरिरहनु भएको होला कतै पहरामा उभिएर । सपनामा जब आमा आउनु हुन्छ । मलाई आमा विपनामा देखेजस्तै लाग्छ । अझै पनि मलाई बच्चाजस्तै ठानेर मेरी आमा काखमा राखेर भन्नु हुन्छ मेरो बाबुलाई केही नहोस् नुहाउँदा केस नझरोस् । हिँड्दा ठेस नलागोस् । भगवान दाहिना हुन् यस्तै यस्तै आशिर्वाद दिनुहुन्छ । प्रत्येक दिन, प्रत्येक रात जब म निदाउछु । तर पनि आमा विनाको जीवन मरेको लासजस्तै लाग्छ । त्यो दिनको त्यो दृश्य अझै पनि आँखामा नाचिरहेको छ । तेतिबेला आमालाई सेतो कपडा र पहिले कपडाले ढाकेर किन लगेका हुन् भनेर प्रश्न गर्ने आँट गरिनँ । मलाई याद छ म रुँदा आमाले कोक्रोमा सुताउनु हुन्थ्यो । म प्राय कोक्रोमै निदाउँथे । तर हिजो अस्ति आमा यति लामो कोक्रोमा सुतेको देखेकै थिइनँ । तर त्यो दिन रहरले हो या बाध्यताले आमा लामो कोक्रोमा सुत्नु भयो । म छोटो कोक्रोमा सुतेँ । त्यसै दिनदेखि आमा र म फरक फरक तरिकाले निदायौ । त्यो दिनदेखि आमाले छोरा भनेर कैल्यै बोलाउनु भएन । त्यो अचम्मको कोक्रोमा बोकेर लगेदेखि आज सम्म फर्केर आउनु भएन । मात्रै सम्झनामा रहे तीन दिनहरू।

दुई दिदी र जेठो दाइको विहे भइसकेको थियो । उहाँहरूको विहे कतिको रमझम भयो मलाई याद छैन तर माइला दाइको बिहे भने मलाई पुरै याद छ । आमा बित्नु भएको केही वर्षमा माइला दाइ राजुको विहे भयो । घरमा आफन्तहरूको आउने क्रम जारी थियो । घरमा सबै पाहुनाहरू खुसी देखिन्थे । कोही खाना पकाउँदै थिए । कोही नाच्दै थिए । म आमाको फोटो हेरेर बन्द कोठा भित्र रुदैँ थिएँ । आमा भइदिएको भए त्यसरी छमछम कम्मर मर्काउँदै नाच्नु हुन्थ्यो होला भन्ने पनि लागि रह्यो ।

दाइको विहे भएको तीन दिनपछि म दाइ र माइली भाउजू सँगै सुत्यौ । म दाइ भाउजुको बिचमा सुतेँ । बेलुका मध्यरात थियो होला म निद्रामै ‘आमा ! आमा !’ भनेर तिनै माइली भाउजुको ब्लाउजको टाँक खोलेर दूध चुसेछु । जुन भाउजू भर्खर मेरो घरमा मेरो भाउजु बनेर आउनु भएको थियो ।

अहिले सम्झँदा भाउजुलाई कति लाज लाग्यो होला रु अहिले पनि भाउजुले त्यो दिन सम्झेर भन्नू हुन्छ बाबू मैले तपाईंलाई धेरै माया दिएर ठूलो बनाएको हुँ । हुन पनि हो मेरो धेरै गल्तिहरू भाउजुले सहनु भएको छ । म चारै दाजुभाइ र दुई दिदी भाउजुहरू, मेरो हजुरआमा र सानीआमाको मायाबाट हुर्के । बाबाले दुख गरेर जवान बनाउनु भयो । लब यु बाबा । लब यु मेरो जिन्दगी ।

समयले मेरो जिन्दगी नाप्दै गयो । गोडाहरू अगाडि बढ्दै गएँ । प्रत्येक वर्ष वसन्तहरू थपिँदै गएँ । स्कुल जाँदा स्कुलबाट घर आउँदा घरको मुल ढोकैमाथि फोटो हेर्थेँ । जब यो आँखाले आमाको ब्ल्याकिङ ह्वाइट फोटो देख्थ्यो तब आँखाबाट आँसु खस्थ्यो। यो त दैनिकि नै थियो मेरो । क्याम्पस पढ्दा पढ्दै जागिरको सिलसिलामा नेपाली सेनामा भर्ना भएँ । तालिम त्रिशुली मैथली शिविरमा थियो । म ६ गुल्ममा परेँ । तालिम सुरु भयो । शिक्षकहरू भाग्यबस मिलनसार नम्र स्वभाव भएको पाएँ । कहिले कहीँ पेलिनु पर्दा पनि आमाको खुब याद आउथ्यो । अझै आफुलाई अहिले पनि बच्चै छु जस्तो लाग्छ । त्यतिबेला तालिममा जिउ थाकेको हुन्थ्यो । जिउ थाक्दा आमाको सम्झना आउँथ्यो । सानो हुँदा आमाले तेल लगाइदिएर मालिस गरिदिएको खुबै याद आउँथ्यो । ९ महिनाको अन्तिम दिन यानिकी तालिमको अन्तिम दिन घरबाट सबै हातमा फुलमाला र अबिरको बट्टा लिएर बाआमाहरू आए । मेरो बुबा र राजकुमार भिनाजु कान्छा भिनाजुको कान्छा भाइ( जसले मलाई जागिरे बनाइदिनु भयो) आउनु भएको थियो । आमा हुनुहुन्न थियो आउनु भएन । मन रोइरह्यो । जोडा राजु नेपालीको आमा आउनु भएको थियो उहाँले मपनि आमा नै हुँ भनेर फुलमाला र अबिर लगाइदिनु भयो । मेरो भिनाजु र बुबाले पनि माला र अबिर लगाइदिएर आशिर्वाद दिनु भयो । म जागिरे त भएँ तर आमाले मेरो कमाइ खाना पाउनु भएन । आज पनि यहि कुराले दुखाइ रहन्छ ।

जागिर खाएको एक वर्ष पछि आफ्नै विहे गर्ने बेला भइसकेछ । आफ्नै बिहेको दिन थियो । घरमा कमेरो र रातो माटोले रंगिन थियो । आमाको वर्ष दिनको काममा पनि घर यस्तै रंगिन थियो । मलाई त्यस दिन पनि त्यो रंग पटक्कै मन परेको थिएन । भाउजुहरूले घरलाई जति सिङ्गारे पनि आमाले जसरी सिंगारेजस्तो लागेन । पाहुनाहरू आइरहेका थिए । मावलाबाट मामा माइजुहरू आए । मलाई हेरेर भने दिदी हुनु भएको भए यो घर अझ कति धेरै उज्यालो हुन्थ्यो । मन थामिएन म रोएँ ।

विहेभरि आमाको अभाव खड्की रह्यो । आजपनि आमाको अभाव खड्की रहेको छ । सिला पुज्ने दिन थियो । ब्राह्मणले अनेक कथा सुनाउन थाल्नु भयो । म आमाको तस्बिर नियाल्दै थिएँ । जब पैसा राखेर सानीआमा  (सानी आमालाई म सानीआमा भन्दिनँ आमा नै भन्छु) को पाउँ ढोग्न खोज्दा आमा भनेर भक्कानिएर रोएँ । त्यतिबेला बेला लाग्यो मलाई जनमदिने आमा मजस्तै जीवित भइदिएको भए यसरी पाउँ ढोग्थेँ ।

अझैपनि लाग्छ आमाको पाउँ ढोग्न पाइनँ । सबैले सम्झाउन थाल्नु भयो । मन किन सम्झन्थ्यो र तिमी बच्चा हैनौँ भनेर सबैले भन्नू भयो । म अझैँ पनि आफुलाई ठूलो भएको जस्तो लाग्दैन । समय बित्दै गयो पिडाहरू थपिँदै गए । पोखरीमा पानीको बहाब घट्ने बढ्ने हुन्छ तर मेरो जीवन पिडाहरूले झन्झन् थिच्दै गयो । आमालाई सपनामा कहिल्यै देख्न पाएको थिइनँ । हरेक दिन भगवान पुकारेर भन्थेँ । हे ईश्वर आमालाई सपनामै भएपनि पठाइदेऊ । एक न एकदिन त ईश्वरले पनि मान्नु पर्ने दिन आउँदो रहेछ । म थकित थिएँ त्यो दिन म चाँडै सुतेँ । आमा पुकार्दा पुकार्दै निदाएछु । आमा सपनामा आउनु भयो । म निद्रामै रोएछु । आमा ! आमा !! भनेर छट्पटाएछु । मसँगै थिइन् मेरी उनी पनि । उनी पढिरहेकी रहेछिन् आधा रातसम्म । उनीले किन रोएको भनेर मलाई झकझक्याउँदै निद्राबाट ब्युँझाइन् । र भनिन् किन रोएको आमा ! आमा !! भन्दै रु जवाफ दिनै सकिनँ झन् बर्र आँसु झरिरह्यो । त्यो रात त्यसरी नै बित्यो जीवन सम्झेरै । बिहानै भाउजुको घर गएँ । भाउजुलाई बेलुकाको कुरा सुनाएँ । माइली भाउजु कुरा सुनेर रुनु भयो । तिनै माइली भाउजुले आफ्नो सासुनै देख्न र चिन्नसम्म पाउनु भएको थिएन । उहाँले भन्नू भयो देवरबाबु ! नुहाएर दियोमा बत्ति बाल्नु । भाउजुले भनेजस्तै गरेँ । जुन दिनदेखि आजसम्म आमाको सपना देखेको छैन । कहिले कहिँ लाग्छ बरू दियोबत्ति नबालेको भए आजसम्म आमा प्रत्येक दिन सपनामा आउनु हुन्थ्यो होला ।

म ३२ वर्ष भएँ । आमालाई नदेखेको नभेटेको २९ वर्ष भयो । रोएको पनि २९ वर्ष भयो । मेरा आँखाबाट खसेका आँसुहरू जम्मा गरेर राखेको भए यो पृथ्वी डुबाउने पानी भैसक्थ्यो । हिजो बेलुकादेखि मन भारी थियो । आँखाभरि आँसु थियो । सिरानीमा आमाको तस्विर थियो । म बोल्थेँ । तस्बीर बोल्दैन थ्यो ।

आमा हुँदाको जस्तो नहुँदो रहेछ जीवन पनि । असहज मात्रै हुँदो रहेछ । आमाको मृत्यु पछि सहज कहिल्यै भएन बाँच्न पनि । सम्झनामा फोटो छ । आवाज छैन । घर थियो त्यो पनि पापी भुकम्पले भत्काइदियो । मात्रै असहताले बाँचेको जिन्दगी छ । आमा हुँदाको जस्तो खुसी आँखाले पनि देख्दो रहेनछ । खोलाहरू छन् । जो आफ्नै गतिमा दौडिन्छ । म छु आफ्नै गतिमा । गतिहरू कहिल्यै सरल भएनन् । मोडहरू छन् । पार गर्नु पर्ने बाध्यताहरू धेरै छन् । तर आमा हुँदाको जस्तो सजिलो नहुँदो रहेछ ।

आज आमा भइदिएको भए कामले थाकेर आउँदा घरमा तेल तताएर राख्नु हुन्थ्यो । भोक लाग्दा भोक मेटाइदिनु हुन्थ्यो । आमाले आफुलाई बिर्सनु हुन्थ्यो होला मेरो लागि । म गलत बाटोमा हिँड्दा गालि गर्नु हुन्थ्यो होला । मलाई धेरै सुधार्नु हुन्थ्यो । जब मलाई दुख हुन्छ आमाको याद आउँछ । जब सुख हुन्छ आमाको याद आउँछ । आमालाई याद गरिरहन केहिले पनि छेक्दो रहेनछ । किन कि आमा हुन् । जसले आफु मृत्युसँग जुधेर जन्म दिनु हुन्छ । आफु खाना बिर्सनु हुन्थ्यो सन्तानको लागि । आमा नभएदेखि मन त्यसै भारी भारी भएको हुँदो रहेछ ।

आमा !
हजुर सपनामा भए पनि आइरहनुस्
र छोरा भनेर बोलाई रहनुहोस्
मलाई हजुरको आवाज सुनिरहन मन छ ।

हजुर यसरी नै आइदिनुस् साँझमा झैँ दिनमा पनि
र आएपछि फर्कि नजानू आएको बाटो
हजुर नभएको दिनदेखि मेरो घर घरजस्तो लाग्दैन
आमा !
तपाईंले यो छोरालाई पनि
किन सँगै लिएर जानू भएन रु
आमा ! भन्नू त रुनकै लागि भएपनि
म हजुर नभएको यो पृथ्वीमा
अझैँ कति वर्ष बाँच्नु पर्छ ?

 विक्रम पवन परियार

गीत, गजल र कवितामा कलम चलाइरहेका परियारकाे `जलेकाे मुटु´ गजल सङ्ग्रह - २०६८, `माैन सालिक´ खण्डकाव्य - २०७२ र आधा दर्जन गीतहरू बजारमा आएका छन्

प्रतिक्रिया दिनुहोस्