Logo

हस्तकला-हरिबहादुरको जीवनकला



मानिस अस्तित्वलाई नकार्न सक्दैन । हरेक मानिस आ-आफ्नो अस्तित्वसँग संघर्षरत छ ।
फरक-फरक अस्तित्वका फरक-फरक कथाहरू लुकेका छन् । तर, उनको अस्तित्वको कथा अलि बेग्लै छ ।

जेठ महिनाको एक बिहान-बिहानै चर्को घाम लागिसकेको छ । बसपार्क, सुन्धारा, रत्नपार्क एरियामा कोलाहल बढिसक्यो । मान्छेहरूको चहलपहल बाक्लिसक्यो । यो सहरको कुन हो, कुन गुमनाम कुनाबाट मानिसहरू यो सडकमा आएका छन् । यिनै मान्छेहरूको भिडमा हरिबहादुर बस्नेत आफूलाई, आफ्नो अस्तित्वलाई खोज्दै छन् ।

काठमाडौँ मलअगाडिको एउटा सडक पेटीमा निकै सुन्दर हस्तकलाका सामानहरू बेच्न राखिएका देखिन्छन् । देख्दै किनुम्, किनुम् लाग्ने बनाउने सुन्दर हस्तकलाहरू देख्दा मन लोभिन्छ ।

साइडमा ह्विलचेयर छ । चर्को गर्मीमा पसिना काड्दै, पुछ्दै, मुस्कुराउदै हरिबहादुर बस्नेत भनिरहेका हुन्छन्-“बहिनी, यो सामान लिनुस् न राम्रो छ । हामीले बनाएको हो ।”

रामेछापका हरिबहादुर बस्नेत जन्मजात अपांग थिए । उनका दुवै खुट्टा राम्रोसँग विकसित भएका छैनन् । बाङ्गिएका छन्, चल्दैनन् । उनको परिवारमा उनी मात्र अपांग हुन् । परिवारमा आमाबुवा र दुई जना दाई दिदी छन् ।

दुई वर्ष अघि उनी काठमाडौँ आए । उनका एक जना आफन्तले उनलाई काठमाडौँमा ‘नेपाल अपांग सेवा केन्द्र’ छ भनी चिनाइदिएका थिए । त्यै मोडले उनको जीवनमा धेरै परिवर्तन ल्यायो । उनले त्यहाँ आएर हस्तकलाको सीप सिके ।

हस्तकलाको व्यवसाय गर्ने बाटो पनि सेवा केन्द्रले नै देखाइदियो । अपांग सेवा केन्द्रका संस्थापक चन्द्र बहादुर खत्री आफैँ पनि अपांग छन् । आफूजस्तै अपांग साथीहरूलाई जीवन जिउन सिकाउने, सीप सिकाउने र आत्मनिर्भर हुन सिकाउने उद्देश्यले उनले अपांग सेवा केन्द्र स्थापना गरेका हुन् । उक्त संस्था हरिबहादुरजस्ता धेरै मान्छेहरूको लागि जीवनको नयाँ मोड बनिदिएको छ । जुनसुकै किसिमका अपांग उक्त संस्थामा आबद्ध हुन सक्छन्, सीप सिकेर आफ्नो जीविका चलाउन सक्छन् । साथै, अपांगमैत्री वातावरणमा खान, बस्नको सुविधा पनि छ । उक्त सेवा केन्द्रमा अहिले २१ जना अपांगहरुले सेवा लिइरहेका छन् । अपांग सेवा केन्द्र विशुद्ध सेवामूलक संस्था हो ।

हरिबहादुर बिहानै ४ बजे ह्विलचेयरमा सामान राखेर नयाँ बसपार्कबाट आफैँ ह्विलचेयर गुडाउँदै सुन्धारा आईपुग्छन । झोलाबाट सामान निकालेर आफैँ मिलाउँछन् । सबै सामान धागोबाट बनेका छन् । राता गुलाब, किरिङ, डृम क्याचर, पर्स, झोलाहरू एकदमै कलात्मक रूपमा बनाइएका छन् ।

हरिबहादुरको खुट्टा चल्दैनन् त के भो ? उनीसँग जीवन जिउने कला छ । नभएको चिजप्रति गुनासो गर्ने होइन भएका चिजलाई सदुपयोग पो गर्ने हो-उनी भन्छन् । उनको हातमा सीप छ । परिश्रमी छन् । सधैँ अरूको साहारामा बाँच्नुभन्दा आफैँ कमाएर आफ्नो जीविका चलाउँछु भनेर उनले अठोट लिएका छन् । कमाई पनि राम्रै हुन्छ । उनलाई पुग्छ। र, कहिलेकाहीँ घरमा आमाबुबालाई पनि पठाउँछन् ।

हरिबहादुर विद्यालय जान पाएनन् । गाउँघरमा स्कुल टाढा हुने-अझ त्यसमा पनि अपांगमैत्री वातावरण भएका विद्यालय त हुँदै नभएका कारण-पढ्न मन भए पनि पढ्ने उनको धोको अधुरै रह्यो । तर, पनि पछि उनी तीन वर्ष अपांग होस्टेलमा बसे जहाँ उनले आधारभूत शिक्षा लिएका छन्।

गाउँमा हुँदा हरिबहादुरलाई हीनताबोध हुन्थ्यो। ‘म किन अरूको साहारामा बाँच्नु परेको ? म मात्रै किन यस्तो छु ?’ आदि प्रश्नहरू गरेर आफैलाई दुखी बनाउँथे । तर, जब उनी काठमाडौँ आए र अपांग सेवा केन्द्रमा बस्न थाले, अपांग हुनु भनेको उनको गल्ती होइन रहेछ भन्ने उनले बुझे । आफूजस्तै अरू धेरै साथीहरू देख्दा आफूमा आत्मविश्वास जागेको र आफ्नो पीडा महसुस गर्न सक्दिने अरू कोही पनि भएको उनले महसुस गरे । अहिले उनीहरू सबै जना खुसी छन् । दिनभर परिश्रम गरेर बेलुका आनन्दले सुस्केरा फेर्न पाउँछन् ।

प्रेम र विवाहको बारेमा पनि सोध्दा, उनको जवाफ थियो-“अब हामीले विवाहको बारेमा सोचेर के नै गर्नु र ? शरीरका अंगहरुले काम गर्दैनन् । प्रेमको बारेमा पनि केही सोचेको छैन । अब जम्मा एउटै सपना छ-अरू कसैको साहाराबिना निर्धक्क जीवन बिताउने ।”

आत्मनिर्भर हुन सिक्नु र सक्नु एउटा साहस हो । तर, हाम्रो देशमा कत्ती युवाहरू त्यहीँ सडकमा बेपर्वाह हल्लिरहेका छन् । उनीहरूसँग योजना भन्दा गुनासो धेरै छन् । शरीरका सबै अङ्ग ठिक भए पनि उनीहरूले आफ्नो शरीरको शक्ति चिन्न सकेका छैनन् । कति अपांगहरु मागी पनि रहेका छन् । तर, हरिबहादुर भन्छन्-“अर्कासँग किन माग्ने ? उसले आफ्नो लागि परिश्रम गर्छ, म आफ्नो लागि परिश्रम गर्छु। अब मलाई साहरा अलिक बढी चाहिएला, त्यो बेग्लै कुरा हो । तर, हरेकले केही त केही गर्न त जानेकै हुनुपर्छ । अनि अब हेर्नुस् त, हामीले सामान बेच्दा अरूले अलि थोरै बढी सम्मान गरेर हाम्रो सामान किनिदिनुहुन्छ नि । पहिला त आफूले गर्नपर्यो । हामीलाई सहानुभूति भन्दा पनि सम्मानको खाँचो छ।”
सबै युवाले हरिबहादुर जस्तो सोच्दिए !

हाम्रो देश अपांगमैत्रीपुर्ण हुन सकेको छैन । अपांगहरुका लागि छुट्टै ऐन कानुन भए पनि लागू हुन सकेका छैनन् । त्यतातिर कसैको ध्यान गए पो ? उनी बस्ने ठाउँमा सडक उकालो  छ, ह्विलचेयर गुडाउँदा-गुडाउँदा हातमा ठेला उठ्ने गरेको उनले ठेला उठेको हात देखाउँदै बताए । सडक पनि सवारीसाधनको भिडभाड हुन्छ । अपांगहरुका लागि छुट्टै ह्विलचेयर लेन भइदिए हरिबहादुरहरूलाई सहज हुने थियो । सार्वजनिक शौचालय जस्तो आधारभूत आवश्यकताको अवस्था पनि त्यस्तै छ । ‘राज्य सबै जनताको हो’ भनिरहँदा यस्ता सामान्य उदाहरण मात्रै पनि यती उदेकलाग्दो छ भने अरू कुरा त गरी साध्य कहाँ छ र  ?’कसैलाई दुधभात, कसैलाई सौताको सन्तान’जस्तो व्यवहार गर्ने काम राज्यबाटै भइरहेछ । यी यस्ता विभेदजन्य क्रियाकलापहरू छिट्टै सच्याइनु पर्छ। अझै अपांग नागरिकहरूलाई आत्म सम्मानकासाथ बस्न पाउने वातावरणको सहजीकरण राज्यबाटै हुनुपर्ने देखिन्छ । अपांगहरूका लागि विशेष स्वास्थ्य, शिक्षा, सीप र रोजगारको व्यवस्था गरिनुपर्छ।

अझै सडक पेटीमा काम गर्नु नागरिकको बाध्यता हो । तर, पनि काठमाडौँ महानगरपालिका ‘खाने दाँत चाहिँ कुहिए पनि ठिक छ, देखाउने दाँत चाहिँ टल्काउनै पर्छ’ भनेझैँ गर्छ । चुरो समस्या समाधान गर्नेतिर नलागी सडक पेटीमा सामान बेचिरहेका व्यवसायीहरूको सामान कुल्चिदिन्छ या गाडीमा हालेर लैजान्छ । यस्ता प्रयासहरू देख्दा अट्टहास जागेर आउँछ।के महानगरपालिकाको काम सामान कुल्चिनु मात्रै हो ? सहर व्यवस्थापनको अचुक हतियार यै हो त ? यो पर्याप्त र जिम्मेवार कदम चाहिँ पक्कै पनि होइन ।

हरिबहादुरको सामान पनि पहिले पहिले नगरपालिका आएर कुल्चिन्थ्यो । पछि उनको संस्थाले मिडियाहरूलाई खबर गरेपछी आजकाल नगरपालिका कम्तीमा उनीजस्ता अपांगहरुको सामान कुल्चिँदैन।

हरिबहादुरलाई गीत गाउन मन पर्दो रहेछ । तर, गीत सुनाउन भने लजाए -उनी । मलाई कुनै दिन हरिबहादुरको हस्तकलाहरूको संग्रहबाट रातो गुलाब किन्न मन छ । त्यो  गुलाफ मात्रै होइन उनको परिश्रम फुलेको हो।

हामीले पनि हरिबहादुरले जस्तै गरी आ-आफ्ना जटिल अस्तित्वलाई चुनौती दिँदै हासिँखुसी बाँच्न सिक्नु पर्छ । एकार्काको सह-अस्तित्वलाई स्विकार्दै, साथ सहयोग गर्यो  भने जीवनको सार्थकता बोध गर्न सकिन्छ । हरिबहादुरहरूलाई सम्मान र साहाराको जरुरत छ । आफू वरिपरिका अपांगलाई सहायता गरौँ । उनीहरूको जीवनबाट प्रेरित होऔँ।

जीवन त्यति सहज छैन, तर जटिल पनि कहाँ छ र ?
बाँचीहेर्नुस त् हरिबहादुरले जस्तै गरी ।

०००

लेखकबाट थप:

चियाको मुस्कान 

जुत्ता-चप्पलसँगको यात्रा

(सल्लेरी खबरले सल्लेरी विशेषको साप्ताहिक अंक ‘सल्लेरी कोलाज’ मा ‘गल्लीको कथा’ शृङ्खला शुरु गरेको छ । यो तेस्रो खुड्किलो हो । यसमा हामी ती जिन्दगीहरूका कथा ल्याउने छौं- जो काठमाडौंका गल्लीहरूमा हाँस्दै-मुस्कुराउँदै जिन्दगी जिउँन प्रेरित गरिरहेछन् । तपाईंको आसपास पनि त्यस्ता जीवनकथा छन् जस्तो लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोला । सल्लेरी खबर यहाँहरूसँग हातेमालो गर्दै समाजमा थप सकारात्मकता र उर्जा सञ्चार गर्न उत्साहित छ । धन्यवाद !)

०००

कविता, कथा साथै संस्मरणात्मक लेखनमा सक्रिय केसी 'सल्लेरी कोलाज'को स्तम्भ 'गल्लीको कथा'मा नियमित कलम चलाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्