Logo

अस्तित्वको लडाईंमा “बैंसको मान्छे” !!!



Spread the love

img_20170529_150639

नेपाली वाङमयमा ‘पारिजात’ कुनै अपरिचित नाम होइन । स्वदेशी साहित्यको टचमा रहेर पनि उनलाई नजरअन्दाज गर्नेहरू सायदै भेटिएलान् । स्कुले पाठ्यपुस्तक देखी विश्वविद्यालयका शोधपत्रहरू सम्म । किशोरवय देखी वयोवृद्ध सम्म । मार्क्सवादी हुँदै फ्रायडवादीहरू सम्म । उनको चर्चा कहाँ मात्र छैन र !

वि.सं. २०२२ सालमा पारिजातको पहिलो उपन्यास ‘शिरिषको फुल’ प्रकाशन सँगै निबन्धकार शङ्कर लामिछानेले लेखे,”वर्तमान त पारिजातको हो नै । तर अब लाग्दैछ, आउँदो भविष्य पनि केवल उसैको रहनेछ ।” बुढा अचेल सम्म पनि बाँचेका हुन्थे भने सायद कति मक्ख पर्दा हुन् । कि उनले भने जस्तै, समय अझै पनि पारिजात कै पक्षमा छ ।

‘शिरिषको फुल’ पारिजातको सर्बप्रिय कृति हो । यसैका लागि वि.सं. २०२२ सालको मदन पुरस्कारद्वारा सम्मानित भए सँगै नेपाली साहित्यमा उनको चर्चा ह्वात्तै चुलिएको हो । विसङ्गतीका विरुद्ध अस्तित्ववादी विचारधारालाई आफ्नो लेखनीमा प्रखर रुपमा जोड दिएकी पारिजात उपन्यासका अतिरिक्त कविता, निबन्ध र कथाका क्षेत्रमा पनि उस्तै खरो देखिन्छिन् । यहीँ खरोपनलाई अझै ताजा बनाउने उद्देश्य राखेर फिनिक्स बुक्सले पारिजातका कृतिहरू केहि नयाँ स्वरुपमा बजारमा ल्याएछ । र यस्तैमा एकदिनको बजार बिचरणमा हात पर्यो तिनै मध्यको एक,’बैंसको मान्छे’ । श्यामश्वेत कभरमा सजिएको पारिजातको तेस्रो उपन्यास ।

पक्कै पनि, चर्चित लेखकको पुस्तक भन्ने बित्तिकै थुप्रै अपेक्षाहरू अवश्य राखिन्छ नै । जसका कारण धेरै कृतिहरू राम्रा हुदाहुदै पनि उति सारो छुन नसकेका अनुभव हामी माझ थुप्रै हुन सक्छन् । मलाई डर थियो कम्तिमा पारिजातमा त्यो नभैदेओस् । नभन्दै भयो ठ्याक्कै उस्तै । पारिजात प्रतिको मेरो अपेक्षा सार्थक रुपमा अवतरण हुन पुग्यो । बहुत गजबको रैछ,’बैंसको मान्छे’ ।

कथा सामान्य छ । एक जवान युवक हुन्छ । जो पढे-लेखेको हुँदा हुँदै पनि काम पाउन सक्दैन । या भनौं उसले सोचे जस्तो काम पाउन सकिरहेको हुँदैन । घर व्यवहार जति सबै उसकी एक्ली आमाले एक्लै चलाइ रहेकी हुन्छे । ऊ भने बिल्कुल हरफनमौला । ‘पियन केटो’ उसको प्रिय साथी हो । जो सँग बसेर ऊ समाज बदल्ने कुरा गर्छ । आफ्नो अस्तित्वको स्थापना गर्ने कुरा गर्छ । समाजको विसङ्गती नामोनिशान पार्ने कुरा गर्छ । कसैको पैताला मुनि दबिएर नोकरी गर्न भन्दा त बरू निकम्मा हिड्ने कुरा गर्छ । यस्तै-यस्तै बिद्रोही कुरा ऊ सधैंजसो गर्छ । अनि साझपख घरमा उहीँ बुढी आमैले पकाएको खोले खान्छ-सुत्छ । भोलि फेरि सधैं जस्तो सबेरै उठ्छ-घुम्छ-डुल्छ-गफ्फिन्छ-खान्छ-सुत्छ । दिनानुदिन यहीँ चक्र दोहोरिरहन्छ ।

यहीं कहिँ भेटिन्छन् उसका सहयात्री पात्रहरू : सडकमा माग्दै बाँचिरहेकी ‘गोल्ड्याङरी’; होटेलमा भाँडा माझिरहेकी ‘स्यामो’; बर्दीको फुलीका भरमा छोरीचेलीका फुली खोज्दै हिडिरहेको ‘हवल्दार’; देवल छेउमा जिन्दगी बिताइ रहेकी ‘लाटी’, आदि-इत्यादि । यहाँ सबै आ-आफ्ना कथा बोकेर हिडिरहेका छन् । कोहि कतै त कोहि अन्यत्रै ।

उपन्यास भरी नै कताकता रुमल्ली रहेका भेटिन्छन्, सबै पात्र र कथाहरू । सधैं दबाईन्छन् उनीहरू, कहिले समाजका उच्च बर्ग भनाउँदाहरू बाट त कहिले स्वयम् समय बाट नै । खैर ! जे जस्तो परिवेशमा रुमल्लीए तापनी, कथाको समग्र अन्त्य भने निकै शानदार रुपमा हुन पुग्छ । लाग्छ, कथाको अन्त्य बाट नै कथाको औपचारिक शुरुआत भएको छ । वास्तव मै कथाको अन्त्य नै उपन्यासको सार्थकता महसुस हुन्छ ।

कथाको सरलतालाई पारिजातको सिग्नेचर शैलीले निकै असामान्य र लोभलाग्दो बनाइ दिएको छ । हरेक स-साना परिस्थितिहरूको आकर्षक विश्लेषण । घटनै पिच्छेको सुन्दर वैचारिक दृष्टिकोण । व्यक्ती, विचार र समयको त्रिकोणात्मक संश्लेषण । समग्रमा निकै महँगो दरिएको छ ‘बैंसको मान्छे’ ।

पारिजातका कथाहरूको विशेषता नै उनका सशक्त पात्रहरू हुन् । निकै दरिला बनाउँछिन् उनी पात्रहरू । विसङ्गती र बेथितिले माझिएका उनका पात्रहरू जीवन जगत बारे खरो भएर प्रस्तुत भैरहेका हुन्छन् । चाहे त्यो ‘शिरिषको फुल’का सकम्बरी, सुयोगवीरहरू हुन् या त ‘बैंसको मान्छे’ भित्रका युवक, पियन केटोहरू नै किन नहुन् । सबै कमालका लाग्छन् ।

‘बैंसको मान्छे’ बाट पियन केटो बोल्छ,”पेट भरिसकेपछी मात्र प्रेम शुरु हुन्छ ।” ऊ मान्छ,”प्रेम त बस् धनीहरूले गर्न सक्छन् । हामी गरिबलाई त बस् काम गर्यो, जसो तसो खायो, मर्यो ।” साच्चै डरलाग्दा छन् उसका वाक्यहरू । अझ डरलाग्दो गरी निस्किन्छन् केही यस्ता वाक्यहरू पनि,”समाज पैसामा उभिएको छ । सुविधा प्राप्तवर्गको पर्सभित्र छ समाज । समाज शासकहरूको खल्तीमा छ ।” अहो ! पारिजातका पात्रहरू !!

समग्रमा, केही शाब्दिक जटिलता एवं लामा तथा गम्भीर अनुच्छेदहरूको बोझिलोपनलाई थाती राख्ने हो भने ‘बैंसको मान्छे’ उपन्यास निकै सुन्दर, सशक्त, एवं पठनीय कृतिको रुपमा हेर्न सकिन्छ । पारिजातको ब्रान्डेड शिल्प शैलीको रसपान गर्नकै लागी पनि ‘बैंसको मान्छे’ पढिनु पर्छ भन्ने पंक्तिकारको मान्यता छ ।

बैंसको मान्छे (उपन्यास)

लेखक : पारिजात

प्रकाशक : फिनिक्स बुक्स

मूल्य : रू २००/-

पृष्ठ : ११५

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्