Logo

कबीर सिंह: एक अहंकारयुक्त फकिर प्रेमीको कथा



अहिले अभिनेता शाहिद कपुर स्टारर ‘कबीर सिंह’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । शाहिदका अलावा कियारा आडवाणी, सोहम मजुमदार, अर्जन वावेजहरुको अभिनय रहेको यस फिल्मका सम्बन्धमा सकारात्मक र नकारात्मक दुवै टिप्पणीहरु सतहमा आईसकेका छन् ।

तेलगु फिल्म ‘अर्जुन रेड्डी’ मा आधारित यस फिल्म, प्रेमीको आवारा र अहंकारपन र यसैलाई आधार मानेर प्रेमिकाको विवाह परिवारले कोही अर्कैसँग गरिदिएको एउटा फितलो कथानकमा घुमेको पाईन्छ । तर कबीर सिंहका रुपमा देखा परेका शाहिद कपुरको बेजोड प्रस्तुतिलाई भने नजरअन्दाज गर्न सकिदैन । तर विशेष रुपमा प्रेमको अप्राकृतिक माला जपेर नारी विरोधी पितृसत्तात्मक चरित्र हाबी भयो भन्ने सवाल भने अहिले दरिलो रुपमा फैलिएको छ । जुन कुरा धेरै हदसम्म सत्य पनि छ ।

कबीर सिंह- एउटा त्यस्तो पात्र हो, जो आफूमा तडक-भडक राख्छ । अरुलाई आकर्षित गर्न, रवाफ देखाउँछ र झगडा गर्न पनि उत्तिकै अग्रसर हुन्छ । सुधारका लागि प्रयासै नगरी बस् आफ्नै अहंमा विश्वास गर्छ, गर्व गर्छ । कुनै पनि उत्तरदायित्व बिना ऊ मजा मात्र खोज्दछ । लहडमा जीवन बिगारिदिन्छ ।

कबीर सिंह- एउटा त्यस्तो पात्र हो, जो आफूमा तडक-भडक राख्छ । अरुलाई आकर्षित गर्न, रवाफ देखाउँछ र झगडा गर्न पनि उत्तिकै अग्रसर हुन्छ । सुधारका लागि प्रयासै नगरी बस् आफ्नै अहंमा विश्वास गर्छ, गर्व गर्छ । कुनै पनि उत्तरदायित्व बिना ऊ मजा मात्र खोज्दछ । लहडमा जीवन बिगारिदिन्छ । एउटा अनुशासन कायम हुनु पर्ने मेडिकल कलेज भित्र मर्यादामा हुनुपर्ने सिनियर मेडिकल विद्यार्थी जस्तो कदापि देखिदैन- कबीर सिंह । सबै विद्यार्थी, शिक्षक, प्रशासक ऊसँग डराउँछन् ।

अत्याचारको शिकार बनाउन खुबै माहिर कबीर सिंह चुरोट र रक्सीको लतमा नराम्ररी फसेको छ । उसले भनेकै वा चिताएकै केटीले ऊसँग प्रेम गर्नुपर्ने ! अरुले उसका चाहहरुमा वातावरण सहज गरिदिनुपर्ने व्यापक आडम्बरयुक्त जाहेरी गर्छ- ऊ । यसरी दुनियाँमा छाँटकाँट, डर, धम्कीका योग्यतामा दावा राख्ने कबीर सिंहमा कसरी दिव्य प्रेमको मिठास खुल्न पुग्छ ? यतिका घृणापूर्ण दृष्टिकोणका बाबजुद पनि कसरी ऊ झुटा नखराहरु देखाएरै आफ्नो प्रेम हासिल गर्न सक्छ त ? यो जान्नका लागि भने एकचोटि फिल्म हेर्नैपर्ने हुन्छ ।

कबीरको फोस्रो इज्जत, रवाफ र आत्मघाती विरताले फिल्म र प्रितीको जीवनमा यति धेरै महत्त्व पाएको छ कि, सायद नारी अधिकारकर्मीहरुलाई यो पटक्कै मन परेको छैन । हुन पनि हो, नारीको कोमल हृदय विरुद्धको बहादुरी, बहादुरी नभएर एक शोषण हो ।

प्रितीको रोल निभाएकी कियारा, यस फिल्ममा कबीर सिंहकी प्रेमिका र त्यही मेडिकल कलेजकी जुनियर विद्यार्थीका रुपमा देखिएकी छिन् । उनी सत्य र सोझो बोल्छिन् । सायद मिथ्याका निम्ती उनमा उती सामर्थ्य पनि छैन । प्रेमका नाममा कबीर सिंहद्वारा उनीमाथि गरिएका थिचोमिचो, जबरजस्ती, यातना उनी सबै सहजै सहन्छिन् । यति मात्र होइन सार्वजनिक स्थलमा उनलाई चुम्बन गर्दा, पुरुष छात्रावासमा लगेर शारीरिक सम्बन्ध राख्दा सम्म पनि उनी मौनतामै अल्झिन्छिन् र कबीर सिंह उनीमाथि लगातार हावी भैरहन्छ ।

त्यसपछिको अवस्थामा उनले प्रेमलाई सहजै स्वीकार गरेपनि कबीर कै अहंकार र ढिपीमा चल्न उनी बाध्य हुन्छिन् । कबीरको फोस्रो इज्जत, रवाफ र आत्मघाती विरताले फिल्म र प्रितीको जीवनमा यति धेरै महत्त्व पाएको छ कि, सायद नारी अधिकारकर्मीहरुलाई यो पटक्कै मन परेको छैन । हुन पनि हो, नारीको कोमल हृदय विरुद्धको बहादुरी, बहादुरी नभएर एक शोषण हो । तर प्रितीको मौनता र स्वीकारोक्तिले नारीजातीको आत्मचेतनामा समेत प्रश्नचिह्न खडा गरेको छ ।

जब प्रितीको घरबाट कबीरसँग विवाह गर्ने प्रस्ताव इन्कार हुन्छ, कबीरले प्रितीलाई लगाएको झापड र दिएको ६ घण्टाको अल्टिमेटमले नारी जाती अझै पनि बन्धनमा छन् कि भन्ने प्रश्न उब्जाएको छ । प्रितीसँग विवाह असम्भव भईसकेपछि आफ्ना शारीरिक सम्बन्धका कुण्ठाहरु मेटाउन अरु नारीसँग भौतारिनु कबीरको नामर्दपन हुनसक्छ । तर नारीहरु पनि सहजै उपलब्ध भईदिनुले, के नारीहरु अझै पनि भोग-विलासका साधनहरु मात्रै हुन् त ? भन्ने गम्भीर सवाल उत्पन्न गर्छ । अझ जब कबीरको साथीले आफ्नो बहिनी कबीरसँग विवाह गर्न इच्छुक रहेको र यसले कबीरको अस्तव्यस्त जिन्दगीमा उत्थान मिल्न सक्ने संवाद निकै नै घत्लाग्दो छ । के अझै पनि समाजमा एउटा बिग्रिएको पुरुषका लागि एकपछि अर्को नारीहरुले बलिदानी गरिराख्नु पर्ने अवस्था हो र ? दर्शकले समिक्षा गर्नैपर्ने देखिन्छ ।

प्रितीसँग विवाह असम्भव भईसकेपछि आफ्ना शारीरिक सम्बन्धका कुण्ठाहरु मेटाउन अरु नारीसँग भौतारिनु कबीरको नामर्दपन हुनसक्छ । तर नारीहरु पनि सहजै उपलब्ध भईदिनुले, के नारीहरु अझै पनि भोग-विलासका साधनहरु मात्रै हुन् त ? भन्ने गम्भीर सवाल उत्पन्न गर्छ ।

प्रेमको परिभाषा के हो ? के काम, क्रोध, अहंद्वारा प्रेम प्राप्त गर्न सकिन्छ ? के कसैको आत्मालाई जित्नुले पनि हिंसासँग सम्बन्ध राख्दछन् ? बुँद-बुँदमा टप्किने प्रेम, हृदयबाट पोखिने प्रेम, अन्तर्ध्वनीबाट निस्कने प्रेम, सहानुभूतिमा फुल्ने प्रेम, दिव्य करुणामा लिप्सिने प्रेमको शाश्वत परिभाषालाई क्रूरतापूर्वक अप्राकृतिक ढंगले फिल्ममा प्रस्तुत गरिएको छ । तर आमदर्शकले यति धेरै रुचाइदिएका छन् कि, मानौं अब समाजमा रोमियो-जुलियट, मुना-मदनकाजस्ता त्याग, तपस्या र योगदानमा आधारित प्रेमको अस्तित्व नै छैन ।

शाहिद कपुरको जबरजस्त प्रस्तुति, प्रस्तुति सुहाउँदो चरित्र र सांगितिक सुमधुरताले चैं साँच्चैमा फिल्मलाई दमदार बनाएका छन् । शाहिद कपुरका फ्यानलगायत प्रेमिल फिल्म हेर्न रुचाउने सबै दर्शकका लागि ‘कबीर सिंह’ गज्जबको खुराक भने बन्न सक्छ ।

फिल्ममा जे छ- देखावटी, डर, धम्की, हिरोपन्ती मात्र छ । र, फिल्ममा अन्त्यतिर सुखद समापनका निम्ति निर्देशकले नगन्य प्रेमको आहुति दिएका छन् । हजुरआमाको देहान्तलाई भावनात्मक मानक बनाएर कबीरलाई एकाएक एडिक्ट आवरा केटोबाट निकै नै परिपक्व आदर्श ओकल्ने जवान बनाइएको छ । अचानक यो घटनाक्रम असंगत पूर्ण पनि देखिन्छ ।

फिल्ममा एउटा मेडिकल सर्जन भएर कबीर सिंहले कदापि आफ्नो प्रोफेशनलाई न्याय गर्न सकेको छैन । परिणामतः अन्तमा उसको लाइसेन्स खारेज समेत गरिन्छ । कबीरको साथीको अटुट मित्रता, दाजुको असीम भातृत्वले दर्शकलाई केही पाठ जरुर सिकाउँछ । दुनियाँको हरेक चिज जित्न प्रेम चाहिन्छ र यो जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि चिरस्थायी र गाढा हुनुपर्छ भन्ने तथ्यलाई फिल्ममा त्यति सम्बोधन नगरिए पनि अन्तिम घडिको पूनर्मिलनले केही चित्त बुझाउने र हलबाट बाहिर निस्किने बाटोहरु चैं प्रशस्त छोडिदिएको छ । शाहिद कपुरको जबरजस्त प्रस्तुति, प्रस्तुति सुहाउँदो चरित्र र सांगितिक सुमधुरताले चैं साँच्चैमा फिल्मलाई दमदार बनाएका छन् । शाहिद कपुरका फ्यानलगायत प्रेमिल फिल्म हेर्न रुचाउने सबै दर्शकका लागि ‘कबीर सिंह’ गज्जबको खुराक भने बन्न सक्छ ।

(पंक्तिकार घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) महाराजगञ्जका इन्टर्न डक्टर समेत हुन् ।)

०००

०००

प्रतिक्रिया दिनुहोस्